प्रियास्मृति गजमेर
लमही, २३ साउन । रोल्पा घर भएकी टीका सुनार काम विशेषले बुटवल जाँदै थिइन् । सोमवार बिहान लमही–घोराही सडकखण्डको कुलमोहरमा पहिरो जाँदा उनी झन्डै ३ घण्टा जाममा परिन् । भालुवाङ–प्युठान सडकखण्डमा पहिरो गएको सुनेर यताको बाटो आएको तर यता जाममा परेर झनै दुःख पाएको सुनारले गुनासो गरिन् ।
गत वर्ष असोजमा कुलमोहर नजिकै ठुलो पहिरो गएर दुई दिनसम्म आवागमन रोकिएको थियो । अहिले फेरि सोही ठाउँमा पहिरो गएर सोमवार बिहानैदेखि सडक अबरुद्ध भयो । सडकको क्षमताभन्दा दोब्बर–तेब्बर भार बोकेर मालवाहक गाडी गुड्ने गर्दा सडक पनि जीर्ण बन्दै गएको छ । नदीजन्य पदार्थ ढुवानी गर्दा टिप्परले पानी चुहाउँदै गुड्ने, अत्यधिक लोड बोकेर दैनिक सयौँ गाडी गुड्ने गर्दा सडकको अवस्था निकै कमजोर हुँदै गएको लमही नगरपालिका–५ का स्थानीय सुन्दर घर्तीले बताए । ‘सडकको क्षमताभन्दा बढी भार बोकेर हिड्ने गाडीलाई कारबाही ग¥यौँ भने उनीहरू सचेत हुन्छन्’, घर्तीले भने ।
सोमवार बिहानदेखि दाङ देउखुरीमा बर्सात भइरहेको थियो । घोराही भरतपुरका सुवर्ण केसी लमही आउँदै गर्दा कुलमोहरमा करिब ३ घण्टा जाममा परे । कामको सिलसिलामा उनी लमही आउँंदै गर्दा जाममा परेको बताए । ‘सडकभरि माटो, ढुङ्गा थुप्रिएको छ, न अगाडी जान सक्ने स्थिति छ न पछाडि फर्किन सक्ने स्थिति छ । माथिबाट फेरि पहिरो आएर खोलातिर हुत्याउला भन्ने डर ।
बडो मुस्किलले ३ घण्टापछि सडक खुलेपछि गन्तव्यतर्फ हिडेका छौँ’, उनले भने । सडक भत्केको लामो समयसम्म पनि मर्मत भएन । सडक मर्मत नुहँदा वर्षामा फेरि समस्या देखापरेको छ । यो वर्षको वर्षामा त्यति पानी परेका छैन । सानो वर्षाले पनि फेरि सडकमा समस्या देखा परेको छ । ठुलो पानी परेमा धेरै क्षतिको सम्भावना पनि त्यतिकै छ ।
अत्यधिक लोडका कारण सडक जीर्ण
दैनिक रूपमा सयौँ सवारी साधन ओहोरदोहोर गर्ने लमही–घोराही सडकखण्ड वर्षा याममा प्रायःजसो अवरुद्ध हुने गरेको छ । ठुला–ठुला पहाड नभए पनि यो सडकखण्डमा पहिरो खस्ने समस्या स्थायी जस्तै भइसकेको छ । यो सडक भएर यात्रु घोराही, तुलसीपुर, रोल्पा, प्युठान, सल्यानसम्म पुग्ने गर्छन् । सडक फराकिलो बनाउने र दिगो रूपमा पहिरो नखस्ने गरी कार्ययोजना अघि बढाउनेतर्फ समबन्धित निकायको ध्यान जान सकेको छैन ।
