खेमराज रिजाल
वेलझुण्डी, १ जेठ । ‘हामीलाई हाम्रो कार्यकुशलता र कार्यदक्षतामा आशंका छ, किनकि आठौं व्याचमा आइपुग्दा समेत हामीले आफ्नो कलेजको शिक्षण अस्पताल पाउन सकेनौं’ नेपाल संकृत विश्वविद्याल केन्द्रिय आयुर्वेद विद्यपिठमा अध्ययनरत एक विद्यार्थीले भने ।
ओजेटी गर्न कहिले स्वास्थ्य विज्ञान प्रतिष्ठान, कहिले तुलसीपुरको राप्ती प्रादेशिक अस्पताल त कहिले विजौरीस्थीत प्रादेशिक आयुर्वेद चिकित्सालय धाउनुपर्ने उनीहरुको बाध्यता छ । विजौरी मात्रै उनीहरुको शिकाइसंग जोडिएको अस्पताल हो, अरु अस्पताल एलोप्याथिक मेडिशिनसंग जोडिएका अस्पतताल हुन् ।
विद्यार्थीहरुले पटक–पटक माग गरे क्याम्पसमा ओपीडि कक्षाको । विश्वविद्यालयका रजिष्टारको कार्यकक्षमा तालावन्दी गरे । कुनै समय घोराही—तुलसीपुर सडक खण्ड अवरुद्ध पनि गरे । तर विद्यार्थीहरुले ओपिडि सेवा आफ्नै क्याम्पसमा पाउन सकेनन् । सुरुआती दिनमा करीव ५ बर्ष अघि सो शैक्षिक भवनको तल्लो तलामा ओपिडि सेवाको अभ्यास पनि थालनी भएको थियो । तर आफ्नै फार्मेशी र निशुल्क औषधिको व्यवस्थापन हुन नसक्दा विरामीको उपस्थीतिनै सून्य भयो । क्याम्पस प्रशासनले ओपिडी सेवालाई निरन्तरता दिलाउन सकेन ।
आफ्नै मेडिकल कलेज बन्न ओपिडी सेवा मात्र होइन, आईपिडी सेवासहित सय वेडको अस्पताल बन्नुपर्दछ । त्यसपछि मात्रै आयुर्वेद चिकित्सा आयोगले मेडिकल कलेजको अनुमति दिन्छ । तर अस्पतालले सय बेडको अस्पताल चलाउने अभ्यास हुँंदाहुँंदै कोरोनाको महामारी फैलियो । प्रदेश सरकारले सोही अस्पताललाई कोरोना विशेष अस्पताल बनायोे ।
करीव एक सयको हाराहारीमा कोरोनाका विरामी पनि दैनिक भर्ना गर्ने क्षमता बनाइएको थियो । दुइ बर्ष पछि कोरोना विशेष अस्पतललाई तु्लसीपुरस्थीत राप्ती प्रादेशिक अस्पतालमा स्थानान्तर गरियो । त्यसपछि उक्त भवनको भुइतला पुरै खाली छ । तर विश्वविद्यालय प्रशासनले त्यँहा पुनः ओपिडी कक्षा चलाउन सकेको छैन । यसको प्रत्यक्ष मार विद्यार्थीहरुलाई पर्दै आएको छ ।
ओजेटी गर्न विद्यार्थीहरुलाई कहिले काठमाण्डौको नरदेवी लगिन्छ, कहिले पोखरा कहिले धरान । क्षणिक समयमा गरेको अभ्यासले विद्यार्थीलाई दक्ष बनाउन नसकेको त्यहां अध्ययन गर्ने विद्यार्थीहरुले बताएका छन् । अहिले आठौं व्याच अन्तिम परिक्षा दिंदै छन् । तर यी आयुर्वेद चिकित्सकहरुले अन्तरंग र ओपिडस् प्राक्टिस अझैसम्म गर्न पाएका छैनन् । कुनै बेला केन्द्रिय आयुर्वेद विद्यापिठ शिक्षण अस्पताल लेखिएको साइनवोर्ड पनि केन्द्रिय आयुर्वेद विद्यपिठमा राखिएको थियो ।
