बजेट कार्यान्वयनमा लाग्न स्वास्थ्य मन्त्री खनालको निर्देशन

देउखुरी, ८ साउन । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनका लागी आबश्यक निर्देशिका÷कार्यविधि साउन महिनाभित्रै बनाइ सक्न महाशाखा प्रमुखहरुलाई निर्देशन दिनुभएको छ ।

स्वास्थ्य मन्त्रालयको गतआर्थिक वर्ष २०७९÷८० को प्रगती समीक्षा तथा चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको कार्ययोजना माथिको छलफललाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री खनालले कार्यविधि नभएको वा अन्य कुनै बाहनामा बजेट कार्यान्वयनमा ढिलाई नगर्न निर्देशन दिनुभएको हो । चालु आर्थिक वर्ष कार्यान्वयन हुने गरि स्वास्थ्यमा नयाँ कार्यक्रम आएको भन्दै मन्त्री खनालले ती कार्यक्रम कार्यान्वयनका लागी आबश्यक निर्देशिका यो महिनाभित्र बनाएर भदौदेखि कार्यान्वयनमा जान निर्देशन दिनुभयो ।

स्वास्थ्यमन्त्री खनालले मन्त्रालयमा तहतका अस्पतालमा प्रदान गरिएका उपकरणहरु सम्बन्धीत अस्पतालमा प्रयोगमा नआएको भए ती उपकरण आबश्यक भएका अन्य अस्पतालमा लगेर भएपनि प्रयोगमा ल्याउन आग्रह गर्नुभयो । छलफलका क्रममा कतिपय सामग्री मन्त्रालयबाट खरिद गरि अस्पतालहरुमा दिइएपनि प्रयोगमा नआएको विषय उठेपछि मन्त्री खनालले भएका सामग्री आबश्यक परेका अस्पतलामा प्रयोगमा ल्याउन र नचल्ने अबस्थामा भए मर्मत गरेरै भएपनि प्रयोगमा ल्याउनभन्नुभयो ।

विनियोजित बजेट खर्च नहुने प्रवृत्तिको अन्त्य गर्न खर्च नहुनुको कारण पत्ता लगाई भएका समस्या समाधान गरेर समयमै बजेट खर्च भई उपलब्धी हाँसिल गर्नतर्फ लाग्न कर्मचारिहरुलाई आग्रह गर्नुभयो । बजेटको पूर्ण सदुपयोग हुनेगरि काम गर्नुपर्नेमा उहाँको जोड थियो । अर्को प्रसँगमा स्वास्थ्यमन्त्री खनालले डेँगीलगायत मौषमजन्य रोग फैलन सक्ने भन्दै त्यस्कालागी तयारी अबस्थामा रहन निदेशनालय तथा आपूर्ति व्यवस्थापन महाशाखालाई आग्रह गर्नुभयो ।

कार्यक्रममा स्वास्थ्य सचिव डा.जनार्दन पन्थीले बढि प्रतिफल आउने गरि एकआपसमा समन्वय गरेर कामगर्न महाशाखाहरुलाई आग्रह गर्नुभयो । उहाँले बजेट कार्यान्वयन हुने स्थानका निकायलाई जिम्मेवार गराउने गरि अनुगमणको पाटोलाई पनि ख्याल गर्न आग्रह गर्नुभयो । स्वास्थ्य निर्देशक डा.विनोद गिरीले बजेट कार्यान्वयनको तयारीका सबै काम छिटै सकेर ठोस उपलब्धीआउने गरि योजनाकार्यान्वयनलाई अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो ।

समिक्षा कार्यक्रममा स्वास्थ्यमन्त्रालयअन्र्तगतका विभिन्न शाखा महाशाखाले गतआर्थिक वर्षमा गरेका कार्यहरुको प्रगति विवरण पेश गरेका थिए । गतआर्थिक वर्षमा मन्त्रालय स्थानान्तरण, कर्मचारि अभाव, भवन निर्माणको जिम्मा लिएका निकायले समयमै काम नगर्नु लगायतका कारण मन्त्रालयले लक्ष्यअनुसारको कामगर्न नसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गतआर्थिक वर्षमा स्वास्थ्य मन्त्रालयको समग्र प्रगती ६२ दशमलव ६३ प्रतिशत रहेको मन्त्रालयले प्रस्तुत गरेको प्रगति विवरणमा उल्लेख छ ।