बेलायतमा राप्ती समाज युकेको भव्य वार्षिक भेला

लन्डन,१८ साउन । राप्ती समाज युकेले भव्यरुपमा वार्षिक समर भेटघाट कार्यक्रम आयोजना गरेको छ। हकिन्स कम्युनिटी हलमा गत शनिबार आयोजित कार्यक्रममा समाजका सदस्य तथा परिवारसहित २०० जनाभन्दा बढीको सहभागिता थियो।

उक्त वार्षिक भेलाको समुद्घाटन समाजका अध्धक्ष काउन्सिलर दिनेश खड्का अनि समाजकी जेष्ठ सदस्य श्रीमरी तुल कुमारी मल्लले पानसमा बत्ती बाली संयुक्त रुपमा गरेका थिए। उक्त भेलाको प्रमुख आतिथ्य भेरी समाज युकेका अध्यक्ष दिलबहादुर घर्ति तथा उपाध्यक्ष झकबहादुर थापाले गरेका थिए ।

उक्त अबसरमा बेलायतस्थित विश्वविद्यालयहरुबाट शैक्षिक योग्यता प्राप्त गर्ने समाजका बाबुनानीहरु, विवाह बन्धनमा बांधिने दम्पति अनि नयां सन्तानको जन्मदिने मातापिताहरुलाई सम्मान स्वरुप खादा अनि प्रमाणपत्र प्रमुख अतिथि दिलबहादुर घर्तीले प्रदान गरेका थिए।

नेपालबाट आएका चर्चित लोक दोहोरी गायिका पूर्णिमा सेन ठकुरी तथा चर्चित गायक इश्वर सिंहले सहभागीहरुलाई भरपुर मनोरंजन दिलाउँदै अनवरत रुपमा नचाएका थिए । साथै उक्त भेलामा समाजका आजीवन सदस्य कमल बहादुर पुन मगरको संयोजनमा राफल ड्र पनि संचालन गरिएको थियो। पुरस्कार प्रदान गर्ने सम्पूर्ण सहयोगी महानुभावहरुलाई समाजले हार्दिक धन्यवाद दिएको छ ।

साबिकको राप्ती अञ्चलबाट बेलायत आइ बसोबास गर्नेहरुको छाता संगठनको रुपमा राप्ती समाज यूके सन् २००७ मा बेलायतमा स्थापना भएको हो । उक्त संस्थाको मुख्य उद्देश्य समाजका सदस्यहरु तथा परिवारलाई ऐक्यबद्ध पार्दै दुख अनि सुखमा एकले अर्कोलाई सहयोग गर्ने र साथ दिने हो। स्मरण रहोस् उक्त संस्था हालै बेलायतमा कम्युनिटि इण्टरेस्ट कम्पनीको रुपमा पनि दर्ता भएको छ।

उक्त अवसरमा हालै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने समाजका सदस्य भूतपूर्व गोर्खा हरि बुढामगरलाई सम्मान गरिएको थियो। उनी नेपाली मोहडाबाट सगरमाथाको शिखर पुग्ने पहिलो डबल एम्पुटी आरोही हुन्।

समाजका अध्यक्ष खड्काले गिनेस बुक अफ वर्ल्ड रेकर्ड्समा नाम राख्ने गरी हरिले प्राप्त गरेको यो सफलता सम्पूर्ण नेपालीहरुको लागि खुसीको विषय भएको तर समाजका लागि गौरवको कारण बनेको बताए। उनले हरिले प्राप्त गरेको सफलताले नयाँ पुस्तालाई हौसला दिने पनि जनाए।
उक्त अवसरमा हरि बुढा मगरले आफुलाई सहयोग र हौसला प्रदान गरेकोमा समाजलाई धन्यवाद दिएका थिए ।