वनमा चार वर्षदेखि अलपत्र काठ

प्रियास्मृति गजमेर
दाङ, १८ साउन । काठ काटेर घाटगद्दी गरेको लामो समय हुँदासम्म देउखुरीका १३ सामुदायिक वनका काठ बिक्री हुन सकेका छैनन् । आर्थिक वर्ष २०७२ देखि २०७६ सम्म कटान भएका २० हजार ८ सय ८० क्युफिट विभिन्न जातका गोलिया काठ र ४२ चट्टा दाउरा सामुदायिक वनका घाटगद्दीमै गल्दै गएको अवस्थामा छन् ।

लमही नगरपालिका–९ मारहेको अमिलिया सामुदायिक वनमा ४२.८ क्युफिट काठ र १.५ चट्टा दाउरा, आमखोली सामुदायिक वनमा १६३.४० क्युफिट काठ र २ चट्टा दाउरा, भीमबाँध महिला सामुदायिक वनमा १६८०.४८ क्युफिट काठ गोलिया र ३ चट्टा दाउरा, तेलिया सामुदायिक वनमा १०८३.७६ क्युफिट गोलिया काठ र ७.५ चट्टा दाउरा सडेको अवस्थामा छन् ।

सोही वडाको गायत्री सामुदायिक वनमा १२४०.७६ क्युफिट गोलिया काठ र २.७५ चट्टा दाउरा, कुन्टा महिला सामुदायिक वनमा ६७६.७५ क्युफिट गोलिया काठ र ५ चट्टा दाउरा, शिवशक्ति सामुदायिक वन तल्लो अमिलियामा दुई आर्थिक वर्षको गरी ९०६८.६८ क्युफिट गोलिया काठ र ३ चट्टा दाउरा, १९५६.२८ क्युफिट गोलिया काठ र २ चट्ट दाउरा, लमही नगरपालिका–८ स्थित रहेको शिवशक्ति बाख्रा सामुदायिक वन समूहमा ८७१.९६ क्युफिट गोलिया काठ र ०.५ चट्टा दाउरा अझैसम्म बिक्री हुन सकेका छैनन् ।

राजपुर गाउँपालिकाको गंगदी सब डिभिजन वन कार्यालय अन्तर्गत रहेको बेलघारी सामुदायिक वनमा १८०७.८४ क्युफिट गोलिया काठ र १.५ चट्टा दाउरा, चिसापानी सामुदायिक वनमा ३१०४.४६ क्युफिट गोलिया काठ र ३.५ चट्टा दाउरा, बेला सब डिभिजन कार्यालय अन्तर्गत रहेको शंकर सामुदायिक वनमा १८९९.९९ क्युफिट गोलिया काठ र २.२५ चट्टा दाउरा, ज्यामिरे सामुदायिक वनमा ११०७.३४ क्युफिट गोलिया काठ र १ चट्टा दाउरा सडेको अवस्थामा रहेको डिभिजन वन कार्यालयले जनाएको छ ।

गढवा गाउँपालिकाको सब डिभिजन कार्यालय अन्तर्गत रहेका खबरी सामुदायिक वनमा ४५.२२ क्युफिट गोलिया काठ र १ चट्टा दाउरा, कालिका सामुदायिक वनमा ११५.७९ क्युफिट गोलिया काठ र २ चट्टा दाउरा धमिराले खाएको अवस्थामा छन् । सामुदायिक वन समूहहरूले आन्तरिक प्रयोजनका लागि भन्दै काठ काट्ने गरेको तर उपभोक्तामा खपत हुन नसक्दा ती काठ घाटगद्दीमै अलपत्र अवस्थामा रहेको डिभिजन वन कार्यालय दाङ (देउखुरी) लमहीका निमित्त कार्यालय प्रमुख छोटेलाल चौधरीले बताए । ‘एउटा आर्थिक वर्षमा काटेका काठदाउरा बिक्री वितरण गरेर नसक्दै फेरि अर्को वर्ष कटान गर्दा झनै समस्या थपिएको छ’, निमित्त प्रमुख चौधरीले भने ।

विभिन्न सामुदायिक वन समूहभित्र काटेका काठ छिटो व्यवस्थापन गर्न पुरानो काठ दाउरा व्यवस्थापन समितिको बैठक बसेको छ । समितिका संयोजक तथा वन तथा वातावरण मन्त्रालयका सचिव उद्धवबहादुर घिमिरे समेतको उपस्थितिमा बैठक बसेको हो । बैठकले काठ दाउरा यत्तिक्कै राख्दा राज्यलाई राजस्व सङ्कलनमा घाटा हुने भन्दै वन ऐन अनुसार प्रक्रिया पूरा गरेर लिलाम बिक्री गर्न सामुदायिक वन समूहहरूलाई निर्देशन दिएकोे डिभिजन वन कार्यालय दाङ (देउखुरी) लमहीका रेञ्जर दिनेश डाँगीले बताए ।

वर्षौँदेखि काठ अलपत्र रहेको भन्ने सामुदायिक वन र ठेकेदारका गुनासालाई मध्यनजर गर्दै वन तथा वातावरण मन्त्रालयका सचिव घिमिरे, प्रदेश वन निर्देशक दधिलाल कँडेल, दाङका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुन, कोष तथा लेखा नियन्त्रक कार्यालय घोराही दाङका प्रमुख शिवप्रसाद चौधरी, डिभिजन वन कार्यालय दाङ (देउखुरी) का प्रमुख राजु क्षत्री सहितको टोलीले काठ राखेको घाटगद्दीको स्थलगत निरीक्षण गरेको छ ।

काठ–दाउरा र जडिबुटीबाट ५८ लाख बढी राजस्व सङ्कलन

डिभिजन वन कार्यालय दाङ (देउखुरी) लमहीले आर्थिक वर्ष २०७९÷८० मा ५८ हजार ९ सय किलो जडिबुटी निर्यात गरेको छ । साथै जडिबुटी निर्यात गरेर २ लाख ३७ हजार मात्र राजस्व सङ्कलन गरेको कार्यालयले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा ४२ हजार ५ सय रुपैयाँ मात्र राजस्व सङ्कलन भएको थियो । कार्यालयले निर्यात गरेको जडिबुटीको बजार मूल्य न्यूनतम हुने भएका कारण राजस्व थोरै सङ्कलन हुने गरेको कार्यालयका निमित्त प्रमुख छोटेलाल चौधरीले बताए ।

चालु आर्थिक वर्षमा गुर्जो लहरो ७ हजार ४ सय किलो, तेजपात ४१ हजार किलो, नेपाली दालचिनी सिन्कौली १ हजार ५ सय किलो, तेन्दुपात ४ हजार किलो र सालको बिउ ५ हजार किलो बिक्री भएको प्रशासन शाखाका शाखा अधिकृत दुर्गाप्रसाद खत्रीले जानकारी दिए । खत्रीकाअनुसार गुर्जो लहरो ५ रुपैयाँ प्रतिकिलो, तेजपात र नेपाली दालचिनी सिन्कौली ३ रुपैयाँ प्रतिकिलो र सालको बिउ १० रुपैयाँ प्रतिकिलोमा बिक्री हुने गरेको छ । आर्थिक वर्ष २०७९÷०८० मा काठ बिक्रीबाट ५४ लाख ३७ हजार ६ सय ४१ रुपैयाँ र दाउरा बिक्रीबाट १ लाख २८ हजार ७ सय ९८ रुपैयाँ राजस्व सङ्कलन भएको छ ।