इन्द्र डिसी / लीलाधर वली
दाङ,४ चैत । जिल्लाका ४ क्याम्पसमा ‘स्ववियुको कमाण्ड’ महिलाले प्राप्त गरेका छन् । ती मध्य दुई क्याम्पस पूरै प्यानल महिला नै छन् । १४ वर्षपछि देशभरका क्याम्पसमा स्वतन्त्र विद्यर्थी युनियनको चुनाव हुँदैछ । चैत ५ गते क्याम्पसहरूमा स्ववियुको चुनाव तय भएको छ ।
चुनावको मौन अवधि सुरु भइसकेको छ । दाङ जिल्लाका २६ क्याम्पसले स्ववियु नेतृत्व पाउँदैछन् । ती मध्य १९ क्याम्पसमा विद्यार्थी संघसंगठनले सहमतिमै नेतृत्व चयन गरेका छन् । जिल्लाको सबैभन्दा पुराना क्याम्पस घोराहीको महेन्द्र बहुमुखी, राप्ती बबई क्याम्पस तुलसीपुर, नेपाल संस्कृति विश्वविद्यालयअन्तर्गत् जिल्लामा रहेका क्याम्पस र अन्य केही क्याम्पसमा विद्यार्थी संघसंगठनले नेतृत्वको लागि प्रतिष्पर्धा गर्दै छन् ।
नेतृत्व चयन भइसकेका क्याम्पसहरूमा बधाई तथा शुभकामना आदान–प्रदानका कार्यक्रम भइराखेका छन् । स्ववियुको निर्वाचनमा परिणामलाई आफ्नो पक्षमा ल्याउनका लागि विद्यार्थी संघसंगठन तथा समूहरू लागिपरेका छन् । स्ववियु निर्वाचन हुने क्याम्पसहरूमा आफ्नो पक्षमा मत तान्नका लागि विद्यार्थीहरू संघसंगठनहरू प्रचारप्रसारदेखि विभिन्न कार्यक्रमहरू गरेर भोट माग्ने काम गरेका छन् । जिल्लाको प्रमुख महेन्द्र बहुमुखी क्याम्पसलगायतका ठूला क्याम्पसहरूमा निर्वाचनका लागि समूह बनाएर विद्यार्थीहरूले प्रतिस्पर्धामा उत्रिएका छन् भने केही क्याम्पसहरूमा भने सर्वसम्मतिमा स्ववियु पदाधिकारी चयन गर्ने काम भइरहेका छन् ।
बबई गाउँपालिकाको पुरन्धारा बहुमुखी क्याम्पस हंसपुरमा स्वतन्त्र विद्यार्थी युनियनको सभापतिसँगै पूरै कार्यसमिति नै महिलाले प्राप्त गरेका छन् । नेपाल विद्यार्थी संघकी नेता गोमा वली स्ववियु सभापतिमा चयन भएकी छिन् । विद्यार्थी ससंघसंगठनकाबीच भएको सहमतिअनुसार पुरन्धारा बहुमुखी क्याम्पस नेपाल विद्यार्थी संघको भागमा परेको थियो । सहमतिअनुसार स्ववियु उपसभापतिमा अनेरास्ववियुकी गोमा केसी, कोषाध्यक्षमा अखिल क्रान्तिकारीकी भीमाकुमारी खड्का, सचिवमा अनेरास्ववियुकी कविता वली र सहसचिवमा अनेरास्ववियुकै अञ्जु केसी निर्विरोध निर्वाचित भएकी छिन् ।
स्ववियु सदस्यमा अनेरास्ववियुबाट हिरा वली, सञ्जु केसी, लक्ष्मी वली, नेविसंघबाट टीका वली, पूजा डाँगी र स्वस्तिका घर्ती निर्वाचित भएका छन् । स्ववियुको सभापतिदेखि सदस्यहरू महिला मात्रै भएको जिल्लाको एकमात्रै क्याम्पस पुरन्धारा बहुमुखी क्याम्पस भएको छ । यो महिलाले मात्र नेतृत्व गरेको नमुना क्याम्पसको रूपमा आएको छ ।
यसैगरेर सिद्धपृथ्वी जनता क्याम्पस दंगीशरणमा पनि स्ववियुको पूरै प्यानलमा महिला निर्वाचित भएका छन् । क्याम्पसको स्ववियु सभापतिमा अनेरा स्ववियुका आरती चलाउने निर्वाचित भएकी छन् । स्ववियु उपसभापतिमा नेविसंघका रम्भा चौधरी, सचिवमा अखिल क्रान्तिकारीका राधा चौधरी, कोषाध्यक्षमा नेविसंघका आसावती चौधरी र सहसचिवमा अनेरा स्ववियुुका बालिका केसी निर्वाचित भएकी छन् ।
सबै पदमा एकल उम्मेदवार परेर शुक्रवार निर्वाचन समितिले निर्वाचित कार्यसमिति घोषणा गरेको थियो । यसैगरेर स्ववियु सदस्यहरूमा समेत लालमती खड्का, यमुना कुमाल, मधु पुन, पूर्णिमा चौधरी र सुमित्रा कार्की चयन भएका छन् । घोराहीको स्पान नेशनल कलेजले पनि स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा महिला प्राप्त गरेको छ । निर्वाचन अधिकृतले शुक्रवार सर्वसम्मत निर्वाचित पदाधिकारीहरूको नामावली प्रकाशन गरेका थिए ।
