घोराही,७ चैत । दाङमा प्रहरीले बन्यजन्तुको सुकुटीसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले राजपुर गाउँपालिका वडा नंं. ७ छेरियानाका निवासी ४९ वर्षीय कमानसिंह विकलाई २० केजी ४६० ग्राम बन्यजन्तुको सुकुटीसहित पक्राउ गरेको हो ।
देउखुरीको हुलाकी राजमार्ग अन्तर्गत राजपुर–५ नौसरानाकाबाट मंगलबार बिहान बन्यजन्तुको सुकुटीसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक एवं प्रवक्ता राजनकुमार गौतमले जानकारी दिएका छन् । प्रवक्ता गौतमका अनुसार प्रहरीले सुकुटी प्लाष्टिकको बोरामा राखेर हुलाकी सडकमा हिडिरहेको समयमा उनलाई पक्राउ गरेको थियो ।
‘बन्यजन्तुको सुकुटी बोकेर हिडिरहेको भन्ने गोप्य सूचनाका आधार खटिएको प्रहरी टोलीले नौसरानाकाबाट कमानसिंहलाई प्रकाउ गरेको हो’,जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता गौतमले भने ,‘आज नै सुकुटीसहित कमानसिंहलाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय लमही बुझाएका छौ ।’ जंगली कुन बन्यजन्तु हो, त्यो भने प्रहरीले खुलाएको छैन ।