नारायणप्रसाद श्रेष्ठ
सधैँ अरुलाई खुसी बनाउँछु भनी हिड्नुभयो भने त्यसले तपाईँको अन्तरमनमा क्षणिक आनन्दको महसुस गराउन सक्छ । खुसी र प्रफुल्लित पनि बनाउन सक्छ तर त्यसले एक दिन तपाईँको खुसी पनि हराउने अवस्था आउनसक्छ । तसर्थ, कुनै पनि परिवेशको सीमाभित्र रहेर आफ्नो अन्तरमनभित्रको सत्यलाई बुझी आफूले आफैलाई विश्वास गर्ने वातावरण बनाउन सक्नुपर्छ ।
देखासिकी र लहलहैमा मर्यादा र इच्छालाई कटौती गर्नु भनेको आफ्नो भविष्यलाई आफैले बिगार्नु मानिन्छ । त्यसैले अन्तरमनको सत्य र क्षमतालाई बुद्धिमत्तापूर्वक गतिशील बनाउनेतर्फ सधैँ सचेत भइरहनु पर्दछ । जीवनको प्रत्येक पाइला–पाइलामा आइपर्ने चुनौती र अवसरलाई यो मेरो परीक्षाको घडी हो भनी लेख्दा, बोल्दा र कर्म गर्दा निकै सावधानी अपनाउनु पर्दछ । जीवन बाहिरबाट हेर्दा जति भरिएको देखिए पनि वास्तवमा यो खाली कागजजस्तै हुन्छ ।
यसमा कुन परिवेश र उद्देश्यले भरिपूर्ण गराउने हो ? त्यसको जिम्मेवारी व्यक्ति स्वयम् हुन्छ । अर्को अर्थमा भन्ने हो भने जीवन यस्तो भाँडो हो, जो देख्नमा सुन्दर र भरिपूर्ण जस्तो देखिए पनि यो आफैमा रित्तो हुन्छ । त्यसमा अटाउने प्रशस्तै ठाउँ हुँदा पनि भरिएको जस्तो गरी व्यक्तिले आफूलाई प्रस्तुत गरिएको अवस्था छ । जसको कारणले मानिस सधैँ अधुरो भइ गन्तव्यविहीन बन्न पुग्दछ । यस्तो अवस्थामा व्यक्तिले आफूलाई जतिसुकै समर्पित भएको देखाए पनि न ऊ आफू खुसी भएर बाँच्न सक्छ न त उसले अरुलाई नै खुसी हुने वातावरण निर्माण गर्न सक्दछ ।
त्यसैले जीवनको खुसीका लागि आफैले आधार तयार गर्नुपर्छ भनिएको हो । आफूले नदेखेसम्म संसार अँध्यारो हुन्छ भन्ने मान्यता राखी आफू स्वयम्ले त्यस्तो वातावरण तयार गर्नुपर्छ । त्यसपछि मात्र अरुको खुसीको लागि आफूलाई समर्पण गर्नुपर्छ । हुन त मानव जीवन कहिल्यै पूर्ण हुँदैन । आज–आज, भोलि–भोलि भन्दैमा यसले आफूलाई विसर्जन गरेको मानिसले थाहा नपाएको अवस्था पनि हुन्छ । यस्तो अवस्थामा किन गर्ने ? केका लागि गर्ने ? नगरे के हुन्छ ? जस्ता प्रश्नले व्यक्तिको मन घेरिन सक्छ ।
क्षणिक भावावेशमा आफ्नो भविष्य आफैले बिगार्ने गरेको अवस्था पनि नआउला भन्न सकिन्न । त्यसैले जीवनको गतिशीलतामा आउने जति पनि यस्ता कुप्रवृत्ति र परिस्थिति छन् ती सबै व्यक्ति स्वयम्ले धैर्य र लगनशील भइ पार लगाउँदै जानु पर्छ । आजको काम भोलि गर्छु, अहिले एकछिन पछि गरिहाल्छु जस्ता कुराले मानिसले आफूलाई प्राप्त अवसर गुमाउँदै गएको अवस्था छ । त्यसैले प्राप्त अवसर नगुमाउन समयको गतिसँगै आफूलाई प्रवाहित गर्ने गराउने गर्नुपर्छ । अहिले भर्खरै एसइईको नतिजा बाहिर आएको छ ।
प्राप्त नतिजाले कतिपय विद्यार्थी, अभिभावक निकै खुसी भएको अनुभूति गरेको देखिन्छ । अर्कोतर्फ त्यही नतिजाले कतिपय विद्यार्थी र अभिभावक दुःखी र निराश पनि भएका छन् । वास्तवमा यस्तो हुनुमा समय दोषी होइन, न त परिस्थिति नै बाधक हो । यो त व्यक्ति स्वयम्ले समय र परिस्थितिलाई जान्न र आँकलन गर्न नसक्नुका कारणले हो । सरकारले प्रतिपादन गरेको शिक्षा नीति पनि यसको कारक मानिन्छ ।
शिक्षालाई गुणस्तर र शिक्षण पेसालाई मर्यादित गराउने नाममा शिक्षा क्षेत्रमा जुन किसिमको राजनीति, अविश्वास र विकृति देखापर्दै गरेको छ, शैक्षिक वातावरण धेमिलिँदै गएको देखिन्छ, त्यसको कारणले पनि यस्तो अवस्था सिर्जना भएको हुनसक्छ । अर्को कुरा विद्यार्थी स्वयम्ले आफूले होइन बाआमाको लागि पढेको देखाउने प्रवृत्तिका कारण पनि यस्तो भएको हुनसक्छ । समयमै मिहिनेत गरेको भए सबैले खुसी मनाउँदा आफू पनि रमाउने परिस्थिति आउँथ्यो । यसले के प्रष्ट हुन्छ भने मानिसले मिहिनेत र परिश्रम त ग¥यो तर देखावटी ।
