दाङ,२३ असार । दाङको बेल्झुण्डीस्थित केन्द्रीय आयुर्वेद विद्यापीठमा विभिन्न २० प्रकारका २ सय भन्दा बढी आयुर्वेदिक जडिबुटीको वृक्षारोपण गरिएको छ । नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज लुम्बिनी प्रदेश कमिटीको आयोजना तथा दाङ जिल्ला कमिटीको सहजीकरणमा शनिवार विद्यापीठ परिसरमा जडिबुटीजन्य बनस्पति रोपिएको हो ।
समाजका प्रदेश अध्यक्ष मोहनसिंह सुनारको अध्यक्षता तथा नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद अध्ययन संस्थानका डिन प्रोफेसर डा चन्द्रप्रसाद भुसालको प्रमुख आतिथ्यमा आयोजित वृक्षारोपणमा आयुर्वेद र यसको महत्वका बारेमा चर्चा गरिएको थियो ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका १८ का अध्यक्ष एवम् नगर प्रवक्ता माधव ओली र केन्द्रीय आयुर्वेद विद्यापीठका निमित्त प्राचार्य डा योगेश वैद्य, अनेरास्ववियु केन्द्रिय सदस्य सर्जन परियार, केन्द्रीय आयुर्वेद विद्यापीठ प्राध्यापक संघका अध्यक्ष डा सुरेन्द्र चौधरी, द्रव्यगुण विज्ञानका विभागीय प्रमुख डा महेन्द्र यादव, केन्द्रिय आयुर्वेद क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सचिव गणेश पौडेललगायतले बोलेका थिए ।
नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज दाङका अध्यक्ष शोभाकान्त अधिकारीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण समाजका प्रदेश सचिव बसन्त रावतले गरेका थिए ।