कोइलाबासमा पानी अभाव, दमकलबाट पु¥याउँदै गाउँपालिका

प्रियास्मृती गजमेर
लमही,३० जेठ । नेपाल–भारत सिमा क्षेत्रअन्तर्गत दाङको मुख्य नाकाका रुपमा रहेको कोइलाबासमा खानेपानीको अभाव भएपछि गाउँपालिकाले दमकलवाट बोकेर खुवाउन थालेको छ । लामो खडेरीका कारण इनार सुकेको र खानेपानी कार्यालयले समयमा विद्युतको विल नतिर्दा कोइलाबासमा खानेपानी समस्या देखिएको स्थानीयवासीले बताएका छन् ।

पानी अभावले गर्दा दैनिक जीवनयापनमा समस्या आएको स्थानीय आरती गुरुङ बताउँछिन । ‘नजिकै रहेको खोलाको पानीबाट लुगा धुने, वस्तुभाउलाई खुवाउने गरिन्थ्यो’,उनले भनिन्,‘खोलामा पनि पानी सुकेपछि झन समस्या भएको छ ।’ कोइलाबासमा खानेपानीको अभाव भएपछि गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले दमकलबाट पानी कोइलाबासका स्थानीवासीलाई प¥याउने गरेको बताएका छन् ।

‘दमकलबाट पानी कोइलाबास लगेर गर्मी मौषममा स्थानीयलाई पु¥याउने गरेका छौ’,उनले भने,‘ पानीका लागि अर्काे व्यवस्था नहुँदासम्मका लागि निरन्तर रुपमा यसरी नै खुवाउने छौ ।’ खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले २०७६ मा कोइलाबासमा खानेपानीका लागि डिपबोरिङ खनेको थियो । खानेपानीको आयोजना सफल भएपछी केहि समय कोइलाबासका नागरिकलाई सहज त भयो तर बाह्रै महिना पानी उपभोग गर्न नसकेको स्थानीय मीना थापा बताउँछिन ।

अन्य समय डिपबोरिङ,धारा, इनारलगायतका पानीले पुग्ने भएपछि गर्मी मौषम चैतदेखि असारसम्म पानीको धेरै नै समस्याहुने गरेको उनी बताउँछिन । पानीको अभाव हुँदा २०७६ सालतिर पनि निवर्तमान गढवा गाउँपालिका वडा अध्यक्ष ८ का अध्यक्ष सद्धाम सिद्धिकीले ट्याक्टरबाट पानी घर घरमा पुर्याउने गरेको स्थानीय थापा बताउँछिन । कोइलाबासमा पानीको दिर्घकालिन समस्या सामाधानका लागि पहल थाल्नुपर्ने स्थानीय अब्दुल हाकिम बताउँछिन ।

बक्यौता रकम नतिर्दा लाइन काटियो

गढवा गाउँपालिका–८ मा रहेको कोइलाबास खानेपानी सरसफाई तथा उपभोक्ता समितिले विगत ६ महिनादेखि विद्युत महशुल नतिरेको भन्दै विद्युत प्राधिकरण लमही शाखाले लाइन काटि दिएको छ ।
शाखाका प्राविधिक प्रमुख कमल पुनका अनुसार ६ महिनादेखिको २७ हजार ७ सय ९३ रुपैयाँ बक्यौता रकम छ । उनले पटकपटक ताकेता गर्दा पनि अटेरी गरेपछि लाइन काटिएको बताइन ।