बालाराम खड्का
तुलसीपुर, ७ चैत । अहिले देशैभरि स्वतन्त्र विद्यार्थी युनियको निर्वाचनले माहोल छ । चुनाव भएका क्याम्पसमा धमाधम मतपरिणाम आइरहेको छ भने केही क्याम्पसहरूमा विद्यार्थी संघसंगठनले सहमतिमा स्ववियु चयन गरेका छन् । केही क्याम्पसमा भने निर्वाचन स्थगन भएको छ । कुनै क्यायाम्पसमा शान्तिपूर्ण ताला लगाएका छन् भने कुनैमा झडप समेत भएको छ ।
यो अवस्थाले विद्यार्थी जगत र राजनीतिक दलहरूबीच समीकरण मिल्नसकेको छैन । नेतृत्व गर्न चाहेका विद्यार्थीहरूको एउटै चाहना छ, शैक्षिक सुधार, कामचोर शिक्षक र कामचोर प्राध्यापकहरू चाहिन्न । उनीहरूको एक मात्रै चाहना छ, क्याम्पसमा शैक्षिक सुधार होस् । यही मिसनमा लागेका विद्यार्थी नेताहरूलाई नेतृत्व दिनुको साटो पार्टीहरू आन्तरिक समीकरण र आन्तरिक गठबन्धनमा लागेका छन् । यसलाई विद्यार्थी संगठनहरूले न क्याच गर्न सके न क्यास गर्नसके । त्यही कारण विद्यार्थी नेता चुन्नेमा पनि ठेकेदारी प्रथा हाबी हुन थालेको छ ।
विद्यार्थीहरूको स्वाभिमान, आफूले गरेको संघर्ष र योगदानलाई भुलेर राजनीतिक नेतृत्व सम्हालेका पार्टीहरूले विद्यार्थी नेतृत्वको चयनमा पनि वैज्ञानिक एवम् वैधानिक प्रणाली अपनाउन नसक्दा विद्यार्थीहरूमा सोसियल ह्युमिलेशन पैदा भएको छ तर यसमा राजनीतिक दलका प्रतिनिधिहरू कत्ति पनि गम्भीर देखिएका छैनन् । साइकोलोजिकल ह्युमिलेशन एउटा सम्बोधन गर्ने विषय हो । यो विषयमा सम्बन्धित राजनीतिक दलहरू गम्भीर हुनु पर्दछ । विद्यार्थी नेतृत्वमा आँच आउने विषयमा राजनीतिक दलले निर्णय गरे त्यो अर्को निरंकुशता हुनेछ ।
विद्यार्थीहरूको साझा मुद्दा भनेको क्याम्पसमा पढाइ होस् भन्ने हो । उनीहरूले त्यस्तै नेतृत्व चुन्न चाहिरहेका छन् तर फेरि पनि विद्यार्थीको हित विपरीत ठेकेदार विद्यार्थी नेतालाई नेतृत्वमा ल्याउन चाहे त्यो असम्भव हुनेछ । अब विद्यार्थी धेरै फरवार्ड भइसकेका छन् । टिक्न सके नेपाल, बिक्न सके आ–आफ्नै च्वाइसको शिक्षा ? स्वतन्त्र विद्यार्थीको यो निर्वाचन टिक्ने र विक्ने शिक्षाका लागि केन्द्रित हुनुपर्ने पनि सबै अभिभावकहरूको चाहना छ ।
दाङ जिल्लामा तीनवटा क्याम्पसमा मात्रै स्ववियु निर्वाचन सम्पन्न भएका छन् । केही क्याम्पसमा चैत ७ र ८ मा हुँदैछ । नतिजा ठूलो कुरा होइन तर विद्यार्थीहरूको शिक्षाको राजनीति र रणनीति एउटा मिशन राजनीतिक दलहरूले ल्याउनुपर्छ भन्ने हो तर भाडाका विद्यार्थीहरूलाई फर्जी भर्ना गरेर विद्यार्थी नेता बनाउने अभ्यास विद्यार्थीहरूका लागि उपयुक्त होइन, यो अशोभनीय पनि हो । यो विषयमा राजनीतिक दल गम्भीर बन्न आवश्यक छ ।
दाङ जिल्लामा धेरै स्थानमा स्ववियु निर्वाचन हुनुपर्ने थियो तर जिल्लामा तीन स्थानमा मात्रै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सौहार्दपूर्ण रूपमा सम्पन्न भएका छन्, केहीमा हुँदैन । त्यसमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा जिल्लाका सबै सुरक्षा निकायहरूको पनि संलग्नतामा निर्वाचन सौहार्दपूर्ण रूपमा सम्पन्न भए । यसमा सुरक्षा निकाय र निर्वाचन समितिलाई धन्यवाद दिनु पर्दछ, ।
‘स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा राजनीतिक दलका नेता हाबी छन् अनि कसरी हुन्छ स्वतन्त्र’ एक विद्यार्थीले चिया पसलमा भन्दै थिए । नेपालको विद्यार्थी राजनीतिको ओझ अत्यन्तै गहकिलो र गर्विलो छ । विद्यार्थी राजनीतिबाट मुख्य राजनीतिमा प्रवेश गरेका नेताहरू नेपाली राजनीतिको संस्थापन बनिसकेका छन् ।
विसं २०३६ सालको जनमतसंग्रहको निम्ति वातावरण बनाउन विद्यार्थी आन्दोलन महत्वपूर्ण थियो । सँगै २०४६ सालको परिवर्तन साथै २०६२÷०६३ को दोस्रो जनआन्दोलनमा विद्यार्थीको महत्वपूर्ण भूमिका थियो । विद्यार्थी राजनीतिको संरचनाका आधारमा क्याम्पसभित्रका र दूरगामी प्रकृतिका विभिन्न मुद्दाहरू छन् । शैक्षिक सँगसँगै विभिन्न भौतिकदेखि क्याम्पसको शौचालयको ढोकामा चुकुल छैन । धारामा पानी आउँदैन ।
पुस्तकालयमा प्रशस्त पुस्तक छैनन् । छात्रवृत्ति वितरणमा मनोमानी छ । यस्ता समस्या क्याम्पसभित्र प्रशस्त छन् । आज त्यो ओझ र गरीमा राखिराख्न विभिन्न दलका भ्रातृ संगठनहरू सशक्त देखिएका भने छैनन् । आज मुख्य दलका विद्यार्थी संगठनहरू आफ्ना मुद्दामा केन्द्रित त छैनन् नै सांगठनिक रूपमा समेत कमजोर देखिएका छन् । विद्यार्थी संगठनभित्र पार्टीको हस्तक्षेप अत्यधिक छ । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा राजनीति दल हाबी भइरहेको छ ।