प्रमोद आचार्य
दंगीशरण, १० चैत । दंगीशरण गाउँपालिकाको आयोजनामा पालिकाभित्र रहेका १२ जना माहुरीपालक किसानहरुलाई ५० प्रतिशत अनुदानमा मौरीजन्य उपकरण बितरण गरीएको छ ।
गाउँपालिकाले १५ दिने सुचना जारी गरी आएका मौरीपालक किसानहरुको माग निबेदनका आधारमा मौरीजन्य उपकरण बितरण गरिएको कृषि शाखा प्रमुख शरु भुषालले जानकारी दिएका छन् । एक औपचारिक कार्यक्रमकाबिच १२ जना किसानहरूलाई ७३ वटा मौरीघार टोपी, मौरी घार स्ट्यान्ड लगायतका सामाग्री बितरण गरीएको हो ।
मौरीजन्य उपकरण बितरण गर्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले आफुहरु निर्वाचित भएर आइसकेपछी कृषि शाखा अन्तर्गत मौरीपालक किसानहरुका लागी केही सहयोग मिलोस भन्ने उदेश्यका साथ ५० प्रतिशत अनुदानमा उपकरण बितरण गर्नका लागि १ लाख ५० हजार रकम बिनियोजित गरेको बताए । लगानी बिनाको कामको सही प्रतिफल नआउने हुदा किसानहरुको ५० प्रतिशत र गाउँपालिकाको ५० प्रतिशत अनुदानमा उपकरण बितरण गरिएको बताए ।
त्यस्तै पालिका उपाध्यक्ष पिमा खड्काले किसानहरुको माग र आवश्यकताका आधारमा पालिकाले सहयोग गर्दै आएको बताइन । उपाध्यक्ष खड्काले अन्य व्यवसायभन्दा माहुरीपालन गर्न सजिलो भएको र यसबाट सवैले सजिलै आम्दानी गर्न सकिने बताइन । ‘साझ बिहानको थोरै समयमा पनि गर्न सकिने पेसा हो । महिला,जेष्ठ नागरीकले पनि गर्न सक्छन महुरीपालन’,उनले भने,‘त्यसैले गाउँपालिकाले पनि सहयोग गरेको छ ।’
उपकरण बितरण कार्यक्रममा वडा नं. ७ का अध्यक्ष रेशमबहादुर वली, ३ का वडा अध्यक्ष शुकलाल चौधरी, मौरीपालक किसान तिलकबहादुर डाँगीलगायतले आआफ्नो भनाइ राखेका थिए । कृषि शाखा प्रमुख शरु भुषालको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष सम्भु गिरीको प्रमुख आथित्यता एवं उपाध्यक्ष पिमा खड्का र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमराज भट्टराईको बिशिष्ट आतिथ्यतामा भएको थियो । कार्यक्रमको सहजीकरण कृषि सहायक मानबहादुर डाँगीले गरेका थिए ।