तुलसीपुर, १५ जेठ । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित राप्ती आँखा अस्पताल, लमही आँखा अस्पतालको भौतिक तथा चिकित्सकीय औजार खरिदका लागि प्रस्तावना पेश गरिएको छ ।
संघका सभापति तथा अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीज्यूको नेतृत्वमा लुम्विनी प्रदेशको मुख्यमन्त्री कार्यालय,स्वास्थ्य मन्त्रालय, र प्रदेश योजना आयोग राप्ती उपत्यका देउखुरीमा माननीय मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, स्वास्थ्य मन्त्री राजु खनाल, प्रदेश योजना आयोगका उपाध्यक्ष डा। नहकुल केसी, मन्त्रालयका सचिवज्यूहरु संग भेटभाट गरि प्रस्तावना पेश गरिएकोहो ।
लमही आँखा अस्पतालले लमहीमा कान अस्पतालको भवन निर्माणका लागि इष्टमेट सहितको प्रस्तावना, राप्ती आँखा अस्पतालमा आइवयल मास्टर खरिद तथा राप्ती आँखा अस्पतालमा शैक्षिक भवनकालागि अनुमानित बजेट सहि प्रस्तावना पेश गरिएकोहो । सो अवसरमा मुख्यमन्त्री चौधरीले आँखा अस्पतालहरुसंग आफु परिचित रहेको भन्दै आँखा अस्पतालहरुको विकासका लागि आफुले प्रदेशबाट हुन सक्ने सवै सहयोग हुने बताए । त्यस्तै स्वास्थ्य मन्त्री राजु खनालले आँखा अस्पतालहरुको विकासका लागि आफुहरु प्रतिवद्ध रहेको बताए ।
त्यस्तै प्रदेश योजना आयोगका उपाध्यक्ष नहकुल केसीले आँखा अस्पतालहरुको सेवा सवलीकरणका लागि गर्न सक्ने सवै सहयोग हुने बताए । त्यस्तै नेपाल नेत्रज्योति संघ दाङ, शाखाका सदस्यहरु रेशमबहादुर खड्का, घनश्याम सुवेदी, लिला शाह , प्रमुख प्रशासक सम्शेर थापा,इन्जिनियर विक्रम बाबु केसीलगायको सहभागीता रहेको थियो ।