Goraksha

National Daily

रंग मञ्चमा अस्मिता

गोरक्ष समाचारदाता
दाङ, ९ भदौ । नामी मोडल÷डान्सर बन्ने बाल्य सपना । यो कौतुहलताले सानैदेखि नाच्न प्रेरित गरिरह्यो अनि विद्यालयमा आयोजना हुने विभिन्न सांस्कृतिक कार्यक्रममा उनको प्रस्तुती रहिरह्यो ।

स्याङ्जाकी अस्मिता रानालाई बाल्यकालको डान्सर बन्ने मोहले छोडेन । फलतः राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्टेज अहिले उनका लागि प्रस्तुती थलो बनेका छन् । ‘सानैदेखि गीत गाउने अनि नाच्ने रहर जागिरह्यो’, उनले भनिन्, ‘त्यही रहरले कहिल्यै छोडेन, अहिलेसम्म त्यही बाटोमा हिडिरहेको छु ।’

विद्यालयमा हुने हरेक सांस्कृतिक कार्यक्रममा पहिलो नम्बरमै अस्मिताको नाम आउँथ्यो । उनका साथी अनि विद्यालयका शिक्षकले उनलाई पहिलो प्राथमिकतामा राखेर प्रस्तुतीका लागि आग्रह गर्थे । साथी अनि शिक्षकका यो उत्प्रेरणाले अस्मितालाई पुलक्कित पाथ्र्यो अनि आफूलाई कालान्तरमा नामी नृत्याङ्गनको रूपमा उभ्याउने लालसा जाग्थ्यो र स्टेज तताउँथिन्, उनि ।

८ कक्षा पढ्दै गर्दा उनलाई स्याङ्जा स्काउटबाट चितवन जाने अवसर मिल्यो । ठूलो स्टेजमा उनलाई प्रस्तुती राख्ने अवसर मिल्यो । ‘स्कुलमा पढ्दा साना स्टेजमा मात्रै प्रस्तुती राखेकीलाई चितवनमा त्यति ठूलो स्टेजमा प्रस्तुती राख्दा असजिलो पनि महसुस भयो’, उनले भनिन् ‘तर मेरा लागि त्यो ठूलो अवसर थियो ।’

प्रतियोगितामा अस्मिताले पुरस्कार समेत हात पारिन् । यो पुरस्कार उनको कलाकारिता यात्राको महत्वपूर्ण खुड्किलो थियो । यो पुरस्कारले उनलाई कलाकारिता यात्रामा थप हौसला प्रदान गरिदियो । उनी एसएलसी परीक्षा दिएपछि चितवन हानिइन्, कलाकारिता यात्रालाई अझ फराकिलो पार्न । उनले चितवनमा पुगेर नृत्य कक्षा लिन थालिन् । आफूलाई नृत्यमा अब्बल बनाउने मार्ग कोरिसकेकी अस्मिताका लागि अब कलाकारिताको औपचारिक यात्रा तय गर्नु थियो ।

उनी अध्ययनका लागि काठमाडौं, पुगिन् । त्यसो त काठमाडौं पुग्दासम्म उनका लागि कलाकारिता यात्रा पहिलो प्राथमिकतामा परेको भने थिएन । उनको प्राथमिकतामा अध्ययन मात्रै थियो तर कलाकारिताप्रतिको बाल्य मोहले उनलाई कलाकारितादेखि टाढा राख्न सकेन । कलाकारिता क्षेत्रमा लागेका विभिन्न व्यक्तिसँग उनको चिनजान भयो, सङ्गत बढ्यो अनि कोरियो २०७२ देखि औपचारिक रूपमा अस्मिताको कलाकारिता यात्रा ।

२०७२ मा खुमन अधिकारी र रेखा बुढाको आवाजमा रहेको तीज गीत उनको पहिलो साङ्गीतिक प्रस्तुती रह्यो । उनले भनिन्, ‘खुमन अधिकारी र रेखा बुढाको आवाजमा रहेको तीज गीतमा नृत्य गर्ने पहिलो अवसर पाएँ ।’

२०७२ देखि प्रारम्भ भएको अस्मिताको कलाकारिता यात्रा अहिले धेरै फराकिलो बनेको छ । हरेक विधाका नृत्यमा आफूलाई ‘फिट’ राख्न सक्ने अस्मिताको यो कौशलताले पनि उनी यो क्षेत्र बढी रुचाइन् । एक सय बढी म्यूजिक भिडियोमा अस्मिताले अभिनय गरिसकेकी छिन् । देशका विभिन्न स्टेज कार्यक्रममा आफूलाई व्यस्त बनाएकी अस्मिताको प्रभाव बाहिरी मुलुकमा पनि बढ्दो क्रममा छ । कलाकारिता यात्राकै क्रममा भारत, कतार युएईमा आफ्नो दमदार नृत्य पस्किसकेकी अस्मिता अब कोरिया यात्राको तयारीमा छिन् ।

सांस्कृतिक प्रस्तुतीका लागि देश तथा विदेशमा व्यस्त राहेकी अस्मिता म्यूजिक र सोसल साइन्समा स्नातकोत्तर अध्ययनरत छिन् । ‘सबैभन्दा बढी रुची हुनुपर्छ, रुची भए लगाव आफै भइहाल्दो रहेछ’, उनी भन्छिन्, ‘मैले पढाइसँगै कलाकारिता यात्रालाई पनि कुदाइरहेकी छु, सकेजति समय मिलाइरहेकी छु ।’