क्रिकेट प्रतियोगिताको उपाधी वडा नं. १५ लाई

हिमाल महरा
घोराही,२५ जेठ ।दाङ जिल्ला क्रिकेट संघको आयोजना तथा घोराही उपमहानगरपालिको सहयोगमा भएको वडास्तरीय क्रिकेट प्रतियोगिताको उपाधि घोराही उपमहानगरपालिका वडा नं.१५ ले हात पारेको छ ।

घोराही उपमहानगरपालिका–१७ स्थीत घोराही रंगशालामा भएको प्रतियोगिताको फाईनल खेलमा वडा नम्बर ६ लाई ५० रनले पराजित गर्दै वडा नम्बर १५ ले उपाधी चुमेको हो । उपाधीसंगै उसले नगद ३० हजार पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारेको छ ।

पराजित वडा नम्बर ६ उपबिजेतामा सिमित रहदै नगद २० हजार पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो । २० ओभरको खेलमा टस जितेर ब्याटिङ गर्न खेल मैदान उत्रिएको वडा नम्बर १५ले पुरै २० ओभर खेल्दै २ बिकेटको क्षेतीमा १६४ रन जोड्न सफल भएको थियो ।
जसमा विषम थापाले सर्वाधिक ५९ रनको योगदान दिए भने आशिष वलीले ५९ रन जोडे । बलिङतर्फ वडा नम्बर ६का सन्तोष केसीले २ विकेट लिए । १६५ रनको बिजयी लक्ष्य पछ्याएको वडा नम्बर ६ ले पुरै २० ओभर खेल्दै ९ बिकेट गुमाउँदै ११५ रन मात्र जोड्न सक्यो । जसमा केशव अधिकारीले ३९ रन बनाए । बलिङतर्फ वडा नम्बर १५ का शिशिर डिसीले ३ विकेट लिए । प्रतियोगितामा आशिष् वली म्याच अफ द फाईनल बने ।

पहिलो संस्करण सफलता पूर्वक सम्पन्न भएको भन्दै दाङ क्रिकेट संघका अध्यक्ष प्रदिप मजगैयाँले वडास्तरमा खेलकुदको पहुँच अभिवृद्धि गर्ने र नवप्रतिभाहरुलाई क्रिकेट खेलमा स्थापित गर्ने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको बताएका थिए । प्रतियोगितामा घोराही उपमहानगरपालिकाका ९ वटा वडाका टिमको सहभागिता रहेको थियो ।

यसैबिच प्रतियोगिताको समापन समारोह दाङ क्रिकेट संघका अध्यक्ष प्रदिप मज्गौयाको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीको प्रमुख आतिथ्यमा भएको थियो । प्रतियोगिताको म्यान अफ द सिरिज वडा नम्बर १५ का शिशिर डाँगी, वेस्ट ब्याट्स म्यान वडा नं. ६ का आकाश चौधरी, वेस्ट बलर वडा नम्बरका १५ आशिष वली र राईजिङ प्लेयर वडा नम्बरका १७ नरेश पाण्डे घोषित भएको दाङ क्रिकेट संघका सचिव सन्जु क्षेत्रीले जानकारी दिएका छन् । कार्यक्रमको सहजीकरण दाङ क्रिकेट संघका पूर्व अध्यक्ष तथा लुम्बिनी प्रदेश क्रिकेट समितिका सदस्य किशोरचन्द गौतमले गरेका थिए ।