तर शिक्षण अस्पताल विनाको सो साइनवोर्डको विरोध भएपछि शिक्षण अस्पतालको साइन बोर्ड एकाएक विश्वविद्यालयले हटाएको थियो । विएएमएस कक्षा सन्चालनकालागि कम्तिमा एक सय वेडको अस्पताल चाहिन्छ, तर स्वास्थ्य मन्त्रालय माताहतको आयुर्वेद चिकित्सा आयोग अनुगमनमा आउँदा मेडिकल कलेजको स्वीकृति दिने कुनै पनि पूर्वाधार बन्न सकेका छैनन् । ‘अहिले हामीसंग नत मेडिकल कलेज सञ्चालनकालागि आवश्यक दरवन्दी नै उपलव्ध छ, न आवश्यक पूर्वाधार छन्’, केन्द्रिय आयुर्वेद क्याम्पसका प्राचार्य डा मंगलाकान्त झाले भने ।
यसकालागि विश्व विद्यालय एवं आयुर्वेद चिकित्सा अध्ययन संस्थान माताहतको डिनको कार्यालयले भूमिका निर्वाह गर्नुपर्ने उनको सुझाव थियो । पछिल्लो चरणमा आयुर्वेद क्याम्पसका लागि मेडिकल कलेज निर्माणकालागि इ विडिङ भएको छ । तर कहिलेसम्म मेडिकल कलेज बन्ने भन्ने अझै अन्योलको विषय बनेको छ । मेडिकल कलेज विनैको आयुर्वेद चिकित्सा अध्ययन क्याम्पसले विद्यार्थीहरुको भविश्यमाथि नै खेलवाड भैरहेको छ ।
‘शिक्षण अस्पताल नहुँदा हामीले एकजना विरामीलाई सलायन चढाउन सक्नेसम्मको क्षमता विकास हुन सकेको छैन’, चौथो व्याचका अर्का विद्यार्थीले भने । मेडिकल कलेजमात्र होइन, त्यहां विद्यार्थिहरुकालागि उपयुक्त प्रयोगशाला समेत छैन । विरामी विनाको प्राक्टिसले कस्ता चिकित्सक जन्माउला ? यसमा विश्वविद्यालय प्रशासन पनि अलमलमा छ । पाहुना आएजसरी पदाधिकारी फेरिरहन्छन् । कहिल्यै भिसी, रजिष्ट्रार, शिक्षाध्यक्ष, डिनलगायतको समन्वयात्मक भूमीका निर्वाह हुन सकेको छैन । अहिले अभिभावक विहिन बनेको छ, विएएमएस कलेज ।
तीन महिनाकालागी नेपाल संस्कृत विश्वविद्यालयले सोही क्याम्पसका प्राचार्य डा मंगलाकान्त झालाई डिन नियुक्त गरेको थियो । उनको डिनको कार्यकाल सकियो । तर विश्वविद्यालयले डिन अझै नियुक्त गर्न सकेको छैन । डिन विनाको आयुर्वेद चिकित्सा अध्ययन संस्थान बनेको छ अहिले । आयुर्वेद चिकित्सा अध्ययनकालागि केही चिकित्सकहरु पनि थप नियुक्त गरिए ।
तर आठौं व्याचसम्म चल्दा पनि शिक्षण अस्पताल बन्न नसक्नुलाई विश्वविद्यालय व्यवस्थापनले गम्भीरता पूर्वक लिनुपर्ने विद्यार्थीका अभिभावकहरुको सुझाव छ । गुमनाम छ बोटानिकल गार्डेन । धेरै बर्ष यो शिर्षकको बजेट आयो । तर गार्डेन बनेन् । डिपिआर निर्माणलगायतका काम भए । तर आयुर्वेद चिकित्साका विद्यार्थीहरु बोटानिकल गार्डेनको अवलोकन गर्न गोदावरी र पोखरासम्म धाउन विवश छन् ।