पार्वती बस्नेत
दाङ,२८ जेठ । आगामी असार २ गतेका दिन निशुल्क रुपमा नारायणपुर स्वास्थ्य चौकीमा संचालन हुन गईरहेकोे सिकलसेल स्किृनिङ चेकजाँच शिविरलाई सफल बनाउनका लागि लाग्ने महिला स्वास्थ्य स्वयमसेबिकाहरुले प्रतिबद्धता ब्यक्त गरेका छन् ।
ग्रामीण महिला उत्थान केन्द्र दाङको आयोजना तथा अमेरिकन लाईफ ईन्सोरेन्स कम्पनी मेट लाईफ ईन्सोरेन्स पुलचोक ललितपुरको सहयोग र घोराही उपमहानगरपालिका वडा नं. १० को समन्वयमा आइतवार नारायणपुरमा भएको स्वास्थ्य स्वयमसेबिकाहरुका लागी एक दिने सिकलसेल सम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै महिला स्वास्थ्य स्वयमसेबिका पार्वता डिसीले त्यस क्षेत्रका सम्पूर्ण स्वयमसेबिकाहरुको तर्फबाट उक्त कुराको प्रतिबद्धता ब्यक्त गरेकी थिइन ।
ग्रामीण महिला उत्थान केन्द्र दाङका अध्यक्ष आसमानी चौधरीको अध्यक्षता तथा वडा नं. १० का वडा अध्यक्ष दिपक पाण्डेको प्रमुख आतिथ्यता एवं जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख डम्बर कुवरको बिशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो । संस्थाका कोषाध्यक्ष मिरा चौधरीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा बोल्दै कार्यक्रमका वडा अध्यक्ष पाण्डेले महिला स्वास्थ्य स्वयमसेबिकाहरु देशका मेरुदण्ड भएको बताउदै टोलमा गठन भएका आमा समुहहरुले पनि आफनो जिम्मेवारी भूमिका निर्वाह गर्नुपर्ने बताएका थिए । उनले असार २ गते नारायणपुर स्वास्थ्य चौकीमा हुन थालेको निशुल्क सिकलसेल स्किृनिङ चेकजाँच शिबिरलाई सफल बनाउनका लागी लाग्न समेत आग्रह गरेका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष आसमानी चौधरीले संस्थाले समुदाय केन्द्रित रहेर आत्मनिर्भर सशक्त समाजको सिर्जनका लागी गर्दै आएको काम अन्र्तगत नै स्वास्थ्यका क्षेत्रमा सिकलसेल शिबिरको आयोजना गर्न थालेको बताएकी थिइन । शरिर दुख्ने, पक्षघात हुने, पटक पटक जन्डीस हुने, बिरामीहरुको सिकलसेल स्किृनिङ परिक्षण गरिने भएको छ ।
शिबिरमा १५ देखि २५बर्ष उमेर समुहका र शंकास्पद ४०बर्ष मुनिका नागरिकको स्वास्थ्य परिक्षण गरिने भएको छ । कार्यक्रममा सहभागी भई स्वास्थय चेकजाँच गरी ढुक्क हुन जिल्ला स्वास्थय कार्यालयका निमित्त प्रमुख डम्बर कुवँरले महिला स्वयमसेबिका तथा आमा समुहलाई अनुरोध गरेका थिए ।
कार्यक्रममा आमा समुहका निमा पोख्रेल, नारायणपुर स्वास्थ्य चौकीका स्वास्थ्य ईन्चार्ज डिल्लीराज आचार्यलगायतले बोलेका थिए । संस्थाका एचबि थापाले संस्थागत प्रस्तुतीकरण गरेका थिए । कार्यक्रमको सहजीरकण संस्थाका पार्वती बस्नेतले गरेकी थिइन भने कार्यक्रमको प्रशिक्षकमा जिल्ला स्वास्थ्य कार्यालयका निमिक्त प्रमुख डम्बर कुवँर तथा सिकलसेल फोकल पर्सन देबीलाल डाँगी रहेका थिए । कार्यक्रममा ५५जनाको सहभागीता रहेको थियो ।