प्रमोद आचार्य
दंगीशरण,२७ बैसाख । दंगीशरण गाउँपालिकामा एसईई दिएर बसेका विद्यार्थीलाइ निशुल्क बृजकोर्ष र कम्प्युटर कक्षा सिकाउन थालिएको छ । गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरेर बृजकोर्ष तयारी कक्षा सुरु गरेको हो ।
तयारी कक्षाको एक कार्यक्रमको आयोजना गरेर दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले सुरु गरेका थिए । कार्यक्रमलाई सम्वोधन गर्दै गाउँपालिका अध्यक्ष गिरीले शिक्षामा आफुले आमुल परिवर्तन चाहेको र आफ्नो पालामा कुनै विद्यार्थी आर्थिक समस्याले पढाइबाट बन्चित हुन नदिने बताए । साथै उच्च शिक्षा अध्ययनका लागि बाहिर जाने विद्यार्थीहरुलाई पालिकाले गाउँमै निशुल्क बृजकोर्षको व्यवस्था गरेको बताए ।
‘उच्च शिक्षा अध्ययनका लागि इच्छुक विद्यार्थीहरुलाई आर्थिक अभावका कारण समस्या नपरोस भनेर वृजकोर्षको व्यवस्था गरेका हौ’,अध्यक्ष गिरीले भने,‘जसले गर्दा बृजकोर्षकै लागि बाहिर जानुपर्ने बाध्यता हटेको छ ।’ यसअघि विद्यार्थीहरु बृजकोर्षका लागि तुलसीपुर र घोराही जानुपर्ने बाध्यता थियो ।
त्यस्तै वडा नं. ६ का वडा अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक रोशनजंग शाहले आफुहरु विद्यार्थीहरुको माग र इच्छाको आधारमा विद्यार्थीहरुलाई फाइदा हुने र सहयोग मिल्ने कार्यक्रमहरु अगाडी बढाउने सोचमा रहेको बताए । दंगीशरणको समग्र शिक्षा अवस्थाको सुधार र गुणस्तरका लागी योजना तथा कार्यबिधि बनाइ अगाडी बढिरहेको बताए ।
अंग्रेजी, बिज्ञान,गणित बिषयका लागी निशुल्क कक्षा संचालन गरिएको उनले बताए । कार्यक्रममै विद्यार्थीहरुले कम्प्युटर कक्षाको माग गरेपछि अध्यक्ष गिरीले विद्यार्थीहरुलाइ कम्प्युटर कक्षा पनि निशुल्क रुपमा कक्षा सञ्चालनको व्यवस्था मिलाईएको बताए ।