जसले आफूभित्रको खुसी र उद्देश्य पहिचान गर्न नसकी ऊ पछुताउने अवस्था आयो । तसर्थ, म र मेरो भविष्यलाई यसरी उज्यालो बनाउँछु भनी सङ्कल्पका साथ मिहिनेत र पसिना बगाउन सिक्नुपर्छ । आफूभित्रको सत्यलाई बुझी अन्तरमनको उज्यालोलाई जान्न सक्नुपर्छ । चुनौती र अवसरलाई यो मेरो परीक्षा हो भनी सफल हुने सङ्कल्प गर्नुपर्छ । अरुको लागि होइन म मेरो भविष्यको लागि गर्दैछु भन्ने सोच्नु पर्छ ।
हुन त मानव जीवन कहिल्यै पूर्ण हुँदैन । आज–आज, भोलि–भोलि भन्दैमा समयले कोल्टे फेरिसकेको हुन्छ । गर्छु भन्दाभन्दै परिस्थितिले अप्ठेरोमाथि अप्ठेरो थप्दै गएको पनि हुन्छ । विवेकी भएर परिस्थितिको सामना गर्दा पनि कहिलेकाहीँ नभइरहेको स्थिति पनि हुन्छ । वास्तवमा यी हाम्रा चुनौती हुन् । यदि यस्तो अवस्थामा आफ्नो लगनशीलता र कर्तव्यलाई भुल्ने हो भने हाम्रो जीवन सधैँ अधुरो भइरहन्छ ।
तसर्थ, दिनपछि रात रातपछि दिन आएझैँ अप्ठेरोपछि सप्ठेरो, दुःखपछि सुख आउने सत्यलाई बुझी मिहिनेत र पसिना बगाउन छोड्नु हुँदैन । निरन्तर सङ्घर्ष गर्दै अगाडि बढ्नु पर्छ । मन, वचन र कर्मलाई एउटै धरातलमा राखेर जीवनलाई उज्यालोउन्मुख बनाउन दृढता गर्नुपर्छ । परिश्रमले निश्चय पनि सफलता चुम्दछ । यो सत्य कहिल्यै भुल्नु हुँदैन ।
अहिले एसइईपछिको भविष्य कसरी निर्धारण गर्ने ? यो चुनौती प्रत्येक विद्यार्थी, अभिभावकमा आइरहेको छ । ११–१२ पछिको जीवन निकै चुनौतीपूर्ण पनि हुन्छ । मानसिक र शारीरिक बनोटमा हुने परिवर्तनसँगै भविष्य निर्धारण गर्न चाल्नुपर्ने समय पनि यहीँबाट सुरु हुन्छ । यही मौकामा चौका हान्ने शिक्षाका केही व्यापारी पनि मौका हेरी बसिरहेका हुन्छन् । मीठा–मीठा कुराले विद्यार्थी र अभिभावकलाई आकर्षित गरिरहेका हुन्छन् ।
त्यसैले बढी सुझबुझका साथ भविष्यको रेखा कोर्ने यो क्षणलाई सबैले गम्भीर भएर चिन्तन गर्नुपर्छ । स्थुल शरीरभित्रको चैतन्य आत्माको सत्यलाई पहिचान गरी भविष्यमा म यस्तो बन्छु भनी दृढसङ्कल्पका साथ आफूलाई प्रस्तुत गर्ने समय अहिले आइरहेको छ । त्यसैले विद्यार्थीको रोजाइ अभिभावकको खुसी भएर प्रस्तुत हुने यो समयलाई सबैले गम्भीर भएर चिन्तन गर्नुपर्ने अवस्था छ । अहिले अरुको लागि होइन, आफ्नो र आफ्नो भविष्यको लागि सोच्ने अवस्था छ ।
समाजमा व्याप्त असामाजिक गतिविधिसँग मुकाविला गर्दै आफ्नो र अभिभावकको खुसीको लागि समर्पण हुने समय छ । मर्यादित जीवन निर्वाह गर्ने उद्देश्यलाई परिपूर्ण गर्ने गतिको पाइला चाल्नुपर्ने बेला आएको छ । त्यसैले बाटोमा आउने जति पनि काँडा छन्, त्यसलाई पन्छाइ भविष्यको उज्ज्वल नक्षेत्र बन्न आज, अहिलेदेखि नै चिन्तनशील बनौँ । समयले कसैलाई पर्खँदैन, यो घर्केपछि फेरि जीवनमा यस्तो अवसर कहिल्यै आउँदैन ।
त्यसैले जिम्मेवारी, नैतिक आचरण र धरातलभित्रको कर्तव्यको यो अवसरलाई बुझी आफूलाई समर्पण गर्नुपर्ने बेला आएको छ । पहिले आफू खुसी बनौँ, त्यसपछि अभिभावक र समाजलाई खुसी बाँडौँ । यो समयले हामीलाई घचघच्याइरहेको छ । आफू र आफ्नो परिवेश भित्र मौलाउन खोज्ने नकारात्मक प्रवृत्तिको पहिचान गरी उत्तरदायित्वबोध गराउने जीवनचरित्र अबको आवश्यकता हो भन्ने कुराको मनन् गरी खुसी साटासाट गरौँ । सफल र असफलता भनेर आउने जति पनि चुनौती छन्, ती सबै हाम्रा परीक्षा हुन् भनी आफूलाई धीर, कर्तव्यपरायण, आज्ञाकारी र आदर्श नागरिकको रुपमा प्रस्तुत हुने वातावरण निर्माण गरौँ । वर्तमानले यही खोजिरहेको छ ।