घोराही, १६ असार । दाङ महिला जेसीजले आफ्ना सदस्यहरुका लागि प्रतिवेदन लेखन तालिम गरेको छ । कुनै पनि कार्यक्रमको बारेमा समग्र विषयबस्तु समेटेर तयार पार्नुपर्ने प्रतिवेदन लेखनलाई थप परिस्कृत बनाउन तथा प्रतिवेदन लेखनको आधारभूत सिद्धान्त बारे जानकारी गराउन आफ्ना सदस्यहरुलाई तालिम प्रदान गरेको हो ।
दाङ महिला जेसीज अध्यक्ष नारायणी भण्डारीको अध्यक्षतामा भएको तालिममा जेसीजका १६ जनाको सहभागीता रहेको थियो । दाङ महिला जेसीज सचिवालयमा भएको तालिममा प्रशिक्षक प्रेस युनियन लुम्बिनी प्रदेश अध्यक्ष सुदीप गौतमले प्रतिवेदन लेख्दा ध्यान दिनुपर्ने कुराहरू, प्रतिवेदन लेख्ने तरिकासहित आधारभूत सिद्धान्त बारेमा प्रशिक्षण दिएका थिए ।
प्रतिवेदनका विषयमा बुंदागत रूपमा तथ्य सङ्कलन गर्न, सङ्कलित बँदाहरूको आदि, मध्य र अन्त्य स्थान निर्धारण गर्न, तथ्यहरूको सत्यता परीक्षण गर्न, विषय वस्तुलाई क्रमबद्ध तरिकाले लेख्न, त्रुटिरहित साफी लेखन गरि सकेपछि प्रतिवेदनको आकार दिन तथा प्रतिवेदनको भाषा विवरणात्मक वा वर्णनात्मक तथा विश्लेषणात्मक गरेर लेख्ने कुरा सिकाएका थिए ।
त्यसअवसरमा सदस्यता वृद्धि सभापति रेमन्ता पुन, निवर्तमान अध्यक्ष शारदा घर्ती, पूर्व अध्यक्ष निरजा पोख्रेललगायतले तालिम निकै उपलब्धीमूलक भएको बताउँदै सिकेको सीपलाई भोलिका दिनमा व्यवहारमा उतार्नेमा जोड दिएका थिए ।
तालिम निर्देशक मिना भण्डारी वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा उपाध्यक्ष विन्दु डाँगी पाण्डेले आस्था पाठ गराएकी थिइन । कार्यकारिणी उपाध्यक्ष बसन्ता भण्डारीले तालिममा सहभागीलाई धन्यवाद ज्ञापन गरेकी थिइन । कार्यक्रमको सहजीकरण महासचिव अर्चना शर्माले गरेकी थिइन ।