मावि सौडियारमा विव्यसको छड्के अनुगमन, एकैदिन विना निवेदन ४ जना शिक्षक विदामा

घोराही,२ जेठ । घोराही उपमहानगरपालिका–७ सौडियारस्थित माध्यामिक विद्यालय सौडियार विद्यालयमा विद्यालय ब्यवस्थापन समितिले मंगलवार छड्के अनुगमन गरेको छ ।

विद्यालय ब्यवस्थापन समितिका सदस्य जिउधन चौधरीको नेतृत्वमा पुगेको टोलीले विद्यालयको छड्के अनुगमन गरेको हो । अनुगमनका क्रममा विद्यालयमा शिक्षकहरु विना निवेदन विदामा बस्ने गरेको भेटिएको छ ।

अनुगमनमा खटिएका विद्यालय व्यवस्थापन समितिका सदस्य चौधरीले निमावि तहका शिक्षक मोति केसी, वाल विकास केन्द्रकी शिक्षिका शुभद्रा भण्डारी, मावि तहका शिक्षक नारायण भण्डारी र लेखापाल केशव केसी विना निवेदन विदा बसेको जानकारी दिएका छन ।

विद्यालय व्यवस्थापन समितिका सदस्य चौधरीले विद्यालयका शिक्षकलाई पटक–पटक निवेदन दिएर विदामा बस्न आग्रह गरेपनि अटेर गरेपछि आज छड्के अनुगमन गरिएको बताए । उनले यो अनुगमन निरन्तर चल्ने पनि बताए ।

उनले विना निवेदन विदा बसेकालाई पहिलो पटक सचेत गराउन विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र गौतमलाई निर्देशन दिईएको र फेरी पनि अटेर गरे शिक्षा ऐन, नियम अनुसार कारवाही हुने जानकारी गराईएको बताए । उनले विना निवेदन विदामा बस्ने कुरा विब्यसले नमान्ने पनि चेतावानी दिएका छन् ।