उनी सधै मुस्कान सहित आफ्नो कर्ममा तल्लीन हुन्छन् । सकारात्म सोच र आफ्नो गाउँ–ठाउँमा केही गर्नुपर्छ भन्ने उनी सधैँ आफ्नो कर्म र काममा लिप्त हुन्छन् । तुलसीपुर–१४ करङ्गा निबासी शरद शर्मा मजगैयाँ आफ्नो शिक्षा आरम्भ बाल मितेरी माध्यमिक विद्यालय भोजपुरबाट भएको बताउँछन् । कक्षा ६ देखि १० सम्म दीव्य ज्योति बोर्डिङ स्कूलमा अध्ययन गरेका मजगैयाँले अध्ययन गर्ने विद्यालयमा अतिरिक्त क्रियाकलापमा विशेष जोड दिने गरिएको उनी बताउँछन् ।
अतिरिक्त क्रियाकलापहरूमा आफू सहभागी हुने गरेको र सधैँ प्रथम, द्वितीय स्थान लिने गरेको सम्झिन्छन् । म सधैँ मलाई अगाडि गएर बोल्न सिकायो म सानैदेखि ऐनामा आफूलाई हेर्दै बोल्ने प्रयास गर्थे जतिबेलादेखि रेडियो सुन्न थाले रेडियोमा बोल्ने रहर भित्रैदेखि जागेर आयो, म त्यतिबेला रेडियो नेपालमा आफ्नो सिर्जना पठाउन बाबाआमाले नास्ता खाने भनेर दिएको पैसा बचाएर १ घण्टाको पैदल यात्रा गरेर हुलाकसम्म पुग्थेँ ।
म सानैदेखि कविता कथा लेख लेख्ने गर्थेँ । मैले लेखेका लेख, कविता, कथाहरू पत्रिकाहरूमा प्रकाशित हुने गर्थे र रेडियो नेपालबाट प्रशारण हुँदा मलाई औधी खुसी लाग्थ्यो’ मजगैयाँ भन्छन् । त्यतिबेलाको समयमा गाउँघरमा मेरा लेख रचनाहरू सुनिरहेकाहरूले मेरो प्रशंसा गर्दा झन् मलाई उर्जा मिलेर आउँथ्यो । मेरो पहिलो खुसी रेडियोमा कथा, लेख बज्दा र त्यो सुनाउन पाउँदाको हो’, उनी भन्छन् । दीव्यज्योति बोर्डिङ स्कूलबाट एसएलसी पास गरेपछि उनी अध्ययनको लागि राजधानी छिर्न चाहन्थे ।
बाबाआमाको एक मात्र छोरा भएकाले हुनसक्छ, टाढा पठाउन मन नगरेपछि आफू कलेजको अध्यनको यात्रा महेन्द्र बहुमुखी क्याम्पसबाट सुरुवात भएको बताउँछन् । मजगैयाँले मेजर इङ्लिश विषय लिएर आफूले कलेजको अध्ययन यात्रालाई अगाडि बढाएको भन्दै त्यतिबेलाको समयमा महेन्द्र बहुमुखी क्याम्पसमा अतिरिक्त क्रियाकलापमा विशेष जोड दिने बताउँछन् । म पनि क्रियाकलापहरूमा सहभागी हुने गर्थेँ, विभिन्न क्षेत्रबाट आएका विद्यार्थीको बीचमा आफूलाई चिनाउन सफल हुँदा अर्को खुसी प्राप्त भएको उनी बताउँछन् ।
‘कुनै न कुनै स्थान लिन सफल हुँदा क्याम्पसमा आफ्नो छवि बनाइसकेको थिएँ, आफ्नो पहिचान दिइसकेको थिएँ’, ऊनी बताउँछन् । त्यही समयमा दाङको तुलसीपुरमा तुलसीपुर एफएमको स्थापना भएको उनी बताउँछन् । रेडियोमा शेयर पनि आफूले लगाएको र करिब ५ सय तालिम लिने व्यक्तिहरूको बीचमा आफूलाई सफल व्यक्तिको रूपमा उभ्याउन सफल भएको भन्दै खुसी व्यक्त गरे । ‘मेरो पत्रकारिता अझ बलियो बन्दै गयो, त्यसमा पनि म खुसी भएको थिएँ’, उनी भन्छन् ।
त्यतिबेलाको समयमा रेडियोमा बोल्ने मान्छेलाई भगवान जस्तै मानिन्थ्यो । रेडियोबाट कार्यक्रम चलाएर बाहिर निस्कँदा हेर्नेहरूको भिड हुन्थ्यो । बाटोमा हिड्ने क्रममा शरद शर्मा मजगैयाँ भन्ने मान्छे त्यही हो भनेर औँलाले सिकाउँदाखेरि भित्रभित्रै गर्व लागेर आउँथ्यो । त्यतिबेलाको समयमा मिडियाको संख्या एकदमै न्यून मात्रामा थियो । दाङको कुरा गर्ने हो भने पत्रिकामा गोरक्ष राष्ट्रिय दैनिक, नयाँ युगबोध र रेडियोमा रेडियो तुलसीपुर र स्वर्गद्वारी मात्र थियो’, उनी भन्छन् ।
