४५औ“ नेत्रज्योति दिवस
बालाराम खड्का
तुलसीपुर, १४ चैत । नेपाल नेत्रज्योति संघले अन्धोपन न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेलेको छ । धेरैले नयाँ संसार देख्न पाएका छन् । नेपाल नेत्रज्योति संघ दाङअन्तर्गत सञ्चालित आँखा अस्पताल तथा उपचार केन्द्रहरूले स्थापनाकालदेखि सन् २०२२ सम्म ३४ लाख ५ हजार बढी बिरामीलाई उपचार सेवा दिएका छन् । २ लाख १२ हजार ६ सय ३४ जनाको मोतियाबिन्दुको शल्यक्रिया भएको, ४१ हजार बढीले निःशुल्क शल्यक्रिया सेवा पाएका छन् भने ३५ लाख बढीले उपचार सेवा पाएका छन् ।
संघ अन्तर्गत् राप्ती आँखा अस्पताल, छन्द कालेबाबु नारायणी आँखा अस्पताल, बहादुरगञ्ज कपिलवस्तु, लमही आँखा अस्पताल र रुकुम, रोल्पा, सल्यान र दाङको कोइलाबासमा आँखा उपचार केन्द्र सञ्चालन भएका छन् । नेपाल नेत्रज्योति संघ दाङ शाखाले ४५औँ नेत्रज्योति दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा सहाभागीले नेत्ररोगीको लागि संघद्वारा सञ्चालित अस्पतालहरू महत्वपूर्ण भएको बताएका थिए । कार्यक्रममा नेपाल नेत्रज्योति संघ दाङ शाखाका सभापति तथा केन्द्रीय सदस्य कृष्णकुमार गिरीले जिल्लाका लमही, तुलसीपुरमा र कपिलवस्तुमा अस्पताल तथा अन्य स्थानमा उपचार केन्द्रहरू सञ्चालन गरी उपचार सेवा दिएको भन्दै गुणस्तरी सेवा जनताले पाएको बताए ।
‘नेपालमा नेत्र ज्योति संघले अन्धोपन न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेलेको छ, यहाँ पनि आँखाका बिरामीहरूले सहज र शुलभ सेवा पाएका छन्’, उनले भने । नेपाल नेत्रज्योति संघ विगत ४५ वर्षदेखि सहज, शुलभ र गुणस्तरीय आँँखा स्वास्थ्य सेवाको माध्यमबाट मुलुकमा विद्यमान अन्धोपनको समस्यालाई न्यूनीकरण गर्ने अभियानमा क्रियाशील रहेको उनले बताए । ‘हालसम्म आइपुग्दा २७ वटा आँखा अस्पताल, १ सय ५० भन्दा बढी आँखा उपचार केन्द्र नेपाल नेत्र ज्योति संघले सञ्चालन गरेको छ’ गिरीले भने ।
अस्पतालबाट वार्षिक ४० लाखभन्दा धेरैको उपचार सेवा र ३ लाखभन्दा धेरैको शल्यक्रिया सेवा पाउने गरेको उनले बताए । गिरीले आँखाका डा. रामप्रसाद पोख्रेलकै सक्रियता र अग्रसरतामा तात्कालीन ‘सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद’ ले नेपाल नेत्रज्योति संघको विधान स्वीकृत गराएर वि.सं. २०३५ साल चैत्र १३ गते एक मुनाफारहित एवम् लोककल्याणकारी गैरसरकारी संस्थाको रूपमा नेपाल नेत्रज्योति संघको स्थापना भएको बताए । कार्यक्रममा नेपाल नेत्रज्योति संघ दाङका सचिव सुरेन्द्रबहादुर खड्काले अन्धोपन न्यूनीकरणका लागि स्थानीय प्रदेश र केन्द्रीय सरकारसँग विभिन्न साझेदारी कार्यक्रम सञ्चालन गरेको बताए ।
उनले सबैको साथ र सहयोगले यस क्षेत्रमा गुणस्तरीय आँखा उपचार सेवा आफूहरूले दिन सफल भएको बताए । ‘संघले आँखा उपचारमा विशेषज्ञ सेवाहरूका साथै सर्वशुलभ र सहजरूपमा स्तरीय आँखा उपचार गर्दै आएको छ’, खड्काले भने । उनले ९० प्रतिशत जनतालाई संघद्वारा सञ्चालित अस्पतालहरूले आँखा उपचार सेवा दिएको बताए ।
