सुर्यप्रकाश बुढामगर
रोल्पा,१३ साउन । रोल्पामा ४ जिल्लाका जनप्रतिनिधिहरु भेटघाट भएको छ। रोल्पा, बाग्लुङ, गुल्मी र प्युठानका जनप्रतिनिधिहरुकाविचमा शनिबार रोल्पामा भेटघाट भएको हो।
रोल्पा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीसँग ३ जिल्लाका जनप्रतिनिधि तथा कर्मचारीहरुले भेटघाट गरेका हुन। ताराखोला गाउँपालिका बाग्लुङ, धुरकोट गाउँपालिका गुल्मी, झिमरुक गाउँपालिका प्युठान, माण्डवी गाउँपालिका प्युठान र सुनिल स्मृति गाउँपालिका रोल्पाका जनप्रतिनिधि र कर्मचारीहरुले भेटघाटसँगै विकास निर्माणका लागि भएका गतिविधिहरुका बारेमा छलफल गरेका हुन ।
भेटघाट तथा भ्रमणका क्रममा आएका ३ जिल्लाका स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीले रोल्पा नगरपालिकाको पर्यटकीय स्थल रकगार्डेन र जनयुद्ध स्मृति भ्युटावरको अवलोकन गरेको रोल्पा नगरपालिकाका प्रेस संयोजक देवी गुरुङले जानकारी दिएकी छिन । पर्यटकीय स्थलको अवलोकन पश्चात् भएको नगरपालिकाले परिचयात्मक तथा अनुभव आदानप्रदान गरेको सचिवालयले बताएको छ।
अनुभव आदानप्रदान कार्यक्रममा विभिन्न पालिकाबाट आएका जनप्रतिनिधिहरुले रोल्पा नगरपालिकाको समग्र विकासको अवस्था सन्तोषजनक रहेको बताएका थिए। द्वन्द्वको उद्गमथलो रोल्पाको पहिचान दिने गरी रोल्पा नगरपालिकाको विकासको अवस्था विस्तारै प्रगतिको पथमा अगाडि बढेको आफूले पाएको धुरकोट गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेलले बताए।परिचयात्मक तथा अनुभव आदानप्रदान कार्यक्रममा सहभागी जनप्रतिनिधिहरुले आफूहरू पालिकामा भइरहेको विकास निर्माण र आफूहरूले गर्दै आएका कार्यहरु लगायत बताएका थिए भने कसरी पालिकामा भएका बेरुजुहरुलाई कम गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको बताइएको छ।
परिचयात्मक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले रोल्पाको समग्र अवस्थाको बारेमा जानकारी गराएका थिए।भेटघाट कार्यक्रममा रोल्पा नगरपालिकाका नगर प्रमुख सुरेन्द्र थापा घर्ती,सुनिल स्मृति गाउँपालिकाका अध्यक्ष मनिराम बुढाथोकी,रोल्पा नगरपालिकाका उपमेयर गिता आर्चाय,सुनिल स्मृति गाउँपालिकाका उपाध्यक्ष मिना थापा,ताराखोला गाउँपालिका अध्यक्ष धनबहादुर बि।क।, उपाध्यक्ष भिमबहादुर रोका,धुरकोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेल,उपाध्यक्ष सिता गिरी,झिम्रुक गाउँपालिका उपाध्यक्ष प्रमोद पोखरेल,माण्डवी गाउँपालिका उपाध्यक्ष पूर्णप्रसाद कालाथोकी,प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे,रोल्पा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टंक गिरी लगायतका वडा अध्यक्षहरु,कर्मचारीहरु लगायतको सहभागिता रहेको थियोे।
कार्यक्रमको सञ्चालन रोल्पा नगरपालिका प्रशासकीय अधिकृत सुशील थापाले गरेका थिए।भ्रमण टोलीले प्युठानका विभिन्न स्थान र रोल्पाको सुनिल स्मृति गाउँपालिकाको पनि भ्रमण गरेको बताइएको छ।