गणतन्त्रका छोटेराजा, बजाउँछन् भुँडीको बाजा

मधुसूदन सुवेदी
नेपालमा गणतन्त्र आएको कति भयो ? नेपालमा सङघीयता आएको कति भयो ? नेपालमा लोकतन्त्र आएको कति भयो ? नेपालमा समाजवाद आएको कति भयो ? नेपालमा प्रादेशिक राज्य चलेको कति भयो ? नेपालमा स्थानीय राज्य चलेको कति भयो ?

केन्द्रीय शासन प्रणालीका रत्न शमशेरहरु, प्रदेशका सुवर्ण शमशेरहरु र स्थानीयका चन्द्र शमशेरहरु किन साच्चिकै हिरा सुवर्ण र चाँदी सरह बन्न खोज्दैछन् ? गणतन्त्रका छोटे राजाले हिरा, मोति र सुनभन्दा तलका कुरा किन गर्दैनन् । एकले अर्कोलाई यो काण्ड, त्यो काण्ड र उ काण्ड भनेर काण्डै काण्डको भेल किन चलाएका छन् । यतिबेला सबैले खाएको पिएको, पचाएको, बचाएको र भुँडीमा हालेको कुरा गरेर किन भुँडीको बाजा बजाइरहेका छन् ।

गणतन्त्रका भुँडीको बाजा बजाउने छोटे राजाहरुको सङ्ख्या किन यसरी बढ्दै छ ? राजाभन्दा पनि रिस उठ्ने, राजा लेख्दा पनि पारा तात्ने, राजा देख्दा पनि सन्कि छाड्ने, राजा भोग्दा पनि चक्कर आउने तर आफू छोटेराजाको मुख्य भेट्नको लागि मरिहत्ते गर्ने ? यस्तो पनि हुन्छ ? राजा भन्ने शब्द मात्र फ्याँक्ने कि गुण, चरित्र, आदर्श, धर्म, न्याय, प्रवृत्ति, चालचलन, भेषभुषा, लवाइ, खुवाइ, भोगाइ सबै त्याग्ने ?

राजा चरित्र पनि त्याग्न नसक्ने, राजाको सेवा सुविधा पनि त्याग्न नसक्ने, राजाको महल पनि त्याग्न नसक्ने, राजाको भ्रमण पनि त्याग्न नसक्ने, राजाको खानपान पनि त्याग्न नसक्ने, राजाको उठबस पनि त्याग्न नसक्ने, राजाको सम्मान पनि त्याग्न नसक्ने, राजाको गुणगान र स्तृति पनि त्याग्न नसक्ने, राजाको भजन पनि त्याग्न नसक्ने, खाली राजदण्ड, त्रिपेच, मुकुट मात्र फालेर बाँकी सबै धारण गर्न पाइन्छ ?

आजका छोटेराजाले के चाहीँ त्यागेका छन् ? जनता समक्ष खुलेर भनुन् खाली आदर्शका कुरा मात्र गरेर हुन्छ ? व्यवहारमा उतार्न पर्दैन ? यतिबेला गाउँदेखि सहरसम्म राजैराजाको बिगबिगी छ । कोही कसैले आफूलाई राजाभन्दा तलको देख्न नै चाहन्न र सोच्नै चाहन्न ।

राजखानदानको यत्रो मोह भएकाले गणतन्त्रका ठूला कुरा गर्न लाज मान्नु पर्दैन ? आफू असली राजा बन्ने अनि ढुङ्गा, माटो, गिठ्ठी, बालुवा र सिमेन्टको राजाई फ्याँक्ने ? उी छोटेराजाहरुले असली राजालाई फ्याँकेका हुन् र ? खाली शब्द र मूर्ति मात्र त फालेका हुन् ।

ठूला कुरा गर्ने ? जनता ढाट्ने ? आफू राजा बने र गणतन्त्र भन्ने ? गणतन्त्रको कुन नेताले महल र दरबार त्याग्यो ? गणतन्त्रको कुन नेताले तलब र भत्ता त्याग्यो ? गणतन्त्रको कुन नेताले श्रीमती, छोराछोरीलगायत सम्पूर्ण नातेदारहरुको पद कुर्सी त्याग्यो ? गणतन्त्रको कुन नेताले राजकीय सम्मान त्याग्यो ? गणतन्त्रको कुन नेताले राजकीय भ्रमण त्याग्यो ?

