पछिल्लो समयमा स्वदेशमा उत्पादन गर्ने उद्योगहरूको सङ्ख्या बढ्दै गएको छ । यसमा युवाहरूको आकर्षण समेत बढ्दै गएको पाइएको छ । उद्योगहरू थपिँदै गए पनि विविध समस्याहरू भोग्दै आएका छन् । तर राज्यको तर्फबाट स्वदेशी उद्योगहरूलाई प्रोत्साहन गरेको पाइएको छैन । यस प्रकारको प्रवृत्ति परिवर्तन हुन आवश्यक छ । दाङको घोराही उपमहानगरपालिका वडा नं १४ मा रहेको शान्ति पेपर व्याग हाउस २०७५ सालमा स्थापना भइ कागजको झोला उत्पादन गर्दै आएको छ ।
उद्योगहरू उत्पादन गर्दै आएका झोलाहरू दाङका बजार, बुटवल, पोखरा, धरान, धनगढीलगायका जिल्लामा जाने गरेको छ । उद्योगले उत्पादन गरेका झोलाहरूको माग समेत बढ्दै गएको छ । बातावरण संरक्षणमा समेत सहयोग पुग्ने भएकाले कागजको झोलाको माग बढ्दै गएको हो । कागजको झोला उद्योग सञ्चालनमा के–कस्ता सम्भावना तथा चुनौती रहेका छन् भन्ने विषयमा उद्योगका सञ्चालक अमितसिंह ठकुरीसँग गोरक्षकर्मी अमरराज आचार्यले गरेको कुराकानी सार संक्षेप ।
गोरक्षको सातावार्तामा स्वागत छ ।
मेरो र मेरो उद्योगको विषयमा कुरा राख्ने अवसर दिनु भएकोमा तपाईँ र गोरक्ष दैनिक परिवारलाई धेरै धन्यवाद ।
उद्योग क्षेत्रमा कसरी प्रवेस गर्नुभयो ?
कागजको झोला बनाउने मेरो सानैदेखिको रुचि हो । विद्यालयमा अध्ययन गर्दादेखि नै यसका बारेमा खोजीनीति तथा सूचनाहरू खोजिरहन्थेँ । अरुले गरेको भन्दा फरक काम गर्नुपर्छ भन्ने मेरो मान्यता पनि हो ।
कागजको झोला वातावरणैत्री हुने भएकाले वातावरण संरक्षणमा समेत सहयोग पुग्ने देखिन्छ । बजारमा प्लास्टिकजन्य झोलाको प्रयोग अत्यधिक हुँदा त्यसले वातावरणमा समेच असर पुग्ने हुँदा वातावरणमैत्री कागजको झोलातर्फ मेरो रुचि बढेको हो । आफ्नो पढाइ सकेर उद्योग सुरु गरेको हुँ ।
उद्योगको अवस्था कस्तो रहेको छ ?
हरेक क्षेत्रमा समस्याहरू हुन्छन् । उद्योग क्षेत्र पनि त्यसबाट अछुतो रहेने कुरै भएन । विभिन्न समस्याका वावजुद पनि उद्योग सञ्चालन गर्नुपर्ने बाध्यता त छ नै फेरि आफ्नो रुचिको क्षेत्र पनि यही हो । केही आन्तरिक समस्या, केही बाह्य समस्या तथा केही बजार त केही ऐन नियमका समस्याका कारणले पनि औद्योगिक क्षेत्रको विकास हुन नसकेको हो कि भन्ने लाग्छ ।
तैपनि उद्योगबाट उत्पादन भएका झोलाहरू बिक्रीमा समस्या भने छैन । झोलाहरू दाङका बजार, बुटवल, पोखरा, धरान, धनगढीलगायतका जिल्लाहरूमा जाने गरेको छ । नाफाभन्दा पनि वस्तुको गुणस्तरमा ध्यान दिएर काम गरिरहेका छौँ । समग्रमा भन्दा उद्योगको अवस्था ठिकै छ भन्नुपर्छ ।
उद्योग सञ्चालन गर्दा के–कस्ता समस्या भोग्नु परेको छ ?
