गोरक्ष समाचारदाता
दाङ, २७ चैत । घोराही उपमहानगरपालिकाले गरेको शिक्षक सरुवाबाट उत्पन्न भएको समस्याको समाधान गर्न ५ राजनीतिक दलहरूले आग्रह गरेका छन् । उनीहरूले आइतवार संयुक्त विज्ञप्ति निकालेर यस्तो आग्रह गरेका हुन् ।
विज्ञप्तिमा नेपाल शिक्षक महासंघ र शिक्षकका पेसागत संघसंगठनसँंग सहकार्य नगरी कानुनविपरीत संघीय शिक्षा ऐन नभएको अवस्थामा प्रचलित शिक्षा ऐनसँग बाझिने गरी घोराही उपमहानगरपालिकाले मनोमानी ढङ्गले चैत ८ गते १ सय १ जना शिक्षकलाई गरिएको सरुवाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
सरुवाको बिरूद्ध नेपाल शिक्षक महासंघले गरेको र गर्ने आन्दोलनप्रति ऐक्यबद्धता जनाउने समेत विज्ञपिप्तमा भनिएको छ । तत्काल समस्याको समाधान खोजी गरी सहमति सहकार्यको वातावरण बनाउन सम्बन्धित पक्षलाई अनुरोध गरिएको छ । समयमै समस्याको समाधान नखोजिए राजनीतिक दल समेत विकल्पको खोजीमा पुग्न बाध्य हुने समेत चेतावनी दिएको छ ।
शैक्षिकसत्रको सुरुमा शिक्षकको मनोबल गिर्ने गरी गरिएको सरुवाले शिक्षा क्षेत्र अस्तव्यस्त हुने हुँदा तत्काल कार्यपालिकाले उक्त निर्णय सच्याउन विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा नेपाली कांग्रेस घोराही नगर सभापति तिलक रावत, नेकपा माओवादी केन्द्रका घोराही नगर सचिव भागिदास चौधरी, नेकपा एकीकृत समाजवादी घोराही नगर अध्यक्ष गजेन्द्रसिंह खड्का, नेकपा क्रान्त्किारी माओवादीका घोराही नगर समितिका अध्यक्ष सुशीला घिमिरे, राष्ट्रिय जनमोर्चा घोराही नगर अध्यक्ष हरि खरेलले हस्ताक्षर गरेका छन् ।
यसैबीच नेपाल शिक्षक महासंघको चरणबद्ध आन्दोलनअन्तर्गत आइतवार विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूसँग छलफल गरिएको छ । छलफलले घोराही उपमहानगरपालिका नगर शिक्षा समितिले गरेको सरुवामा विद्यालयबाट रमनापत्र नदिने र विद्यालयमा हाजिरी नगराउने निर्णय गरेको शिक्षक महासंघका सहअध्यक्ष हुमबहादुर रानाले जानकारी दिएका छन् ।