गणतन्त्रको कुन नेताले राजकीय खानपान त्याग्यो ? खाली ठूला कुरा गर्ने राजाको सत्तसराप गरेर राजकै बाजा बजाएर पेट भर्न लाज लाग्दैन ? यतिबेलाका छोटे राजाहरु खाली खाएको पिएको र भ्रष्ट गरेको कुरा निकालेर एउटा नेताले अर्को नेताको भुँडीको बाजा बजाइरहेका छन् । हिजो सालको पात जस्तो पेट आज फुल्दै गएर बाजा भयो र त्यही बाजा आज यत्रतत्र, सर्वत्र बज्दैछ । यो कुन–कुन खाले गणतन्त्र हो ।

गणतन्त्रको धज्जी उडाउने ? खाली कुरा भाषण र देखावटीमा मात्र गणतन्त्र ? जनताले राजा भन्दै भने यिनलाई रिस उठ्ने तर यिनी आफै राजा समान बन्दा जनता चुपचाप लाग्नु पर्ने ? सर्वप्रथम आजका छोटेराजा साच्चिकै गणतन्त्रका राजनेता बनेर देखाऊ । सक्छौ भने आफै राम्रो गर, सक्दैनौ भने राम्रो काम गर्नेलाई बाटो छाडी देऊ । राम्रो काम गर्नको पछि लागे । राम्रो काम गर्नेलाई आफू समानको हैसियतमा नमुछ ।

राम्राको प्रशंसा गर । नराम्राको खेदो खन तर आफै छोटे राजा नबन । राज देश, विदेश, प्रदेशमा समेत नेपाली नेताको गन्ध, स्वाद र रङ छताछुल्ल भइसक्यो । यस्तो अवस्थामा लोकतान्त्रिक आचरण र गुण बाहेकका कुराहरुमा गन्धहिन, रङ्गहिन र स्वादहिन बनेर देखाऊ । आज बजिरहेको र बजाइरहेको भुँडीको बाजालाई रोक, छेक र बज्न बजाउनबाट जोगाऊ ।

खाएको, खुवाएको, भ्रष्ट गरेको भ्रष्ट गराएको, बदमासी गरेको, बदमासी गराएको कुरा चल्नु र चलाउनु भनेको नेताहरुको भुँडीको बाजा बजाउनु सरह हो । आज पछिल्लो समयमा हरेकका मुखबाट निस्कने शब्द के हो भने एउटा राजा फालेर के गरे ? सयौँ छोटे राजाहरु जन्माए । यो भनाइमा सत्यता लुकेकै छ । सबैले गम्भीर भएर सोचिएन भने भोलि जनताले जे पनि गर्न सक्ने सम्भावनाको ढोका खुल्ला छ ।

हिजो राजाको पालामा राजतन्त्र जाला भनेर कसैले सोच्नै सक्दैनथे, आखिर जनसागरले बगायो । आज फेरि यो गणतन्त्रलाई पनि जनसागरले बगाउला भन्न सकिन्न । किन भने राजा, प्रजा, एैरेगैरे जसले शासन चलाए पनि जनता पाखा लागे, दुःख भोगे, अशान्ति भोगे र छोटे राजाको हल्लीचल्ली सुरु भयो भने त सयौँ राजाको ठाउँमा एउटै राजा ठीक भन्न कसैलाई गाह्रो, साह्रो, धौँ, मुस्किल, कठीन पर्नेवाला छैन । गणतन्त्रले देश बिगा¥यो भने जाने कहाँ ?

लोकतन्त्रले देब बिगा¥यो भने गर्ने के ? समाजवादले जनता भोकै र नाङ्गै राख्यो भने सोच्ने के ? भोको पेटले खोज्ने के ? आदर्श कि आर्जन ? भोको पेटले कहिल्र्य आदर्श खोज्दैन ? केवल भर्जन मात्र खोज्छ । त्यस्तो बेलामा भर्जन फेरि एउटा सक्कली छोटेराजा पनि हुन सक्छ । सयौँ मोटे राजा वा एउटै मोटे राजा ? कठीन छ ।