कार्यक्रममा संघका सदस्य नेत्रमणि लामिछानेले नेपाल नेत्रज्योति संघअन्तर्गत सञ्चालित आँखा अस्पतालले दिने सेवाबाट नेपाली तथा छिमेकी राष्ट्रका नागरिक पनि प्रभावित भएको बताए । ‘पछिल्लो समयमा संघद्वारा सञ्चालित अस्पतालले घरआँगनमै विशेषज्ञ सेवा दिएका छन्, यसले हामी सबैलाई सहज भएको छ’, उनले भने ।
कार्यक्रममा राप्ती आँखा अस्पतालमा मेसु डा. सन्तोष सुवदीले संघको छाता मुनि रहेर निःस्वार्थ र मानवीय भावनाले प्रेरित भइ सामाजिक सेवामा निरन्तर जुटिरहने आजीवन सदस्यहरू, नेत्र विशेषज्ञहरू, प्यारामेडिकल तथा प्रशासनिक कर्मचारीहरूको योगदान ठूलो भएको बताए । ‘संघमा समाजसेवीहरूको योगदान महत्वपूर्ण छ, आँखा उपचारको क्षेत्रमा योग्दान पु¥याउने सबैलाई धन्यवाद दिन चाहन्छु’, डा. सुवेदीले भने । नेत्र अधिकृत शालिकराम गौतमले नेपाल नेत्रज्योति संघ अन्तर्गत सञ्चालित आँखा अस्पतालहरूले दिएको सेवाको बारेमा जानकारी गराएका थिए ।
नेपाल नेत्रज्योति संघ दाङका सचिव सुरेन्द्रबहादुर खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सहसचिव चीरञ्जीवी रिजालले गरेका थिए । ‘हाम्रो कर्तव्य हाम्रो जिम्मेवारी, आँखा सेवामा साझेदारी’ भन्ने मूल नाराका साथ ४५औँ नेत्रज्योति दिवसमा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
दिवसको अवसरमा फलफूल वितरण तथा नेत्रज्योति टोलका स्थानीयलाई नजिको चस्मा वितरण गरिएको थियो । शल्यक्रिया गरिएका बिरामीलाई फलफूल वितरण तथा ४० वर्ष माथिका १०३ जनालाई लेखपढ र कामकाज गर्न सहज होस् भनेर नजिकको चस्मा वितरण गरिएको नेत्र अधिकृत शालिकराम गौतमले जानकारी दिए । यसैबीच छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगञ्जले पनि फलफूल वितरण तथा नजिकको चस्मा वितरण गरिएको प्रशासकीय अधिकृत जसराज विश्वकर्माले जानकारी दिए ।
त्यस्तै लमही आँखा अस्पतालमा पनि विभिन्न कार्यक्रम गरी दिवस मनाइएको छ । लमही आँखा अस्पताल प्रशासनिक समितिका संयोजक घनश्याम सुवेदीको अध्यक्षता तथा नगर प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले अन्धोपन न्यूनीकरणमा संघद्वारा सञ्चालित अस्पतालले खेलेको भूमिका महत्वपूर्ण भएको भन्दै आफूहरूले पनि अन्धोपन न्यूनीकरणमा सहकार्य गरी अगाडि बढेको बताए । उनले नगरमा कोही पनि अन्धोपनमा जीवन बिताउन नपर्ने भन्दै निःशुल्क उपचार सेवा दिने बताए ।
कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष दामोदर पौडेल, नेपाल नेत्रज्योति संघ लुम्बिनी प्रदेशमा कोषाध्यक्ष लीला शाहलगायतले मन्तव्य व्यक्त गरेका थिए । नेपाल नेत्रज्योति संघका जिल्ला सदस्य शेषमणि गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण कार्यालय सहायक टेकबहादुर चौधरीले गरेका थिए ।