मधुसूदन सुवेदी
मन्त्रिमण्डलको गठनमा देखिने पटक–पटकको रोइलोलाई हेर्दा यस्तो लाग्छ कि देश नै पद र कुर्सीमा नाचिरहेको छ । आजसम्म सजिलै, सहजै र सरलै तरिकाले मन्त्रिमण्डल बनेको इतिहास नै छैन । पटक–पटक मन्त्रिमण्डलमा हुने वार्तैवार्ता र अनिश्चयको भुमरीले यो देशको राजनीति कुर्सी वरिपरि घुमेकोमा शंका नै छैन । कतिसम्म पनि भयो भने यो देशमा ९० दिनसम्म पनि सरकारले पूर्णता पाउन सकेन ।
देशमा संघीयता आउने संघको मन्त्रिमण्डल गठन गर्न नसक्नेले प्रदेशको मन्त्रिमण्डल गठन कसरी गर्लान् ? एउटै व्यक्तिबाट चल्ने हो, एउटै व्यक्तिबाट देश चल्नसक्ने रहेछ त किन संघीयता प्रदेश, स्थानीय भनेर नाटक गर्छन् ? आज देशमा न त प्रदेश सरकार छ न त संघीय सरकार छ, न त स्थानीय सरकारले राम्रो डेलिमरी दिनसकेको छ । यो अवस्थाको सरकार संघीयताको के काम ? यो संघीयता सक्कली हो कि नक्कली ? अब त शंकै लाग्न थाल्यो । यो संघीयता चलाउनुभन्दा देखाउन ल्याएको जस्तो छ ।
स्थानीयको कुरा छाडौँ केन्द्रीय सरकार समेत आज सिंगल प्रधानमन्त्रीका भरमा चल्ने रहेछ । आखिर दुई महिना सिंगल व्यक्तिले हाँक्न सक्नेले सधैँ एकल मन्त्रीले देश चलाए हुन्न ? किन देशको ढुकूटी रित्ताएर मन्त्रिमण्डल पाल्ने ? प्रधानमन्त्रीले आफूले चाहेको बेला र आफूलाई चाहिएको बेला मन्त्रिमण्डल बनाउने कि देश र जनतालाई चाहिएको बेला मन्त्री बनाउने ? सरकारको नियत के हो लामो समयसम्म मन्त्रिमण्डल बिनाको सरकार चलाउँदा देश र जनतामा सन्देश के जाला ? एउटा प्रधानमन्त्रीले कतिसम्म आफ्नो कब्जामा सबै कुरा राख्न सक्ला ?
एकल व्यक्तिले सबै काम हुने भए संघीयता केका लागि ? देशमा आर्थिक संकट पसिसक्यो, अर्थतन्त्र धरापमा परिसक्यो, आज हो कि भोलि देश टाँट पल्टने अवस्थामा छ । यस्तो अवस्थामा किन सरकार नै गठन नगर्ने र देशको अर्थतन्त्रलाई चलायमान बनाउने घोषणा गर्ने भयो, होइन भने कुनै न कुनै दिन मन्त्रिमण्डल विस्तार गर्ने हो भने समयमै गर्नु प¥यो । मन्त्री चाहिने प्रधानमन्त्रीलाई के दिनु र जनतालाई ? एउटा व्यक्तिको स्वार्थका भरमा लामो समय देशलाई सरकार चिहान राख्न पाइन्छ ?
