Goraksha

National Daily

मकैबालीमा क्षति, बँदेल धपाउन थाल ठटाएर जागराम

बालाराम खड्का
तुलसीपुर, ३० साउन । तुलसीपुरका विभिन्न वडामा अहिले जङ्गली बँदेल आतङ्क मच्चिएको छ । जङ्गलको छेउछाउमा बारी हुने स्थानीयको मकै सखाप पारेको छ भने केहीकोमा क्षति पु¥याएको छ । जङ्गली बँदेलले भर्खर घोँगा लागेको मकै बालीमा क्षति पु¥याएपछि स्थानीयले रातभर थाल तथा ढोल बजाएर जागराम बसेर बँदेल धपाउने गरेका छन् ।

तुलसीपुरको वडा नं. ३, ४ र ७ का विभिन्न स्थानमा किसानको बारीमा लगाएको मकै बँदेलले क्षति पु¥याएको स्थानीय बताउँछन् । बँदेलले मकै नष्ट गर्न थालेपछि किसान चिन्तित भएका छन् । बँदेल धपाउँदैमा किसानको समय बित्ने गरेको छ । साँझपख बारीतिर पस्ने, रातभरि मकै खाएर बिहान जङ्गल छिर्ने गरेको छ ।

स्थानीय ढुण्डीराज पराजुलीले तुलसीपुर–७ का विभिन्न स्थानमा बँदेलले मकै बारीमा क्षति गरेको बताए । उनका अनुसार तुलसीपुर–७ तमाखे निवासी ईश्वरी वलीको १० कट्ठा जमिनमा लगाएको मकै बाली सबै सखाप पारेको छ । त्यस्तै तुलसीपुर–७ का गणेशपुर, तमाखे, घुसरी, तुलसीपुर–४ का मजुवा, रक्षाचौर, तुलसीपुर–३ को रानागाउँ, गोठीखोलालगायतका गाउँमा बँदेल बारीमा पसेपछि स्थानीयको मकै बाली क्षति पु¥याउनुका साथै मानिसलाई पनि आक्रमण गर्ने भन्ने डर भएको स्थानीय बताउँछन् ।

‘बँदेलले मकै बाली क्षति पु¥याउन थालेपछि रातभर बँदेल धपाउन ढोल बजाउनु पर्छ, साँझमा आएर कति बेला खान्छ पत्तै हुन्न’, स्थानीय माया खड्काले भनिन् । उनले आफूहरूका मकै खाने नभए पनि छिमेकीका अगाडि रोपेका मकैको घोँगा लागेकाले सोही मकै खान बँदेल आउने गरेको बताइन् । मकै खान ठुलाठुला बँदेल आउने भएकाले त्यसले मान्छे सम्मलाई आक्रमण गर्छ भन्ने त्रास रहेको स्थानीय मानबहादुर वलीले बताए । बँदेलले मकै बाली सखाप पार्न लागेको भन्दै पीडितले सम्बन्धित निकायले राहत उपलब्ध राउन पनि स्थानीयको माग छ ।

बालीमा क्षति भए राहत

जङ्गली जनावरले बालीमा क्षति पु¥याए राहत पाइने भएको छ । वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका, २०८० ले यो व्यवस्था गरेको हो । यो सँगै बालीमा क्षति पु¥याउँदा राहत पाइने वन्यजन्तुको सङ्ख्या सात पुगेको छ । बाँदर, नीलगाई, हात्ती, गैँडा, भालु, जङ्गली बँदेल र अर्ना भैँसीले बालीमा क्षति पु¥याए राहत पाइने भएको हो ।वन्यजन्तुबाट हुने विभिन्न किसिमको क्षतिको राहत वितरण निर्देशिका सूचीमा वन्यजन्तुको सङ्ख्या पनि १६ पुगेको छ ।

बाँदर र नीलगाई थपिएसँगै वन्यजन्तुको सूचीमा १६ पुगेको छ । यसअघि १४ वटा जङ्गली वन्यजन्तुले क्षति गरे राहत पाइने व्यवस्था थियो । वन्यजन्तुबाट मानवीय क्षति, पशुधन क्षति, अन्न भण्डारण क्षति र बाली क्षतिमा राहत दिँदै आएकोमा यो निर्देशिकाले माछा र कुखुरामा समेत क्षति दिने व्यवस्था गरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता अजय कार्कीले बताए । ‘वन्यजन्तुको सूचीमा बाँदर र गाई, त्यस्तै क्षतिपूर्ति दिइने विधामा माछा र कुखुरा थपिएको छ’, उनले भने, ‘पहिले अपाङ्गलाई राहत दिइँदैन थियो । अहिले त्यसको पनि व्यवस्था गरेको छ ।’ उनका अनुसार वन्यवन्तुको आक्रमणबाट माछा र कुखुरामा पनि धेरै क्षति पुगेपछि राहतको व्यवस्था गरेको हो ।

