प्रियास्मृति गजमेर
लमही, २६ असार । वन्यजन्तुका लागि देउखुरीका विभिन्न सामुदायिक वनमा पोखरी निर्माण भएका छन । वन कार्यालयले करिब २० लाख रूपैयाँ खर्चेर लमही नगरपालिका–४ स्थित चप्परखोला सामुदायिक वन, लमही नगरपालिका–८ स्थित शिवशक्ति बाख्रा विकास सामुदायिक वन, राप्ती गाउँपालिका–४ स्थित शान्ति सामुदायिक वन, गढ़ावा गाउँपालिका–३ र ४ सामुदायिक वन र राजपुर गाउँपालिका–७ राप्ती किनार सामुदायिक वनमा पोखरी निर्माण गरेको हो ।
चप्परखोला सामुदायिक वन र शान्ति सामुदायिक वन उपभोक्ता समितिसँग सम्झौता गरेर काम गरेको हो भने बाँकी पोखरीको काम वन कार्यालय आफैले गरेको हो । कार्यालयले बजेटको व्यवस्थापन गरेर अन्य सामुदायिक वनमा पनि पोखरी बनाउने अभियानलाई निरन्तरता दिने भाएको छ । सिमसार क्षेत्र पत्ता लगाउने र पुराना सिमसारलाई संरक्षण गर्दै जाने योजना रहेको सहायक वन अधिकृत रामगोपाल चौधरीले बताए ।
आरक्षण क्षेत्र नजिकै हुँदा देउखुरी क्षेत्रका सामुदायिक वनमा पनि वन्यजन्तु बाक्लिने क्रम बढ्दो रहेको वन्यजन्तु संरक्षणकर्मी चिरञ्जीवी खनालले बताए । ठ्याक्कै यतिको सङ्ख्यामा वन्यजन्तु आए भन्ने तथ्याङ्क नभए पनि चितुवा, चित्तल, स्याल, बँदेल, रतुवा, खरायोजस्ता साना जनावर बासस्थान बनाएर बस्ने गरेका छन् भने ठूला जनावर आउने जाने गरेको एक अध्ययनले देखाएको उनको भनाइ छ ।
डिभिजन वन कार्यालय देउखुरी दाङले चालु आर्थिक वर्ष २०७९÷८० मा ६ वटा पोखरी निर्माण गरेको अधिकृत राजु क्षत्रीले बताए । राज्यले एक वडा एक पोखरी निर्माणको लक्ष्य लिएको छ तर हामीले एक सामुदायिक वन एक पोखरी बनाउनु पर्छ भन्दै आएका छौँ’, डिभिजन प्रमुख क्षेत्रीले भने । देउखुरीमा १ सय ४५ वटा सामुदायिक वन छन् । केही हेक्टर राष्ट्रिय वन क्षेत्र पनि छ । ‘चुरे क्षेत्रमा पानीको मुहान छैन, कहीँ कतै छ तर त्यो पनि प्राप्त छैन, त्यही भएर राज्यले वनजंगलमा बसोबास गर्ने वन्यजन्तुका लागि पोखरी निर्माणको लक्ष्य लिएको हो’, क्षेत्रीले भने ।
वन कार्यालयले अहिले बढीमा ५ लाखसम्मको लागतमा पोखरी निर्माण गर्दै आएको छ । सामुदायिक वनमा ठूल्ठुला पोखरी पनि निर्माण भएका छन्, ती पोखरी राष्ट्रपति चुरे तराई मधेस कार्यक्रम र भू तथा जलाधार व्यवस्थापन कार्यालय तुलसीपुरले बनाएको हो । उनीहरूले सामुदायिक वनमा पोखरी बनाउँदा वन कार्यालयसँग अनुमति लिएर बनाएका हुन्’, प्रमुख क्षेत्रीले भने । देउखुरीका प्रायः सामुदायिक वन सुख्खा छन्, जसले गर्दा पोखरी बनेको पहिलो वर्षमै पानी जम्न गाह्रो छ ।
सिमसार क्षेत्र भए पनि जति आवश्यक हो त्यति पानी जम्मा नहुने यहाँको प्रमुख समस्या हो । लमही नगरपालिका–८ मा रहेको शिवशक्ति बाख्रा विकास सामुदायिक वनमा पोखरी निर्माण गरेको तेस्रो वर्षमा पानी राम्रै जम्मा भएको वनका अध्यक्ष जनक बुढा मगरले बताए । अहिले उक्त पोखरीमा चितुवा, चित्तल, स्याल, बँदेल पानी पिउन आउने गरेका छन् । सुख्खा याममा वनमा पानीको अभाव हुने हुँदा पोखरी निर्माणपछि वन्यजन्तुका लागि धेरै सहज भएको चप्परखोला सामुदायिक वनका अध्यक्ष नरेन्द्रबहादुर थापा बताए ।