सहर बजार सुनसान एयरपोर्ट भरिभराउ

यात्रा डायरी

बालाराम खड्का
तुलसीपुर, ५ असार । न्युरोडको त्यो फुटपाथ पसल सुनसान छ । सप्तरीको गुप्ताको पान पसलमा फाटफुट ग्राहक आउँछन् । सुन्धाराको त्यो प्युठानी दाजुको सेकुवा कर्नरमा पनि त्यस्तै छ तर त्रिभुवन विमान स्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनमा भने चहलपहल बाक्लो छ । टेक्सीहरूले अन्य पसल तथा धार्मिक पर्यटकीय स्थलमा जाने पर्यटक बोक्न पाउने अवस्था छैन, छ त विदेशिने युवायुवती बोक्ने विकल्प मात्र ।

देशको यो कहालिलाग्दो अवस्था रहँदा संसदमा भने नेताहरूले जुहारी खेलिरहेका छन् । त्यो पनि भैँसी र राँगाको लागि अनि सत्ता र भत्ताको लागि । यिनीहरूलाई न किसानको मल–बिउको लागि चिन्ता छ न त विदेशिने युवायुवतीहरू रोक्ने विषयमा । देशका रोल्पा, सल्यान, रुकुम र जिल्लादेखि सङ्घीय राजधानी सुनसान छन् । हिजो मान्छेले मान्छे धकेल्ने त्यो सुन्धारा र रत्नपार्क सुनसान छन् । विमानस्थलमा छोराछोरी पठाउँदै गहभरि आँखामा आँसु झार्ने र भर्खरै भित्राएकी श्रीमतीलाई अँगालो हाल्दै बिदाईका हातहरू अल्लाउँदा मन कसको पो चसक नहोला ।

अमेरिकन राजदुताबास अगाडि भने चहलपहल धेरै छ । छोराछोरीलाई अमेरिका पठाउनेदेखि ६० काटेका बुवाआमाहरू पनि लाइनमै अन्तर्वार्ताका लागि लाइनबद्ध छन् । विदेशी मोहले स्वदेशमा दुःखसुखमा साथ दिने नभेटिने हुन् कि भन्ने चिन्ता सबैलाई छ । ‘तपाईँ पनि अमेरिका जाने हो ?’, एक जना विशेषज्ञ डाक्टरले मलाई सोध्दै थिइन्, अमेरिका जानका लागि अन्तर्वार्ता दिने हुलमा अर्कोलाई । यहाँ भविष्य नदेखेकाहरू विदेशिन लागेको ती डाक्टरहरूले अमेरिका पुगेर राम्रो काम पाउने बताए ।

देशको यो कहालिलाग्दो अवस्था र नेता, मन्त्रीहरूको व्यवहारले गर्दा पनि देशमा भविषय नभएको भन्दै आफूहरू विदेशिन बाध्य भएको अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका युवायुवतीहरू बताउँछन् । ‘एउटा गत्तिलो उद्योग छैन, काम गर्नलाई रोगजारी छैन, कहीँ रोजगारी खुल्यो भने नेता, मन्त्रीका आसेपासेले पाउँछन्, यहाँ किन बस्ने ?’ एक युवाले भने । उनले बाध्य भएर युरोप जान लागेको गुनासो गरे । यस्तै अवस्था हुने हो भने अब नेपालमा ४÷५ वर्षमा युवायुतीलाई खोजेर विभिन्न काममा लगाउनुपर्ने अवस्था आउने सुनिल पोख्रेलले बताए । ‘होटलमा काम गर्ने मान्छे पानै मुस्किल छ, सबै अमेरिका, युरोप भन्छन, काम सिकायो एक वर्षमा विदेशिन्छन्’, उनले भने ।

माथिको बाटोबाट जानेहरूको तथाङ्क एकीन भए पनि तलको बाटोबाट जानेहरूको सङ्ख्या पनि त्यत्तिकै छ । त्यस्तै अध्ययनको वहानामा विदेश जानेहरू पनि दैनिक बढेका छन् । ‘एक महिना अघि यही देखेको केटाकेटी अर्को महिना पछि शुभयात्रा, अमेरिका बसाइँ, अष्टे«लिया बसाइँ सफल होस् भन्ने सामाजिक सञ्जालमा देखिन्छ’, माधव वलीले भने । देशमा आर्थिक मन्दी लाग्यो भनेर व्यापार व्यवसाय तथा चहलपहल घटे पनि विदेशिन बाध्य युवायुतीको भने अन्तर्राष्ट्रिय विमान स्थलमा चहलपहल बढिरहेको छ ।

‘नेपालमा सबै कुरा सहजै पूरा हुन समस्या छ, बाध्य भएर छोराछोरीहरू पठाउनुपर्ने हुन्छ’, सुर्खेतबाट छोरी अमेरीका पठाउन गएकी कलामती बुढाले भनिन् । त्यस्तै चालु आर्थिक वर्ष २०७९÷०८० को १० महिनामा वैदेशिक रोजगारीका लागि विदेश जानेको सङ्ख्या साढे ६ लाख नाघेको छ । आर्थिक वर्ष सकिन दुई महिना बाँकी छँदै बैशाखसम्म नयाँ श्रम स्वीकृति लिएर एवम् पुरानो स्वीकृति नवीकरण गरेर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या ६ लाख ६० हजार २ सय ५५ पुगेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

बैशाख महिनामा ५४ हजार ४ सय ५७ जना युवाले विदेश जान श्रम स्वीकृति लिएका छन् । जसमध्ये ४ हजार ९ सय ४८ जना महिला र ४९ हजार ५ सय ९ जना पुरुषश्रमिक छन् । चैत महिनामा मात्रै ६१ हजार ४ सय ७८ जना नेपाली युवा श्रमका लागि स्वीकृति लिएर विदेश गएका थिए । वैदेशिक रोजगार विभागका अनुसार बैशाखसम्म ४ लाख २१ हजार २ सय ७९ जनाले अन्तिम (नयाँ) श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत) लिएका छन् । यो अवधिमा २ लाख ४४ हजार ९ सय ९६ जनाले पुनः श्रम स्वीकृति लिएर विदेश उडेका छन् ।

त्यस्तै नयाँ–नयाँ गन्तव्य कोरिया जान २ हजार ५ सय ७४ जनाले र कुबेतका लागि २ हजार १ सय १० जनाले स्वीकृति लिएका छन् । रोमानियामा १ हजार ६ सय ६, जापानमा ८ सय १७, बहराइनमा ५ सय ५, पोल्याण्डमा ६ सय ३५, साइप्रसमा ४ सय ६०, ओमानमा ३ सय ५० र मकाउमा ३ सय २३ जना नेपाली रोजगारीका लागि गएका छन् । त्यस्तै अमेरिका, अष्ट्रेलिया, जापानलगायतका स्थानमा पढ्न जानेको सङ्ख्या पनि दिन प्रतिदिन बढिरहेको छ । यसमा लाखौँको रकम पनि जाने गरेको छ ।