जब बर्सातको समयमा पहिरो खसेर घण्टौँसम्म सवारी साधान रोकिन्छन् अनि यात्रुले सास्ती पाउँछन् । त्यतिबेला मात्रै सरोकारवाला निकाय जेसिभी लिएर पहिरो पन्छाउन पुग्छन् । लमहीको कुलमोहरदेखि मुसोट, चौपट्टासम्म हरेक ठाउँमा पहिरो खस्ने गर्दछ । खसेको पहिरो हटाएपछि उनीहरूको जिम्मेवारी सकिएजस्तै भएको छ । साँघुरो सडक, त्यसैमाथि सडकको अवस्था जीर्ण पनि छ ।
क्षमताभन्दा धेरै सामग्री बोकेका टिप्पर, टेक्टर सडकमा पानी चुहाउँदै, गिट्टीबालुवा खसाल्दै निर्बाध गुडिरहेका हुन्छन् । सडकमा क्षति गर्ने गरी गुड्ने सवारी साधनलाई नियन्त्रण कसले गर्ने ?भन्ने प्रश्नमा सडक विभाग घोराही दाङका प्रमुख इन्जिनियर गुरूप्रसाद अधिकारीले भने, ‘कारबाहीको काम प्रशासनको हो, हाम्रो होइन ।’ उनका अनुसार यो बारेमा जिल्ला प्रशासन कार्यालय दाङलाई जानकारी सहितको पत्र पठाइसकेको छ ।
यातायात व्यवस्था विभागले ६ चक्के ट्रकले १० टन, १० चक्केले १७ टन र १२ चक्के ट्रकको अधिक्तम भारवहन क्षमता २१ टन कायम गरेको छ तर १२ चक्के ट्रकले २५ टनसम्म निर्बाध रूपमा बोकेर हिड्ने गरेको राप्ती अञ्चल संयुक्त ट्रक व्यवसायी समितिका अध्यक्ष रत्नप्रसाद श्रेष्ठले बताए । ओभरलोडले इमानदार ट्रक व्यवसायी मर्कामा पर्ने, दुर्घटनाको जोखिम बढ्ने, सडक बिग्रनेलगायतका समस्या देखा परेको श्रेष्ठले बताए । ‘यो बारेमा हामीले प्रमुख जिल्ला अधिकारीसँग कुरा राखेका छौँ, उहाँले अनुगमन गरिने जवाफ दिनुभएको छ’, श्रेष्ठले भने ।
फोरलेन सडकको नाममा टालटुल
फोरलेन सडकका नाममा छिटपुट मर्मत भएको देखिन्छ । सडकका बिचबिचमा भैँसी आहाल बस्ने जस्ता खाडल अझै छन् । नागरिक स्तरबाट व्यापक आलोचना भइरहेको छ तर फोरलेनको काम कहिलेबाट हुन्छ त्यो भने एकिन छैन । सडकभरि खाल्डाखुल्डी, तिनै खाल्टा पानी जमेर पोखरी बनेका छन् । कतै सडक भासिएको छ । कतिपय सडकमा सडकबीत्त छैनन् । ती सडकमा रातविरात हिड्न् परे खाल्डाखुल्डी देखिँदैन र दुर्घटना भएर ज्यान जाने त्यत्तिकै जोखिम पनि छ ।
सडकमा भएका खाल्डखुल्डीमा माटो हालेर कामचलाउ बनाएका कारण कैयौँ पटक ती स्थानमा दुर्घटना समेत हुने गरेका छन् । ठुला सवारी साधनका कारण सडक कमजोर हुँदा बर्सातको समयमा जोखिम बढेको हो । यता सडक विभाग दाङका प्रमुख इन्जिनिएर गुरूप्रसाद अधिकारीले वर्षा याममा सडक अवरुद्ध हुन्छ, तत्काल सडक सुचारु गर्न लमहीमा एउटा र घोराहीमा एउटा जेसिभी तयारी अवस्थामा राखिएको बताए । गत वर्ष पहिरो गएको स्थानमा ‘वाल’ लगाउने काम भएको बताए । सडक बिग्रिएका ठाउँमा मर्मत सम्भार गरेका छौँ, विभागबाट पठाएको बजेटलाई कार्यान्वयन गर्ने हो, यो बाहेक अरु गर्न सकिँदैन’, उनले भने ।