लमही नगरपालिकाद्वारा कोइलाबासमा पानी वितरण

प्रियास्मृती गजमेर
दाङ, २ असार। लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले संकटमा परेका बेला सहयोग गर्नु मानवताको धर्म भएको बताएका छन् । नगरपालिकाको दमकलबाट ४ हजार लिटर खानेपानी लिएर शनिबार कोइलाबास पुगेका नगर प्रमुख चौधरीले अप्ठेरोमा सवैको सहयोग आवश्यक रहेको बताएका हुन । नगर प्रमुख चौधरीले भने,‘भूगोल र परिवेशका आधारमा हामी जहाँ रहेता पनि सक्दो सहयोग गर्नु पर्छ, यहि नै हामी मानवजातिको पहिचान हो ।’

त्यस्तै वडा नम्बर–१ का वडाध्यक्ष दामोदर पौडेल र वडा नं.३ का वडाध्यक्ष मनोजकुमार चौधरीले खानेपानी नपाएर काकाकुल बनेका कोइलाबासबासीका समस्यालाई गाउँपालिका सम्बोधन गर्नुपर्ने बताए । सानातिना समस्यालाई सहजीकरण गर्दै जनतालाई सेवा दिनुपर्ने नगर प्रमुख चौधरीले बताएका हुन । विद्युत महशुल नतिर्दा लाइन काटिएको कुरालाई जोड्दै नगरपालिकाबाट सक्दो आर्थिक सहयोग गर्न पहल गर्ने बताएका हुन ।

नमही नगरपालिकाका प्रमुख जोगराज चौधरी, वडा नं. १ का वडाध्यक्ष दामोदर पौडेल, वडा नं. ३ का वडाध्यक्ष मनोजकुमार चौधरी, वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठ पानीको दमकलसहित कोइलाबास पुग्दा त्यहाँका स्थानीयहरू पानी भर्नकै लागि लामबद्द भएर बसिरहेका थिए ।

खालि भाँडाहरु बाटोमा लस्करै राखेका कोइलाबासबासीहरु पानी पाउँदा खुशी भएका थिए । पानी घर घरमा पुर्याउनु हुने सहयोगी दाताहरुलाई कोइलाबासबासीले धन्यवाद समेत प्रकट गरेका थिए । गढवा गाउँपालिका–८ का वडाध्यक्ष खालिक सिद्दिकीले संकटको बेला सहयोग गरेको भन्दै आभार व्यक्त गरेका थिए । वडा अध्यक्ष सिद्धिकीले भने,‘ हामीले यति बेला संकटको घडीसंग जुधिरहेका छौं, सहयोगका लागि सवैलाई आग्रह गर्दछौ ।’

केहि दिन यता गढवा गाउँपालिका–८ कोइलाबासमा खानेपानीको चरम अभाव भएको छ । कोइलाबास खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले विद्युतको महशुल नतिर्दा लमही विद्युत प्राधिकरणले लाइन काटि दिएको छ । लमही विद्युत प्राधिकरण शाखाका प्राविधिक प्रमुख कमल पुनका अनुसार २७ हजार ७ सय ९३ रुपैयाँ वक्यौता रकम रहेको छ ।