भुवन पोख्रेल
शासन व्यवस्था र शासकीय चरित्र दुवै फेरेर लोकको जीवन उजिल्याउने उद्देश्यले १९ दिनसम्म देशभर लाखौँ नागरिक उर्लिएर निरंकुश राजतन्त्रले घुँढा टेकेको दिन जनताले लोकतन्त्रको सुनौलो बिहानी देख्न पाएका थिए । डेढदर्जन भन्दाबढी नागरिकले आफ्नो जीवन उत्सर्ग र कैयौँ नागरिक आजीवन घाइते भएर सामूहिक प्रयत्नले लोकतन्त्र आएको हो ।
जनताले मुलुकको मुहार फेर्ने स्वर्णिम सपना देखेर थालेको आन्दोलन र संघर्षले विजयोल्लास मनाउन नपाउँदै जनतामा चरम निराशामा बदलिएको छ । यस बीचमा उपलब्धि नै नभएको भने पक्कै भएको छ । नागरिकको जीवन स्तरमा सुधारमा भने शासकीय प्रयत्न शून्य बराबर छ । आफैले बलिदानी दिएर ल्याउको लोकतन्त्रमा सर्वसाधारण जनले बलिदानी दिएर ल्याएको लोकतन्त्रमा सर्वसाधारण जनताले मतदानका दिन बाहेक कहीँकतै पनि आफूलाई सार्वभौम नागरिकका रुपमा उभ्याउन सक्दैन ।
मुलुकमा रोजगारी, व्यापार, व्यवसाय गरेर दैनिकी चलाउन नसकी विदेशिनलाई विवशता ठान्नुपर्छ । ती नागरिक मुलुकमा काम नपाइ विदेशिन खोज्दा पनि पासपोर्टदेखि सवारी चालक लाइसेन्ससम्म बनाउँदा पनि कैयौँ सास्ती व्यहोर्न अभिशप्त छन् । भ्रष्टाचारले मुलुकलाई धमिराले जस्तो भित्रभित्रै ध्वस्त पारेको छ । पछिल्लो समय आर्थिक मन्दीका कारण अर्थतन्त्रका कतिपय सूचकहरु झस्काउने खालका छन् । न्यायालय आफै विवादित छ ।नेताहरुलाई घरिघरि अदालतले विधिको पाठ सिकाउनु परेको छ ।
नेतृत्वको सत्तालिप्सामा व्याप्त छ । राजनीतिक दल यदि बेलैमा नसच्चिने हो भने नागरिकभित्र गुम्सिएको चरम निराशा कुन रुपमा विष्फोर्ट हुने हो त्यो समयले बताउँछ । लोकतन्त्र अनुभूति जनताले गर्ने हो, नेताले होइन । हाम्रो राजनीति बलियो हुनका लागि लोकतन्त्र बलियो हुनुपर्छ । लोकतन्त्र आफ्नै लयमा अघि बढ्नुपर्छ ।
यहाँ नेताले सधौ जितिरहने लोकतन्त्रले सधैँ हारिरहने परिस्थितिका कारण जनताले लोकतन्त्रको वास्तविक अनुभूति गर्न पाएका छैनन् । निर्वाचनलाई लोकतन्त्रको सौन्दर्यका रुपमा परिभाषित गर्दै आएका छन् । कुनै पनि निर्वाचन लोकतान्त्रिक प्रणालीको उच्चतम अभ्यास हो तर व्यवहारत के निर्वाचनहरुले लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउँदै लागिरहेका छन् त ?