‘माओवादी युद्ध चलिराखेको थियो, मिडियामा पनि प्रतिबन्ध लगाइन्थ्यो त्यो समयमा । आफूलाई पत्रकारिताको माध्यमबाट जनतालाई चेतना जगाउने काममा सहभागी हुन पाएकोमा आनन्दको अनुभूति भएको उनी बताउँछन् । पछिल्लो समयमा मिडियाको संख्या ह्वात्तै बढ्दै गयो । मिडियालाई व्यवस्थित बनाउनेभन्दा पनि मिडिया खोल्नेको प्रतिस्पर्धा हुनगयो । अनुभवी पत्रकार र बौद्धिक र पाका पत्रकारहरू पाखा लाग्दै गएकोमा दुःख लाग्ने गरेको उनी बताउँछन् ।
‘तपाईँ पनि लामो समयसम्म पत्रकारिता क्षेत्रमा काम गरिराख्नु भएको छ, मिडियाभित्र छिर्नुभयो, गुणस्तरीय पत्रकारको अभाव, दक्ष जनशक्तिको अभाव छ र पत्रकारितामा काम गर्नेको संख्या दिन प्रतिदिन घटिराखेको छ’, उनले भने । दाङले गर्व गर्ने कुरा पत्रकार महासंघको अध्यक्ष पाएको छ । अको¥यावको अध्यक्ष पाएको छ तर पत्रकारको सुरक्षाको लागि पारिश्रमिकको लागि र मिडियालाई व्यवस्थित गराउने सहवालमा यहीँबाट राम्रो सन्देश दिन पाएको भए, राम्रो हुने भन्दै खुसीसँगै उनले दुःख पनि व्यक्त गरे ।
तुलसीपुर–१४ निबासी पत्रकार शरद शर्मा मजगैयाँका दुई छोरी, श्रीमती, बुबाआमा छन् । करिब दुईदशकको पत्रकारिताको यात्रा र डेढ दशकको शिक्षण पेशालाई निरन्तर रूपमा अगाडि बढिराखेको उनी बताउँछन् । ‘म मिडिया र शिक्षण पेसालाई जोड्न चाहन्छु, आजका विद्यार्थी भाइबहिनी मिडियामा आउनुपर्छ, उनको व्यक्तित्व विकास हुनुपर्छ र अन्तरनिहित प्रतिभालाई बाहिर ल्याउन सक्नुपर्छ । हामीले शब्द घोकाउने मात्र होइन, अब व्यावहारिक शिक्षा पनि दिन त्यत्तिकै आवश्यक छ ।
विद्यार्थीहरूको व्यक्तित्व विकास गर्न आवश्यक छ, अन्तरनिहित प्रतिभालाई बाहिर ल्याउनका लागि मिडियासँग विद्यार्थीलाई जोड्नुपर्छ । कक्षामा प्रवेश गर्दा मुस्कान सहित मीठो आवाजमा उनीहरूसँग खेल्दै रमाउँदै पढाउनु पर्छ, आफू पनि खुशी हुने र उनीहरूलाई पनि खुसी बनाउँदै पढाउन सकेपछि प्रभावकारी पनि हुने बताए ।
‘हामीले विद्यार्थीहरूलाई समाजसँग जोडिनुपर्छ, नैतिक शिक्षा सिकाउनुपर्छ, व्यावहारिक ज्ञान दिनु पर्छ, म त्यसैमा लागेको छु, यसैमा म खुसी छु’, मजैयाले भने । उनले देशप्रतिको माया जगाउनुको साटो पछिल्लो अवस्थामा विद्यार्थीहरूलाई विदेशी मोहले तानेको भन्दै दुःख समेत व्यक्त गरे । तुलसीपुर–१४ करङ्गा निबसी मज्गैयाले महेन्द्र बहुमुखी क्याम्पसबाट आफ्नो शिक्षा पूरा गरेको भन्दै अर्को खुसी व्यक्त गरे । आफूलाई मन पर्ने पेसामा रहेर आवाजको खेती गर्दै शिक्षण र पत्रकारिता पेसामार्फत् शिक्षाको ज्योति दिन सकेकोमा औधी खुसी लाग्ने गरेको सुनाए ।
आफूले यो पेसाबाट धनभन्दा पनि इज्जत र आत्मसन्तुष्टि पाएको बताउँछन् । घरपरिवारको न्यानो माया गाउँले जीवन करेसाबारीको काम मलाई साह्रै मनपर्छ’, उनी भन्छन् । सरल र मिजासिलो स्वभावका शरद सामान्य जीवन जिउन चाहन्छन् । उनले आफूले शिक्षाको ज्योति घरआँगनमै फैलाउन पाउँदा खुसी भएको सुनाए । तुलसीपुर १४ करङ्गा निवासी सरद शर्मा मजगैया तुलसीपुर स्थीत मेरी गोल्डस्कुलका शिक्षक तथा पत्रकार हुन् ।
प्रस्तुती : बालाराम खड्का