उद्योग सञ्चालनका लागि मूल समस्याका रूपमा विद्युतको समस्या देखिएको छ । विद्युतको अनियमितता, लो भोल्टेजले गर्दा धेरै समस्या हुने देखिन्छ । बत्ती आउने–जाने गर्दा मेसिनमा खराबी आउने हुन्छ । यदि त्यसो भएको खण्डमा अनाहकमा उद्योगीहरूले घाटा व्यहोरिरहेको अवस्था छ । विद्युत नहुँदा जेनेरेटरको प्रयोग गर्नुपर्ने बाध्यता त छँदैछ ।
जेनेरेटर प्रयोग गरेर उत्पादन गर्दा लागत मूल्य वृद्धि हुन्छ । लागत बढी भए बजारमूल्य पनि बढाउनुपर्ने हुन्छ । यसो गरिएको खण्डमा बाहिरबाट आउने वस्तुसँग प्रतिस्पर्धा गर्न सकिँदैन । उद्योग डुब्ने सम्भावना बढी हुन्छ । त्यस्तै उद्योगका लागि आवश्यक कच्चा पदार्थ समेत बाहिरबाट ल्याउनुपर्ने समस्या छ । उद्योगको मेसिनमा प्रयोग हुने सामग्री समेत जिल्लामा पाइँदैन ।
वाहिर जिल्ला वा इण्डियाबाट ल्याउनु पर्छ । यसमा समय त खेर जान्छ नै त्यसका साथै ती सामग्री महँगो पर्न जान्छ । उद्योग स्थानाका लागि आवश्यक पर्ने जग्गा समेत सहजै पाउने अवस्था छैन । हामीसँग दैनिक २५ सय झोला उत्पादन गर्ने क्षमताको मेसिन छ, विभिन्न कारण तथा प्राविधिक कारणले त्यसो बराबर झोला उत्पादन गर्न सकिरहेका छैनौँ । तैपनि उद्योगमा ३ जनालाई रोजगार दिएका छौँ । विविध समस्याका वावजुद पनि उद्योग चलेकै छ । बन्दै गर्ने अवस्था चाहिँ नआउला ।
उद्योगका लागि आवश्यक पर्ने जनशक्तिको अवस्था कस्तो छ ?
उद्योगका लागि जनशक्ति पनि समस्याकै रूपमा छ । उद्योगमा दक्ष जनशक्तिको अभाव छ । अदक्ष कामदारबाट काम गराउनुपर्ने बाध्यता अहिले हामीसँग छ । त्यसैमाथि उद्योगमा काम गर्दै आएका र काम सिकिसकेका कामदार पनि छोडेर गइदिने अवस्था छ । आउने जाने चलिरहन्छ । कहिले धेरै हुन्छन्, कहिले थोरै हुन्छन् ।
हामीले भनेअनुसार कामदार समेत पाउनसकेका छैनौँ । विदेशमा गएर जे पनि गर्ने तर आप्mनै ठाउँमा काम गर्न लाज मान्ने प्रवृत्तिले गर्दा यस्तो समस्या भएको हो कि ? स्वदेशमै केही गर्नुपर्छ भन्ने सोचको विकास हुने हो भने यहीँ दक्ष जनशक्ति उत्पादन गर्न पनि सकिन्छ तर धेरैको चासो यसतर्फ देख्दिैन ।
राज्यको उद्योगलाई हेर्ने दृष्टिकोण कस्तो पाउनुभएको छ ?
राज्यले स्वदेशी उद्योगहरूलाई प्रोत्साहन गर्नुपर्ने त हो तर त्यसो हुनसकेको छैन । स्वदेशी उत्पादनलाई प्रोत्साहान गर्न राज्यले नीति ल्याउनु पर्दछ । जसले गर्दा स्वदेशी उद्योगहरूको विकासमा सहयोग पुग्ने देखिन्छ । अहिले पनि धेरै नागरिकले स्वदेशी वस्तु प्रयोग गरेको पाइँदैन । स्वदेशी उद्योगबाट उत्पादित वस्तुहरू आयातीत भस्तुसरह गुणस्तरीय भए पनि स्थानीय स्तरका उपभोक्ताले विश्वास गर्नु हुन्न ।
स्थानीय स्तरमा उत्पादित वस्तुको गुणस्तर राम्रो भएको, मूल्य सस्तो भए पनि उपभोक्ताले विश्वास नगरेको अवस्था छ । यसो हुनु भनेको आयातीत वस्तुहरूमा बढी विश्वास गर्नु । त्यसैले सरकारले यातीत वस्तुहरूको कटौती गरेर स्थानीय स्तरमा उत्पादन भएका वस्तुका लागि बजारको व्यवस्थापन गर्नुपर्ने देखिन्छ । त्यस्तै सरकारले उद्योगहरूलाई प्रोत्साहन गर्ने नीति पनि ल्याउनु पर्छ । यसका साथै सरकारले नागरिकलाई विश्वास गर्ने वातावरण सिर्जना गरिदिनु पर्छ । तर सरकारी पक्षबाट उद्योगप्रति चासो हुँदै नभएको भने होइन । जति गरेको छ त्यत्तिले पुग्दैन र पुगेको पनि छैन ।
स्वदेशी उद्योगको विकासका लागि राज्यले के गर्न आवश्यक छ ?