नेपाली राजनीति लोकतान्त्रिक प्रणाली र यसका आदर्शहरुबाट च्यूत हुँदै गएको हाम्रो तीतो यथार्थ हो । लोकतन्त्रले स्वस्थ प्रतिस्पर्धाको माग गर्छ । अस्वस्थ प्रतिस्पर्धा, प्रतिष्ठाको लडाइँ, घृणाको राजनीतिले प्रणालीलाई विरुप पार्छ । शीर्ष नेतृत्व तहमा एकआपसमा इगो, घृणा र गालीगलौजको राजनीतिका अनेक शृंखला हामीले निर्वाचनका देख्यौँ, व्यहो¥यौँ । अब युवा पुस्ता भद्दा गाली र तालीको शृंखलाबद्ध क्रमभङ्ग भइ मूल एजेण्डा र रणनीतिमा केन्द्रित हुनुपर्छ ।
राजनीति मूल मद्दामा केन्द्रित हुनुपर्छ । अबको आशलाग्दो बौद्धिक पुस्ता पनि एकअर्कालाई होच्याउने प्रतिस्पर्धामा उत्रेको देख्दा, घृणाको राजनीति देखिन्छ । भर्खरै सकिएको १० गतेको उपनिर्वाचन पनि मुद्दाविहीन समाप्त भयो । नोहरु आश्वासन बाँड्नमै केन्द्ति देखिए । पुराना दलहरु मात्रै होइन, नयाँ विकल्पसहित आएको दाबी गर्नेहरु पनि छिटो, सत्ता र शक्तिमा पुग्न हतारिएको देखियो ।
तिनले यति मात्र भनेका छन्, ‘पुरानाले गर्न सकेनन्, त्यसैले हामी विकल्प हौँ ।’ तर तिनले पनि भरोसायोग्य विकल्प दिन सकेका छैनन् । राजनीतिमा लागिसकेपछि सत्ता प्राप्तिको ध्येय राख्नु अन्यथा पक्कै होइन तर के हेक्का पनि राख्नुपर्छ भने सैद्धान्तिक जगबिनाको सत्ता प्राप्तिको दौडले लोकतन्त्रको संस्थागत विकासलाई सघाउँदैन । निर्वाचनलाई सत्ता हतियारको माध्यम मात्रै बनाउन खोज्दा लोकतन्त्र बलियो बन्दैन । बरु त्यसको खिल्ली उड्छ भन्ने कुरा बिर्सनु हुँदैन ।
भर्खरैको उपनिर्वचन समाप्तिसँगै समग्र परिस्थितिको विश्लेषण गर्दा लोकतन्त्रलाई ग्रहण गर्न नसक्नुको कारण दल केन्द्रित नभइ व्यक्ति केन्द्ति देखिनु । लोकतन्त्रमा दलहरु र तिनले लिने वैचारिक राजनैतिक आधार र सिद्धान्तको बेलामा हुनुपर्ने हो तर नेपाली राजनीति बिस्तारै व्यक्तिकेन्द्रित हुँदै गएको छ । यहाँ न सिद्धान्तको बहस छ न त विधिको पालना नै । मात्रै व्यक्तिकेन्द्रित प्रवृत्ति हुर्कँदा राजनीति विथोलिएको छ ।
परीक्षण भइसकेका पुराना दल र नेताहरुलाई असफल बनाउँदै वैकल्पिक नयाँ नेतृत्वको चाह देखाउँदै आकर्षक नारातर्फ झुण्डहरु समर्पित भएको देखिन्छ । प्रियवादी, व्यक्तिवादी, देवत्वकरणले लोकतन्त्रलाई टेवा दिँदैन । प्रियतावादी, व्यक्तिवादी, प्रवृत्ति मौलाउँदै जानु भनेको लोकतन्त्रका लागि घातक साबित हुन्छ । भर्खरै समाप्त उपनिर्वाचनमा देखिएको व्यक्तिवादी प्रवृत्तिहरु लोकतन्त्रको विकास पथका ऐजेरु हुन् । अहिले मात्र पलाएका होइनन् ।
निर्वाचनहरु सत्ता र शक्ति प्राप्त गर्ने हतियारमा सीमित भइसकेका छन् । लोकतन्त्रको आन्दोलन र यसको प्राप्तिसँगै यस्ता प्रवृत्तिले जरा हाल्दै जाँदा आज लोकतन्त्र सत्ताकेन्द्रित विषाक्त राजनीतिमा परिणत त भएको छ । संघर्ष र बलिदानबाट लोकतन्त्रको स्थापना कर्मकाण्डी निर्वाचन र कसैलाई सत्तामा पु¥याउने भ¥याङ बनाउन मात्र भएको थिएन । थुप्रै नागरिकको रगत र पसिना सिंचिएर स्थापना भएको लोकतन्त्रले गौरवशाली इतिहास रचेको छ ।
दुःखद् पक्ष के भने लोकतन्त्र प्राप्तिको संघर्षमय इतिहास रच्नसकेको राजनीतिक नेतृत्व यसको सही व्यवस्थापन गर्न र यसलाई बलियो बनाउनबाट चुक्दै आएको छ । लोकतन्त्रका अनेकन बलियो बनाउनबाट चुक्दै आएको छ । लोकतन्त्रका अनेकन हण्डर–ठक्करबाट गुज्रिँदा पनि नेपाली राजनीति परिपक्व हुन सकेको छैन । मुलुकले गतिशील र समृद्ध लोकतन्त्रको अभ्यास गर्नसकेको छैन । आखिर हाम्रो लोकतन्त्रले किन लय गुमाउँदै छ त ?
