नारायणप्रसाद श्रेष्ठ
मनमा उत्पन्न हुने विचारलाई सहि र स्पष्ट गतिदिन र बिचमा आउने तनावलाई हटाउनु संकल्परत रहनु नै आफूले आफैलाई विश्वास योग्य बनाउनु हो । मोह र प्राप्तिको अभिलाषा राखी गरिने स्वार्थपरक विचारलाई विवेकशील भएर हराउनु, समयको गतिसँगै सामाजिक रितिरिवाज संस्कार परम्पराप्रति इमान्दार पूर्वक आफूलाई समर्पण गर्नु तथा मनको गतिलाई सकारात्मक चिन्तनतर्फ लैजान सक्नु यो मानवीय आचरण हो ।
यहि आचरण र मर्यादालाई कायम गरी सोच, कर्म र व्यवहारलाई अरुको ध्यान आफूतिर आकर्षित गर्ने क्षमता वृद्धि गर्न सक्नु नै विश्वास योग्य बन्नु हो । अहिले जे जस्तो परिवेश र स्थिति सामाजिक रुपरेखामा गतिशील भएका छन् । तिनले मानिस स्वयमलाई गतिहीन र छाडा प्रकृतितिर आकर्षित गर्दै लगेको देखिन्छ । वास्तवमा यसले क्षणिक आनन्दको अनुभूति गराउन सकेको होला तर यसको नतिजा मानिसलाई अविश्वासको भूमरीमा रोमलिन उत्साहित गरेको हो । यसले शान्त र सदभाव चाहाने मनलाई विचलित गर्दै अस्वाभाविक चिन्तनतर्फ धकेल्दै गरेको हो ।
यसबाट जिम्मेवारीप्रति असमझदारी बढ्न गई कर्म र व्यवहारमा असन्तुलन बढ्न जान्छ । मानिस अविश्वासी भई उसको इमान्दारीता सदाको लागि अन्त हुने अवस्था आउछ । तसर्थ मनमा अनवरत रुपले उत्पन्न हुने विचारलाई तनावमुक्त भई म के गर्दैछु, कसको लागि गर्दैछु, किन गर्दैछु यसकर्मले म र मेरो परिवेशमा के नतिजा ल्याउन सक्छ आदि कुरा सोच विचार गरी जीवनको गतिलाई सदावहार एउटै गति एउटै धारमा लगि सबै भवन्तु सुखीनः हुने गरी आफ्नो गति निर्धारण गर्ने संकल्प गर्नुपर्दछ ।
मनबाट उत्पन्न हुने जति पनि उर्जा छन् त्यसलाई आफू र अरुको भविष्यसँग गाँसेर अगाडि बढ्नु पर्दछ । अर्को कुरा अन्धविश्वासले ल्याउने परिणामको आंकलन गरी समय मै सजग रहने कोशिस गर्नु पर्दछ । क्रोधरुपी अग्नीमा प्रवेश गर्नु पूर्व आफूभित्र कुनै गलत चिन्तन हावी हुन लागेको छकि भनि पहिले आफूभित्रको गलत चिन्तन हटाइ सावधानी पूर्वक मानसिक र शारीरिक रुपले आफूलाई धैर्य र साहसिक बनाइ सेवाभावप्रति समर्पित रहनुपर्दछ । विश्वास योग्य आचरण र व्यवहारलाई आत्मसात गर्ने दृटता राख्नु पर्दछ ।
