गोरक्ष समाचारदाता
दाङ, ६ बैशाख । नेकपा एमालेको संगठन सुदृढीकरण तथा विस्तार (मिसन ग्रासरूट) अभियान दाङको समीक्षा भएको छ । समीक्षामा एमाले स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशको अभियानको अनुगमनको जिम्मेवारीमा रहेका डा. राजन भट्टराई, जिल्लाका पालिकामा खटिएका केन्द्रीय प्रतिनिधिहरू, पालिका अध्यक्ष र वडामा खटिएका प्रतिनिधिको सहभागितामा अभियानको समीक्षा गरिएको हो ।
जिल्लामा फागुन ९ बाट अभियान सञ्चालन भएको थियो । अभियानअन्तर्गत् केन्द्रीय सदस्यहरूलाई फरक जिल्लाका गाउँपालिका तथा नगरपालिकामा खटाएको थियो । यसैगरेर प्रदेश कमिटी र जिल्ला कमिटीले पनि आप्mना सदस्यहरूलाई फरक–फरक वडामा जिम्मेवारी दिएर खटाएको थियो । पार्टीको संगठन निर्माण, सदस्यता नवीकरण, प्रदान, विकास निर्माण र जनताले प्राप्त गरेका सेवा प्रवाह, अग्रजलाई सम्मान र जनवर्गी संगठन गठन र पुनर्गठनको कामसँगै पार्टीका विचार र नीतिलगायतका बारेमा जनतालाई जानकारी गराउने काम अभियानमा भएका छन् ।
विशेषतः अभियानले पार्टीका गतिविधि टोलसम्म पु¥याउने र जनतामा थप ऊर्जा ल्याउने काम भएको छ’, एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेतले भने । यो अभियानमा विगतमा टोल कमिटी गठन नभएका ठाउँमा यो पटक टोल कमिटी गठन समेत भएको छ तर केही पालिकका वडा र टोलमा भने अपेक्षाकृतको काम हुन सकेको छैन । पार्टीले जिल्ला र प्रदेशबाट जिम्मेवारी दिएर खटाएका प्रतिनिधि नै अभियानमा जोडिने गरेका छैनन् । गाउँमा पुगेका केही प्रतिनिधिले सहजीकरण भन्दा पनि निर्देशन दिने काम गरेको पालिका अध्यक्षहरूको गुनासो छ ।
‘गाउँगाउँमा अभियानले पार्टीलाई चलायमान र पार्टीप्रतिको आकर्षण बढाउने काम गरेको छ’, एमाले शान्तिनगर गाउँ कमिटी अध्यक्ष धनबहादुर केसीले भने । ‘जिल्ला र प्रदेश कमिटीले खटाएका केही प्रतिनिधि गाउँमै जानुभएन । यो अभियानभर कुनै कार्यक्रममा सहभागी नै हुनुभएन’, उनले भने ‘जिम्मेवारी लिएपछि काममा जानुपर्छ तर उहाँहरूको अनुहार गाउँका जनताले देख्न पाएनन् । यो दुःखको विषय हो । यसलाई पार्टीले गम्भीररूपमा लिनुपर्छ ।’ राप्ती गाउँपालिकामा वडा नं. ९ बाहेक अन्य सबै वडामा कार्यक्रम प्रभावकारी भएको छ ।
‘पार्टीका जनवर्गीय संगठनका भेला, गठन, छलफल र सदस्यता नवीकरणको काम भइराखेको छ’, पालिका पार्टी अध्यक्ष मदन अधिकारीले भने । अभियानमा पार्टीको संगठन निर्माणसँगै जनताका समस्या सुन्ने काम समेत भएको छ । ‘सडक, सिंचाइ, स्वास्थ्य र शिक्षामा स्थानीयको माग र गुनासो सुन्ने काम भएको छ’, मिसन ग्रासरुट अभियानमा राजपुरमा खटिएका नेकपा एमाले दाङका स्कुल विभाग प्रमुख विवेक श्रेष्ठले भने, ‘अभियानले जनतासँग जोड्न र उनीहरूको समस्याको पहिचान गर्ने भूमिका खेलेको छ ।’ एमाले घोराही उपमहानगरपालिका सचिव इन्द्रबहादुर बुढाथोकी, तुलसीपुर उपमहानगरपालिका अध्यक्ष माधव वली र बबईका अध्यक्ष टंक विश्वकर्माले बैठकमा अभियानमा भएको कामको रिपोर्टिङ गरेका थिए । यसैगरेर बंगलाचुलीको भेषराज खत्री, लमहीको रतन केसीले रिपोर्टिङ गरेका थिए ।
समीक्षा बैठकमा नेकपा एमालेका स्थायी कमिटी सदस्य डा राजन भट्टराई, पोलिटव्यूरो सदस्य खेममान खड्का, केन्द्रीय सदस्यहरू दीपा शर्मा, शोभा ज्ञवाली, जीवन गौतम, सीता न्यौपाने, प्रदेश सचिव लक्ष्मण आचार्यलगायतको उपस्थिति थियो । एमाले अध्यक्ष हुकुमबहादुर बस्नेतको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो । एमाले उपाध्यक्ष राममणि पाण्डेको स्वागतबाट सुरु भएको बैठकको सहजीकरण सचिव मनोहर बुढाथोकीले गरेका थिए ।