राज्यले स्वदेशी उद्योगको विकासका लागि स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति ल्याउनु पर्छ । उद्योग स्थापनाका लागि छुट्टै औद्योगिक क्षेत्र बनाउनु पर्दछ । अहिलेसम्म जिल्लामा औद्योगिक क्षेत्र निर्माण हुनसकेको छैन । जुन बस्तीस्तर भन्दा टाढा रहोस् । औद्योगिक क्षेत्रमा सडक सुविधा, नियमित विद्युतको व्यवस्था, पानीको सुविधा पु¥याउनु पर्दछ । औद्योगिक क्षेत्र स्थापना भएमा उद्योगहरू स्थापनाका लागि सहज हुन्छ । उनीहरूले आफैले जग्गा किन्नु पर्दैन । उद्योग स्थापना गर्नका लागि उद्योगी आफैले जग्गा पनि किन्नु पर्दा उद्योगमा लगानी गर्नुपर्ने रकम जति जग्गामै सकिने गर्दछ । उद्योगी बन्न चाहनेका लागि सरकारले सहज र सहुलियतको व्यवस्था गरिनु पर्दछ । अहिले लगानी गर्नका लागि सहज रूपमा ऋण पाउने अवस्था समेत छैन । यसले गर्दा धेरै उद्योगी तथा व्यवसायीहरू समस्या भोग्नु परेको छ । यसतर्फ सरकारले ध्यान दिनु पर्दछ । अहिले स्थानीय सरकार, प्रदेश सरकार तथा सङ्घीय सरकारले समेत उद्योगी तथा व्यवसायीहरूलाई सहयोग गरेको पाइँदैन । औद्योगिक क्षेत्रको विकास, उद्योगी व्यवसायीहरूका लागि सहज बजार, औद्योगिक नीति तथा कार्यक्रमहरू औद्योगिक मैत्रीलगायतका विषयमा सरकारले विशेष कदम चाल्नुपर्ने मैले देख्छु ।
आगामी योजना के छ ?
मेरो अबको योजना उत्पाद बढाउने नै हो । यसका लागि लगानी बढाउन आवश्यक छ । त्यसका लागि यात आफूसँग क्यास हुनुपर्छ अथवा बैङ्कबाट लोन÷ऋण लिनुको विकल्प छैन । बजारमा आर्थिक मन्दीको कुरा त सबैलाई जानकारी भएकै कुरा हो । बैङ्कहरू नै बन्द हुने अवस्थामा पुगेको भन्ने पनि सुनिन्छ । यस्तो अवस्थामा सहजै ऋण पाउने वातावरण पनि छैन । यदि लगानी वृद्धि गर्न सकियो भने उत्पादन पनि बढाउन सकिएला । उत्पादन बढ्नु थप जनशक्ति आवश्यक पर्नु हो । मेरो योजना भनेकै स्थानीय स्तरमा उत्पादन बढाउनु, बजार पनि बढाउनु र रोजगारीको सिर्जना गर्नु नै हो ।
अन्त्यमा केही छ कि ?
हामीले सञ्चालन गरेको उद्योगको बारेमा कुरा राख्न दिनुभएकोमा तपाईँ र गोरक्ष पत्रिका परिवारलाइ धन्यावाद दिन चाहन्छु । हामी परनिर्भर आत्मनिर्भर हुन आवश्यक छ । नेपालमा धेरै सम्भावनाहरू रहेका छन् । ती सम्भावनाको सदुपयोग गरेर अगाडि बढ्न आवश्यक छ । देशलाई आत्मनिर्भर बनाउन सबै मिलेर अगाडि बढ्नु पर्दछ । यसका लागि आफैले केही गर्नु पर्छ भनेर अगाडि बढ्न सक्नु पर्छ । हामी नेपालीमा धेरै केही गर्नु पर्छ भन्ने भावना छैन । अनुशासित भएर आप्mनो काममा गरे सफल भइन्छ । काम गर्न चाहेमा धेरै अवसर पनि यहीँ छन् तर हामी रोजगारका लागि विदेशिने गर्छौँ । विदेश गएर जस्तो काम पनि गर्न तयार हुन्छौँ तर आफ्नो ठाउँमा काम गर्दा लाज मान्छौँ । यस प्रकारको प्रवृत्ति हटाउनु जरुरी छ । राज्यले उद्यमशीलतामा जोडिन प्रोत्साहन गर्नु पर्दछ । जसले गर्दा स्वदेशी उद्योगहरूलाई अगाडि बढाउन सहयोग मिल्छ । उद्योग सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण, बजार व्यवस्थापनमा सहयोग गरिदिनु पर्दछ । विदेशमा उद्योगबाट उत्पादन भएका वस्तुसँग प्रतिस्पर्धा गर्न नेपाली उद्योगलाई समस्या छ । यसैगरेर स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नु पर्दछ । अहिले पनि स्वदेशी वस्तुलाई विश्वास गर्ने वातावरणको सिर्जना हुनसकेको छैन । यसतर्फ राज्यले ध्यान दिनु पर्दछ । यस क्षेत्रमा आउन चाहनेहरूलाई आप्mनो क्षेत्रबाट हुने सहयोग रहन्छ ।