यो निर्देशिका साउन १ गतेदेखि लागु भएको छ । निर्देशिका अनुसार वन्यजन्तु मानव बस्तीमा प्रवेश आक्रमण गरेमा, राष्ट्रिय निकुञ्ज वा आरक्ष बाहेक अन्य वन क्षेत्रमा विधिपूर्वक प्रवेश गरी आक्रमण गरेमा र वन्यजन्तुको संरक्षण तथा व्यवस्थापनमा खटिएको सरकारी कर्मचारी वा कामदार वन्यजन्तुको आक्रमणमा परी मृत्यु भएमा, गम्भीर घाइते भएमा वा सामान्य घाइते भएमा राहत पाइने छ । अनुमति प्राप्त प्रकृति पथप्रदर्शकलाई वन्यजन्तुले आक्रमण गरी मृत्यु भएमा, गम्भीर घाइते भएमा वा सामान्य घाइते भएमा राहत पाइने निर्देशिकामा उल्लेख छ । निर्देशिका अनुसार राष्ट्रिय निकुञ्ज वा आरक्षबाहेक अन्य क्षेत्रमा वन्यजन्तुको आक्रमणमा परी घरपालुवा पशुको मृत्यु भएमा र निजी जमिनमा खनिएको पोखरीमा पालन गरेको माछा तथा खोरमा पालिएका कुखुरालाई क्षति पु¥याएमा राहत पाइने छ ।

त्यस्तै, प्रयोगमा रहेको घर गोठमा वा गोठभित्र भण्डारण गरेको अन्नमा वन्यजन्तुले क्षति पु¥याएमा र निजी जमिनमा लगाएको बालीमा वन्यजन्तुले क्षति पु¥याएमा राहत पाइने निर्देशिकामा उल्लेख छ । ानवीय क्षति भएमा सामान्यको हकमा बढीमा २० हजार, गम्भीर घाइतेको हकमा बढीमा दुई लाख तथा सोभन्दा बढी रुपयाँ खर्च भएमा चिकित्सकको सिफारिसमा सबै रकम दिइने निर्देशिकामा भनिएको छ । त्यस्तै अङ्गभङ्ग भई जीवनभर गम्भीर रूपले शारीरिक अशक्त भएकाको हकमा पाँच लाख रुपयाँ र मृत्युको हकमा हकवालालाई एकमुष्ठ १० लाख रुपयाँ दिइने छ ।

निर्देशिका अनुसार घरपालुवा पशु (भैँसी वा राँगो वा गोरू, उन्नत जातको गाई, घरपालुवा चौँरी, घोडा, खच्चड) को मृत्यु भएमा मूल्याङ्कनका आधारमा प्रतिपशु ६० हजार रुपयाँसम्म राहत पाइने छ । निजी खोरमा पालेको कुखुरालाई वन्यजन्तुले क्षति पु¥याएमा मूल्याङ्कनको आधारमा वर्षको एकपटक बढीमा १० हजार रुपयाँसम्म दिइने छ । घरगोठको क्षति भएमा बढीमा २० हजार, अन्नको क्षति भएमा बढीमा १० हजार, बालीमा क्षति भएमा पु¥याएमा मूल्याङ्कनका आधारमा एक मौसममा लगाएको बालीको एकपटक र वर्षमा दुई पटकमा नबढ्ने गरी बढीमा १० हजार रुपयाँसम्म दिइने छ । तर, सरकारी स्तरबाट पशु वा बालीको बिमा भएमा सोबाट प्राप्त रकम कटाएर राहत दिइने निर्देशिकामा उल्लेख छ ।

निर्देशिबमोजिम वन्यजन्तुबाट भएको क्षतिको राहतका लागि आवश्यक कागजात संलग्न गरी राष्ट्रिय निकुञ्ज, आरक्ष, संरक्षण क्षेत्र वा मध्यवर्ती क्षेत्रका हकमा राष्ट्रिय निकुञ्ज, आरक्ष, संरक्षण क्षेत्रको कार्यालय निवेदन दिनु पर्नेछ । त्यस्तै अन्य क्षेत्रमा भए सम्बन्धित डिभिजन कार्यालयमा निवेदन दिनुपर्ने छ । निवेदन भएको एक महिनाभित्र क्षतिपूर्ति पाइने निर्देशिकामा उल्लेख छ ।