आजको राजनैतिक संकटका अनेकन कारण र आयामहरु छन्, तीमध्ये केही मूलभूत पक्षमा नेतृत्व पंक्ति चुक्दा लोकतन्त्रको संस्थागत विकास र व्यवस्थापन हुन सकेन । लोकतन्त्र कमजोर हुनुको दुर्भाग्यपूर्ण अवस्था आउनुका अनेकन कारण छन्, तीमध्ये समकालीन नेताहरुको व्यक्तित्वको टकराव पनि हो । नेतृत्व पंक्ति बीचको इगोको लडाइँ आजको समस्या होइन, यो लोकतन्त्रको प्राप्तिसँगै हुर्किएको प्रवृत्ति हो । आम नागरिक समाज कमजोर हुनु भनेको लोकतन्त्र पनि कमजोर हुनु हो ।
लोकतन्त्रका लागि पटक–पटक आन्दोलन गर्नुपरेको विगतको तीतो अनुभवबाट सिकेर अब पुनः लोकतन्त्रकै लागि लड्ने दिन नआओस् भनेर संविधानमा नागरिकका अधिकारलाई सुनिश्चित गरिएको छ तर लोकतन्त्रको अभ्यास जुन तवरले हुनुपर्ने त्यो अनुरुप भएको छैन । यी डेढदशक नियाल्दा त्यो सुखद् देखिँदैन ।
लोकतन्त्रका खास मान्यता हुन्छन् ती मान्यताहरु कहिलेकाहीँ सत्तामा बस्नेहरुका निम्ति व्यवधान देखिएमा दीर्घकालीन दृष्टिकोण लिएर फराकिलो स्थान दिनुपर्छ । विमति राख्ने तप्कालाई साँघुरो पार्दै जाने होइन । उनीहरुलाई सुन्ने र सहमत गराउनु पर्छ । अन्यथा लोकतन्त्रमा खतरा हुन्छ । प्रत्येक शासन गर्ने वा सत्तामा रहनेले त्यो सोच्नु पर्छ ।
लोकतन्त्रले विधिको शासनले जनतालाई आफ्नो पक्षमा बनाउने हो । विधिको शासनलाई आफ्नो पक्षमा लिनुपर्छ, हत्केलामा राखेर हिड्नु हुँदैन । विगतका सरकारले जनआकांक्षालाई संकुचित मात्र गरिएन लोकतन्त्रलाई नै खतरामा पार्ने त होइन भन्ने अवस्था देखिन्छ ।
लोकतन्त्र एउटा प्रक्रिया हो । यसलाई सुदृढ गर्दै हामी अघि बढ्नु पर्छ । जनताको भावना कुल्चेर अघि बढ्ने अधिकार नेतृत्वलाई कहिल्यै हुँदैन । लोकतन्त्रलाई संस्थागत गर्ने भनेको संविधानले हो । संविधानले व्यवस्था गरेको राजनीतिक, सामाजिक, आर्थिकलगायतका अधिकारको अनुभूति नागरिकले गर्न पाए, त्यो नखलबलिई अगाडि बढ्यो भने हाम्रो लोकतन्त्र बलियो भयो भन्ने ठान्ने हो ।
हामीले जुन संविधान निर्माण ग¥यौँ त्यो संविधानको कार्यान्वयन गर्ने, त्यसको रक्षा गर्ने दायित्व लिएर आएका दलहरु र सरकार छन् । आज त्यो संविधानको उल्लङ्घन गर्ने केही समय अगाडिबाट सुरु भएको थियो । अध्यादेश ल्याएर संविधानको जगमै हान्ने काम भएको छ । विश्वका विभिन्न देशमा निर्वाचनबाट शासक निर्वाचित भएर आउँछन् ।
निर्वाचनबाट प्राप्त मतादेशलाई दुरुपयोग गरेर निर्वाचनबाटै सत्ता कब्जा गर्छ । पहिला लोकतन्त्रमा खतरा सेना, विद्रोह वा हतियारबाट हुने गर्दथ्यो, अहिले परिदृश्य बदलिएको छ । अहिले व्यक्तिवादी प्रवृत्ति र लोकरिझाइबाट सत्तामा आउने र त्यसपछि सत्ता कब्जा गर्ने युरोपियनलगायतका मुलुकमा देखापरेको प्रवृत्ति नेपालमा देखापरेको छ ।
