आँखा अस्पतालभित्र भेटियो घाइते अवस्थामा राते

निरला अर्याल
तुलसीपुर, २६ असार । तुलसीपुरस्थीत राप्ती आँखा अस्पताल रक्षाचौरको परिसरभित्र घाइते अवस्थामा जंगली जनावर राते भेटिएको छ । अस्पतालको ओपिडी कक्ष नजिकै मंगलवार विहान घाइते अवस्थामा राते फेला परेको हो ।

विहान करिव ८ बजेको समयमा सरसफाई गर्ने क्रममा सुतिरहेको अवस्थामा घाइते राते भेटिएको राप्ती आँखा अस्पताल रक्षाचौरका मेडिकल सुपरिटेन्डेन्ट डा सन्तोष सुवेदीले जानकारी दिनुभएको छ ।
मुख, गर्धन, आँखालगायतका शरिरका विभिन्न भागमा चोट लागेको अवस्थामा अस्पताल परिसरभित्र राते फेला परेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘अस्पतालको ओपिडी नियमित सरसफाई गर्ने क्रममा सुतिरहेको अवस्थामा राते फेला परेको थियोे ।’

अस्पतालमा फेला परेको रातेलाई तुलसीपुर सव डिभिजन वन कार्यालयलाई बुझाएको छ । रातेको घाँटीलगायतका ठाउँमा भएको घाउँलाई हेर्दा जंगली अन्य बन्यजन्तु तथा कुकुरले आक्रमण गरेको हुन सक्ने तुलसीपुर सव डिभिजन वन कार्यालयका वन रक्षक बहादुर रेउलेले बताउनुभयो । उहाँका अनुसार घाइते अवस्थामा भेटिएको रातेको अहिले उपचार भैरहेको छ ।