संघीयता भनेको छ, प्रदेशमा सरकार छैन । केको संघीयता ? केन्द्रमा सरकार छैन, केको संघीयता ? खाली मुखले भनेर नाम सबथोक हुन्छ । काम गर्नु पर्दैन, देश कहाँ गयो, थाहा छ ? चुनाव–चुनाव भन्यो पैसा खर्च ग¥यो त्यसको उपादेयता छैन । सरकार–सरकार भन्यो त्यो गठन नै हुन सक्दैन । त्यसको के उपादेयता । कसरी देश चलेको छ ? अहिलेको पछिल्लो समय यस्तो भयो कि यो केटाकेटी भाडाकुटी खेलेको हो कि साच्चिकै देश चलाएको ? गजबको कुरा त के छ भने आजसम्म मन्त्रिमण्डल विस्तार हुन किन सकेन ? भनेर प्रश्न गर्दा वार्ता मिलेन भन्छन् ।
त्यो क–कस बीचको वार्ता हो ? त्यो वार्तामा देश छ ? त्यो वार्तामा जनता छन् ? त्यो वार्तामा नेपाल आमा छिन ? दल–दल, पार्टी–पार्टीका बीच हुने वार्ता कस्तो वार्ता हो ? फेरि ठगन गठन नगरी नहुने सरकारका लागि किन वार्ता ? प्रधानमन्त्रीले विश्वासको मत पाएको प्रधानमन्त्रीले मन्त्रिमण्डल त गठन गर्न सक्दैनन् झन् देशको विकास कसरी गर्छन् ? एउटा प्रधानमन्त्रीले आफ्नो घर चलाउन सक्दैन भने सिङ्गो देश कसरी चलाउने ? आजसम्म देश र जनतालाई असर पार्ने र पर्ने गरी किन सरकार गठन नगरेको ?
प्रधानमन्त्रीले भन्न सक्नु प¥यो कि त यो देश म मात्रैले चलाउँछु, किन भन्नुप¥यो आजको आजै सरकार गठन गर्छु । प्रदेश सरकारले आफ्नो खुसीले सरकार गठन गर्न सकेको छैन । प्रधानमन्त्रीले आफ्नो खुसीले सरकार गठन गर्नसकेको छैन । यो कस्तो खाले संघीयता हो ? यो संघीयता कसका लागि हो र किन हो ? कुनै सरकारको गठनबिना वा कुनै सरकारको विस्तारबिना नै चल्ने देश कस्तो संघीयता हो ? किन यो प्रदेशमा यति बढी नाटक हुनथाल्यो ? (६०) दिन भित्र सरकारले विश्वासको मतको झोली थाप्छ ।
झोली भरिन्छ तैपनि काम गर्न सक्दैन । त्यस्तो प्रधानमन्त्रीलाई लाग्दैन म किन बाधामा । म किन बन्धनमा पर्ने देश र जनताको लागि केही गर्न सकिन्न ? देश र जनताका लागि सिन्को समेत भाँच्न सकिन्न भने किन ठूला–ठूला कुरा गर्ने ? खाली ओँठे भरले देश चल्छ ? काम गरेर देखाउनु पर्दैन ? विश्वासको मतको अर्थ के हो ? खाली मन्त्री बन्नका लागि कि टेन्सन भरेको हो ? प्रधानमन्त्रीलाई विश्वासको मत दिनु भनेको मन्त्री बन्नका लागि फाराम भर्नु हो ।
के हो त विश्वासको मत अर्थ ? खाली आफ्नो लागि मात्र काम गर्ने संघीयता कहाँबाट ल्याएको हो ? यसको निर्माण थलो कुन हो ? यो नेपाल मेड हो कि अन्य कुनै मेड हो ? आजसम्म संघीयता कार्यान्वयन हुन नसक्ने ? केन्द्रीय सरकार चल्नसकेको छैन भने कसरी चल्छ प्रदेश सरकार ? केन्द्रीय सरकार गठन हुन सक्दैन र सकेको छैन भने कसरी बन्छ प्रदेश सरकार ? यो सरकार बिनाको संघीयता कति टोक्छ ? यो देशको हबिगत के हुन्छ ? खाली मुखमा माला लाएर भजन गाएर मात्र देश चल्छ ? देश चलाउने संयन्त्र चाहिँदैन ? देश चलाउने प्रतिबद्धता चाहिँदैन ?