घोराही,८ असार । शान्तिनगर गाउँपालिकामा कार्यरत शिक्षा अधिकृत सुमन पाण्डेलाई भौतिक आक्रमण गर्ने वडा नं. २ का वडा अध्यक्ष सुनिल वलीलाई कडा कारवाही गर्न जिल्लामा क्रियाशिल कर्मचारी संगठनहरुले माग गरेका छन् ।
नेपाल निजामति कर्मचारी संगठन दाङ जिल्ला अध्यक्ष शेरबहादुर केसी,नेपाल निजामति कर्मचारी युनियन दाङका अध्यक्ष श्रीधर अधिकारी र नेपाल राष्ट्रिय कर्मचारी संगठन .(निजामति) दाङका अध्यक्ष अर्जुन श्रेष्ठले शुक्रवार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै वडा अध्यक्ष जस्तो जिम्मेवार जनप्रतिनिधिबाट पटक–पटक राष्ट्र सेवक कर्मचारीहरुमाथि भएका हातपातका घट्नाहरु घोर निन्दनिय, अराजक एवं अमर्यादित कार्य भएको भन्दै गम्भीर आपत्ति प्रकट गरेका छन् ।
साथै विज्ञप्तीमार्फत दोषीलाई कानुन बमोजिम कडा कारवाही गरी पालिकामा कार्यरत राष्ट्रसेवक कर्मचारीहरुलाई भयरहित वातावरणमा काम गर्ने अवस्थाको श्रृजना गरिदिन सम्वन्धित सरोकारवाला निकायसँग माग गरेका छन् ।
विज्ञप्तिमा,‘ यहि असार ७ गतेका दिन दिउँसो करिव ४ बजेको समयमा शान्तिनगर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा छलफल चलिरहेको अवस्थामा सोही पालिकाको वडा नं २ का वडा अध्यक्ष सुनिल वलीले स्वयं आफैले विवाद झिकी कार्यालयसंग सम्बन्धित कागजात तथा अभिलेख च्यात्ने र सामुन्ने अगाडि बसिरहेका शिक्षा अधिकृत सुमन पाण्डेलाई भौतिक आक्रमण जस्तो जघन्ने अपराध गरेको हुँदा यस्तो घृणीत कार्यप्रति दाङ जिल्लामा क्रियाशिल रहेका राष्ट्रियस्तरका ट्रेड युनियनहरुको गम्भिर ध्यानाकर्षण भएको छ ।’
साथै आफ्नो कर्तव्यमा तल्लीन रहेका राष्ट्रसेवक कर्मचारीहरुमाथि कुनै पनि बहानामा हुने धम्की वा आक्रमण जन्य क्रियाकलापहरु सैह्य नुहने र यदि दोषीलाई कारवाहीको दायरामा नल्याई कहिँ कतैबाट संरक्षण भएको पाइएमा ट्रेड युनियनहरुले कडा प्रतिबाद गर्ने कर्मचारी संघसंगठनहरुले चेतावनी दिएका छन् । शिक्षा अधिकृत पाण्डेलाई हातपात गर्ने वडा अध्यक्ष वलीलाई प्रहरीले पक्राउ गरेर आवश्यक अनुसन्धानलाई अघि बढाएको जनाएको छ ।