रास्वपा लुम्बिनी प्रदेशले मनायो पहिलो वार्षिकोत्सव

प्रियास्मृती गजमेर
लमही,७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी लुम्बिनी प्रदेशले आफ्नो प्रथम वार्षिक उत्सव कार्यक्रम लमहीमा मनाएको छ ।

एक वर्ष पूरा गरेको अवशरमा रास्वपाले प्रदेशका सबै पालिकामा पनि कार्यकर्ता भेटघाट तथा चियापान कार्यक्रमको आयोजना गरेको प्रदेश सभापति देवराज पाठकले जानकारी दिएका छन् । रास्वपाको प्रथम वार्षिक उत्सव कार्यक्रममा विभिन्न पार्टीका नेता, शुभचिन्तकहरुको उपस्थिति रहेको थियो ।

वार्षिकोत्सव कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति भेषराज पाण्डेले वर्तमान राजनीतिले जनताका समस्यालाई सम्बोधन गर्न नसक्दा नयाँ शक्तिको राम्रो सम्भावना भएको बताएका थिए ।

त्यस्तै नेकपा एमालेका नेता तथा लमही नगरपालिकाका निवर्तमान प्रमुख कुलबहादुर केसीले देउखुरी क्षेत्रको विकासका लागि नेकपा एमाले रास्वपासंग समन्वय गरेर अगाढी बढ्न तयार रहेको बताए । उनले जसले जुन पार्टी बाट राजनीति गरेपनि देउखुरीको विकास गरौँ, एकले अर्काको सहयोग लिने दिने बानीको विकास गरौँ अनि मात्र हामी सफल हुने बताएका थिए ।

वार्षिकोत्सव कार्यक्रममा शुभकामना मन्तव्य राख्दै जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष रामशरण यादवले जनताको हक हितका लागि कुनै पनि पार्टीले काम नगरेको बताउंदै त्यो अभिलाषा रास्वपाले पुरा गर्ने अपेक्षा व्यक्त गरेका थिए ।

त्यस्तै रेडियो हाइवेका प्रवन्धक केपि घिमिरे छोटो समयमा जनताले गरेको विश्वास र जनताले गरेको आशालाई परिणाममुखी गराउन आग्रह गरेका थिए । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष चुमा आचार्य, समाजसेवी तुला बहादुर सिंह ठकुरीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

लुम्बिनी प्रदेशका महामन्त्री निलराज अधिकारीले स्वागत गर्नु भएको थियो भने लुम्बिनी प्रदेश र्याड संयोजक विनय घिमिरेले कार्यक्रमको सहजीकरण गरेका थिए । प्रदेश सभापति पाठकले वार्षिकोत्सव कार्यक्रममा सहभागीलाई धन्यवाद ज्ञापन गरेका थिए ।