Goraksha

National Daily

श्रमिक दिवसमा निजामती कर्मचारी संगठनको सम्मान

गोरक्ष समाचारदाता
दाङ १९ बैशाख । नेपाल निजामती कर्मचारी संगठनले श्रमिक दिवस मनाएको छ । १३४औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा संगठनले तुलसीपुरमा बधाई, सम्मान तथा अन्तक्र्रिया कार्यक्रम समेत आयोजना गरेको थियो । संगठनका जिल्ला अध्यक्ष शेरबहादुर केसीको अध्यक्षता तथा केन्द्रीय उपाध्यक्ष रेवन्त गौतमको प्रमुख आतिथ्यतामा तुलसीपुरमा भएको कार्यक्रममा संगठनले दाङका १० वटै पालिकाबाट ३ जनाको दरले ३० जनालाई सम्मान गरेको छ ।

पालिकामा उत्कृष्ट कार्यसम्पादनका साथै संगठनलाई गतिशील बनाउन महत्वपूर्ण भूमिका खेलेकोमा श्रमिक दिवसका अवसरमा सम्मान गरेको सचिव न्यौपानेले बताए ।.त्यसैगरी संगठनको ३३औं स्थापना दिवसका अवसरमा तथा एमाले पार्टीको ७५औं स्थापना दिवसका अवसरमा विजयी भएका फुटबल खेलाडीहरूलाई समेत उक्त अवसरमा प्रमाणपत्र वितरण गरिएको थियो ।

उक्त अवसरमा निजामती सेवा ऐनका सन्दर्भमा अन्तक्र्रियाका साथै कार्यक्षमता अभिबृद्धिमा सकारात्मक सोच सम्बन्धी प्रशिक्षण कार्यक्रम समेत सम्पन्न भएको छ । प्रशिक्षण कार्यक्रममा उपप्राध्यापक सुन्दर गौतमले प्रशिक्षण दिएका थिए । साथै निजामती सेवा ऐनका बारेमा केन्द्रीय प्रतिनिधि विनोद अधिकारीले प्रस्तुत गरेका थिए । कार्यक्रममा नेकपा (एमाले)की केन्द्रीय सदस्य मेनका पोख्रेल, केन्द्रीय सदस्य घनश्याम पाण्डे, संगठनका केन्द्रीय सचिव बामदेव वली, नगर प्रमुख टीकाराम खड्का, प्रदेश सचिव रामबहादुर वली र जिल्ला इन्चार्ज गोकर्ण वलीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

तुलसीपुर नगर कमिटी सचिव केशव डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संगठनका सचिव बाबुराम न्यौपानेले गरेका थिए । यसैविच तुलसीपुर उपमहानगर कमिटीको अध्यक्षमा हिमाल शर्मा चयन भएका छन् । तुलसीपुरमा भएको भेला तथा कार्यक्रमले शर्मालाई अध्यक्षमा चयन गरेको हो । कोषाध्यक्षमा प्रकाश केसी, सदस्यहरूमा इन्जिनियर मिना योगी, पदम भण्डारी र सिन्धु हमाललाई भेलाले चयन गरेको संगठनका जिल्ला सचिव बाबुराम न्यौपानेले बताए