संसदबाट आफ्नो अंकगणितलाई प्रयोग गरेर एकपछि अर्को गरी नागरिक अधिकारमाथि प्रहार गर्ने काम नेपालमा भएको छ । सुरुमा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार गर्ने काम भयो र अहिले संविधानका आधारहरु भत्काउने काम भइरहेका छन्, प्रत्येक वर्ष लोकतन्त्र थप असुरक्षित पाइएको छ । अनुदार शासकबाट लोकतन् खतरामा परेको महसुस हुन्छ । जनतामा लोकतन्त्रप्रति निराशा देखिएको छ ।
शान्ति, सुशासन, विकास र भ्रष्टाचार मुक्त समाजको जनताको चाहना र सपना पूरा गर्न सक्यौँ कि सकेनौँ भनेर नेताहरुले समीक्षा गर्दाको सोच, शैली, व्यवहार र आचरण आजका दिनसम्म पनि कायम छ कि छैन ? नैतिक रुपमा हामी कति इमानदार छौँ ? संघ, प्रदेश र स्थानीय तहका बलियो सरकार बनाइसकेपछि पनि जनताको जीवनस्तर उठाउने सक्यौँ कि सकेनौँ ? जनआन्दोलनको सफलता पछि हनुपर्दा मुलुकमा भ्रष्टाचार बढेको छ, नातागोता र आफन्तमा राजनीति केन्द्रित छ ।
नेपाली जनताले किन र कसका लागि त्यत्रो बलिदानी गरेका थिए भन्ने हेक्का नेताहरुले राख्नु पर्छ । लोकतन्त्र अनुसारका हाम्रो आचरण, व्यवहार, शैली भएन भने लोकतन्त्र बलियो हुन सक्दैन । जनतामा गरेका वाचा र सपना पूरा गर्नेतर्फ नेताहरुको ध्यान जानैपर्छ । सरकारप्रति जनताका धेरै नै अपेक्षा र चाहना छन् ।
जनताका सबै चाहना र सपना एकैपटक पूरा नुहँदा जनता केही निराशा र आक्रोश देखिनु स्वाभाविक हो तर पनि लोकतन्त्रका लागि बलिदानी गर्ने ती सहिद र जनताका चाहनाअनुसार अघि बढ्नु र लोकतन्त्रको विकल्प लोकतन्त्र मात्र हो भन्ने सत्यतालाई आत्मबोध गर्नुको विकल्प हामीसँग छैन ।
लोकतन्त्र जति हुर्कँदै जान्छ उति नै परिपक्व हुनुपर्ने हो । हामीकहाँ लोकतन्त्र अझ बढी संकटमा पर्दै गएको छ ।
नेपालको लोकतन्त्रका मूल्य मान्यतालाई शासकले आदर गरी सुरक्षित राख्नु आजको आवश्यकता हो । लोकतन्त्रका नाममा लुटतन्त्र मच्चाइनु शोभनीय हुँदैन । शासकवर्गले जनताका नाममा देशमा लोकतान्त्रिक गतिविधि सञ्चालन गरिरहेको छ । जसको कारण देशमा लोकतन्त्रप्रति वितृष्णा पैदा हुने अवस्था सिर्जना भएको छ । जनताप्रति नै भइरहेको लोकतन्त्रले पनि वितृष्णा जागेको छ ।
लोकतन्त्रको नाममा भ्रष्टाचारलाई संरक्षण दिएर संस्थागत गर्ने काम पनि सरकारबाटै भएको छ । सरकारबाट लोकतन्त्रको घाँटी निमोठ्ने काम विगतमा भएका छन् । यसतर्फ वर्तमान सरकार सचेत हुनु नितान्त जरुरी छ ।