दाङ,४ असार । दलित महिला संघको लुम्बिनी प्रदेश स्तरीय सम्मेलन दाङको लमहीमा सुरु भएको छ । न्याय, समानता र सम्मानको लागि दलित महिलाहरुको अधिकार स्थापित गर्ने उद्देश्यले प्रदेश स्तरीय सम्मेलन सुरु भएको हो ।
दुई दिन सम्म चल्ने सम्मेलनले लुम्बिनी घोषणापत्र जारी गर्ने छ । अझैं पनि जातका आधारमा, लिंगका आधारमा भेदभाव हुने गरेको भन्दै भेदभाव विरुद्ध बनेका कानूनहरुको पूर्ण कार्यान्वयनमा जोड दिइएको छ ।
दलितहरुलाई अधिकार सम्पन्न बनाउन खोजिएपनि अझैं पनि व्यवहारमा लागु हुन नसकेको भन्दै खबरदारी गरिएको छ । जातको आधारमा अझैं दलितहरु बहिस्करणमा पर्नुपरेको भन्दै सरकारी निकायबाटै सशसक्तिकरणको अभियान चलाउनुपर्नेमा जोड दिइएको छ ।
सम्मेलनको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सबैखाले विभेदको अन्त्यका लागी प्रदेश सरकारले नीति तथा कार्यक्रम सहित बजेटको व्यवस्थापन गरेको बताउनु भयो ।
उहाँले समाज रुपान्तरण, जागरण र रोजगारी सृजना गर्न मुख्यमन्त्री आर्थिक विकास कार्यक्रम अघि सारेको जानकारी दिनुभयो ।
प्रदेश सरकारले एक अर्ब बजेट मुख्यमन्त्री आर्थिक विकास कार्यक्रममा विनियोजन गरेको र सो बजेटले विभेद अन्त्यका लागी सशक्तिकरण देखी रोजगारी सृजना सम्मका कार्यक्रमहरु सञ्चालन गरिने बताउनु भयो ।
दलित महिला संघका केन्द्रिय अध्यक्ष कला स्वर्णकारले आर्थिक, सामाजिक र सांस्कृतीक रुपान्तरणका लागि तीन तहकै सकारले नीति तथा कार्यक्रम सहित बजेट व्यवस्था गर्नुपर्ने बताउनु भयो ।
सम्मेलनमा लुम्बिनी प्रदेशका १२ जिल्लाका एक सय ९ पालिकाबाट प्रतिनिधित्व गर्ने दलित महिलाहरुको सहभागीता रहेको छ ।
सम्मेलनबाट प्रदेश तथा स्थानीय तहलाई दलित शक्तिकरणको क्षेत्रमा विधेयक निर्माण गरेर काम गर्न ध्यानाकर्षण गराइएको छ ।