परीक्षामा पास हुने मात्र उद्देश्य राखेर अघि बढियो भने त्यो बिग्रन सक्छ हैन म परीक्षामा प्रथम हुन्छु भनी संकल्पका साथ अधिबढ्ने हो भने त्यो मेहनत अवश्य सफलतामा परिणत हुन्छ । यो सत्य कदापि भुल्नु हुँदैन । पुर्खाको जीवन र दर्शनले सिकाएको उचित गन्तव्य समातेर जे हुन्छ म बाटै हुन्छ, मैले नै मेरो जिम्मेवारी निभाउनु पर्दछ । अरुले गरेर आफूलाई कति हुन सक्ला भन्ने विचार राखी अरुप्रति सेवाभावमा समर्पण हुने भाव जागृत गर्नुपर्दछ । बाह्य आवरण र दृष्टिमा होइन अन्तर हृदयभित्रको पवित्रताले उजागर गर्न चाहेको मार्गमा तल्लीन हुनुपर्दछ ।
अप्राकृतिक र अस्वाभाविक तामसी प्रवृतिलाई त्यागी अन्तर मनभित्रको स्वच्छता र विश्वासलाई हद गर्न सक्नुपर्दछ । समय र परिस्थिति अनुकुल आफूलाई विश्वास योग्य बनाइ राख्नुपर्दछ । क्षणिक वासनाबाट प्रभावित हुने आशक्ति प्रवृतिलाई ज्ञान अग्नीबाट भस्म गराइ परिस्थिति जस्तोसुकै कठिन किन नहोस मनबाट उत्पन्न हुने विचारको कारकतत्व म स्वयम् हुनसक्छु भन्ने मनमा गुणी आफूले गर्न खोजेको कर्म र सेवाप्रति सधै सकारात्मक चिन्तनभाव जागृत गराउनुपर्दछ । तब विश्वासको वातावरण मजबुद बन्न सक्छ ।
आफूभित्रको चेतन शक्ति जसले हामीलाई हाम्रो पूर्वार्धदेखि उत्तरार्धसम्म लैजाने निर्देश गरेको छ त्यस बिचमा केही व्यवधान नआउला भन्न सकिन्न तर पनि त्यस कठिनाइलाई सहजरुपले समाधान गर्दै आफूलाई निश्चित गन्तव्यमा पु¥याउने इच्छा शक्ति मजबुद बनाउनु पर्दछ । जसले हामीलाई दिन रात सताउँछ, यदि त्यसलाई प्राथमिकता दिने हो भने यसले हामीलाई झन कु प्रवृति उन्मुख बनाइ विचारमा धामिरा लाग्ने वातावरण बनाउन सक्छ, पिडा माथि झन पिडा वोध गराउन सक्छ यो सत्यलाई कदापी भुल्नु हुँदैन ।
हैन एकपटक विचार गर्छु भनी यो गर्दा हुन्छ की त्यो गर्दा हुन्छकी भनी यदि दोधारे मन गरियो भने यसले आफूलाई प्राप्त साख पनि गुम्न सक्छ । तसर्थ यसको गम्भीर रुपले विचारमा मन्थन गरी वास्तविक जीवनले लिन खोजेको विश्वासको धरातल मजबुद बनाउनु पर्दछ । मन वुद्धि र विवेकलाई सुदृढिकरण गरी सकारात्मक उर्जाशक्ति बढाउनु पर्दछ । माया र मोहले यो मनलाई बसीकरण गर्न सक्छ भनी सधै सावधान रहनुपर्दछ । जीवनको गतिशीलता सधै सूर्यको उज्यालो गतिमा चलायमान गराइरहनुपर्दछ ।
अन्धविश्वासबाट होइन यथार्थ सत्यलाई स्वीकार्ने मानसिकता बढाइ प्रस्तुत हुनुपर्दछ । जसरी फलाम आफै नष्ट हुँदैन, केवल उसलाई उसैको खीयाले समाप्त गर्छ । त्यसरी नै मानव जातिको विश्वास र सोच पनि अरुको होइन आफैभित्र उत्पन्न हुने विचार र कर्मले नष्ट हुने हुन्छ । त्यसैले यो हुनै नसक्ने कुरा मैले किन सोचे, के अध्यारोका हानेको तीरले निशाना लगाउन सक्ला र ? भनी एक पटक होइन पटक–पटक चिन्तन गरी सधै सत्य र विश्वास योग्य कुराहरुतर्फ ध्यान केन्द्रित गर्नुपर्दछ । मनलाई फोहर, क्रोध, इष्र्या र अंहकार राख्ने डिब्बा नबनाइ खुसी, प्रेम र स्नेह राख्ने शक्तिशाली प्रकाश भएको पवित्र डिब्बा बनाउनु पर्दछ ।
जसरी स्थीर पानीमा हामीले हाम्रो चेहरा सफा देख्छौ, सफा ऐनामा हामीले हाम्रो अनुहार सफा देख्छौ, त्यसरी नै चलमलाएको पानी र हल्लीएको ऐनामा हाम्रो चेहराको रुप अर्के हुन्छ । त्यसरी नै हामीले प्रदान गर्ने सेवा र संस्कार र संकल्पमा पनि स्थीर आसन भएको सबैको कल्याण चाहाने पवित्र विचार धारणालाई कर्मशील बनाउनु पर्दछ । जहाँ स्वच्छ र पवित्र विचारको प्रार्दुभाव हुन्छ त्यहाँ दुर्गन्धले वास पाउन सक्दैन अनि प्रत्यक मानिसले गरेको कर्मले विश्वासको अधार तयार गर्दछ ।
अविश्वासको भूमरीमा तब परिन्छ जब मानसिक र शारीरिक रुपले मानिस कमजोर हुन्छ । विचार र कर्ममा स्वार्थ देखिन्छ त्यसबेला मानिस बाहय आवरणभित्रको वनावटीमा फसी आफै गन्तव्यहीन हुन पुग्दछ । यसले आफूमात्र होइन अरुलाई पनि अविश्वासको नजरले हेर्ने परिस्थीति जन्मन्छ । जसको कारण मानिसले आफूलाई जान्न बुझ्न नसक्ने गरी अलमलिन्छ । जहाँ विश्वास र आत्मबल बलियो हुन्छ, त्यहाँ नत अन्धविश्वासले पर्दा हाल्न सक्छ नत अविश्वासको वातावरण नै बन्न सक्छ ।
तसर्थ आफूले आफैलाई आफ्नो कर्म र व्यवहारबाट परिस्कृत गर्दै सबैको विश्वासी बन्ने आधार तयार गर्नुपर्दछ । क्षणिक खुसी र आशक्तिमा हैन दिगो र स्थायी प्रवृतिको व्यवहार र आचरणको माध्यम आफूलाई प्रदर्शन गर्न सक्ने वातावरण बनाउनुपर्दछ । क्षणिक खुसी र मोहले प्रपञ्चतिर आकर्षित गर्न सक्ने हुँदा यसतर्फ सावधान हुनुपर्दछ । जसले मान सम्मान, अभिमान र अंहकारबाट आफूलाई प्रतिष्ठीत बनाउन खोज्छ उ क्षणिक त खुसी र उमंगसँग बाच्न सक्ला तर यो दिगो रहदैन । जुनदिन उसको सत्ता र मोह खतम हुन्छ उस दिनदेखि सदाको लागि उ अरुको घृणाको पात्र बन्न पुग्दछ ।
त्यसैले म सधै खुसी छु, म सँग जे छ विश्वास र भरोसा र उपलब्धी छ, मैले जेजस्तो गर्छु त्यो साच्चीकै अरुको लागि आदर्श छ, म उत्साहि भइ मैले गरेको कर्मले म प्रतिको सबैको भावना सकारात्मक छ भनी आफूले आफैप्रतिको विश्वासलाई बलियो बनाई अन्तर मनको सत्यलाई उजागर गर्दै अघि बढ्नुपर्दछ । अविश्वासले आफूभित्रको शक्तिलाई क्षीण र ह्राश गराउछ भनी आत्मशक्ति मजबुद बनाइ सबैको विश्वास पात्र बन्न सक्नुपर्दछ । त्यहाँ नै जीवनले उज्वल भविष्यको आधार तयार गर्न सक्छ । चेतना भया ।