स्ववियु सभापतिमा अनेरास्ववियुकी सीता घर्ती मगर चयन भएकी छन् । उपाध्यक्षमा माओवादी निकट अखिल क्रान्तिकारीका रामबहादुर परियार र सचिवमा विप्लव निकट अखिल क्रान्तिकारीका टार्जन क्षत्री चयन भएका छन् । कोषाध्यक्ष र सहसचिवमा नेविसंघका निशा डाँगी र भाग्यलक्ष्मी भण्डारी चयन भएका छन् । सदस्यमा पनि सबै संगठनले भागबण्डा गरेका छन् । यसैगरी तुलसीपुरको नोभेक्स इन्टरनेशनल कलेजमा पनि स्ववियुको नेतृत्व महिलाले गरेका छन् ।
स्ववियु सभापतिमा अनेरास्ववियुका डिला शाही सभापतिमा निर्वाचित भएकी छन् । सो कलेजमा विद्यार्थी संघसंगठनले सर्वसम्मत नेतृत्व चयन गरेका हुन् । सर्वसम्मत भएका क्याम्पसहरूका मुख्य पदाधिकारीमा समेत महिला चयन भएका छन् । सभापति पाउन नसकेका क्याम्पसहरूमा समेत अधिकांश महिलाहरू उपसभापति, सचिव र कोषाध्यक्षको जिम्मेवारी प्राप्त गरेको विद्यार्थी संघसंगठनले जनाएका छन् ।
स्ववियुलाई नेतृत्व उत्पादनको रूपमा समेत लिने गरिन्छ भने राजनीतिक थलोभन्दा शैक्षिक विकास तथा समग्र नेपालको भविष्यको योजना विकास गर्ने सबै विद्यार्थीको साझा थलोका रूपमा लिने गरिन्छ । दलीयकरण हुँदा स्ववियु निर्वाचनलाई राजनीतिक पार्टीको इज्जतसँग जोडेर हेर्न थालिएको छ । दलहरूले मिनी संसदीय चुनावको रूपमा समेत लिने गरेका छन् ।
जिल्लामा २६ वटा क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुन थालेको छ । १९ वटा क्याम्पसमा सर्वसम्मतिमै स्वतन्त्र विद्यार्थी युनियनको पदाधिकारी चयनको काम भइरहेको छ भने ७ वटा क्याम्पसहरूमा विद्यार्थी संगठनहरूबीच प्रतिस्पर्धा हुँदैछ ।
महेन्द्र क्याम्पसमा सवैको ध्यान
चैत ५ को स्ववियु निर्वाचनमा सवैको ध्यान जिल्लाको पुरानो महेन्द्र बहुमुखी क्याम्पस भरतपुर घोराही दाङमा छ । राजनीतिक दलदेखि विद्यार्थीहरूको मुख्य ध्यान यसैमा परेको छ । करिव ५८ सय बढी विद्यार्थीहरू अध्ययनरत रहेको क्याम्पसमा ११ औं स्ववियु सभापतिका लागि निर्वाचन हुन थालेको छ ।
त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पका रूपमा रहेको क्याम्पसमा ३८ बर्षअघि २०३८ सालमा पहिलो पटक स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन भएको थियो । देशमा राजनीतिक दलहरू प्रतिवन्ध रहेको अवस्थामा क्याम्पसमा शैक्षिक मुद्धाहरू उठानसँगै विद्यार्थीहरूले आफनो प्रतिनिधि छानेका थिए ।
त्यो बेला महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु सभापति धुर्वराज पुरी निर्वाचित भएका थिए । पुरी यो क्याम्पसको संस्थापक सभापति समेत हुन । नेपाल विद्यार्थी संघका नेता पुरी क्याम्पसमा भएको पहिलो निर्वाचनमा अखिलका विद्यार्थीलाई हराएर पहिलो पटक साविक राप्तीकै मुख्य क्याम्पसका रूपमा रहेको महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु सभापति बन्न सफल भएका थिए । उनको विजयसँगै क्याम्पसमा नेविसंघले २१ बर्ष स्ववियु नेतृत्व सम्हालेको छ । यो विचमा नेविसंघका ९ जना नेताहरूले स्ववियुको नेतृत्व गरेको स्ववियुका पूर्वसभापति समेत रहेका नेपाली कांग्रेस दाङका सभापति शंकप्रसाद डाँगी बताए ।
२१ बर्षको अवधिमा ९ वटा स्ववियु निर्वाचन भए, जसमा एउटा बाहेक सवै निर्वाचन नेविसंघका उम्मेदवारले जितेका थिए । जसमा ०५३ र ०५७ सालमा बहुमत नेविसंघले मिश्रित परिणाम आएपनि अन्य निर्वाचन क्लिनस्विप नै गरेको थियो । २०४३ सालमा किशोर आचार्य, २०४५ सालमा बाशु पन्त, २०४९ सालमा बसन्त देवकोटा, २०५१ र २०५३ मा प्रकाश श्रेष्ठ, २०५५ सालमा शंकरप्रसाद डाँगी, २०५७ सालमा बिष्णु लामिछाने र २०५९ सालमा बालकृष्ण डाँगी स्ववियु सभापति बनेका थिए । (डाँगी सर्वसहमतिमा स्ववियुसभापति बनेका हुन )
२०५९ पछि नियमित रूपमा स्ववियु निर्वाचन हुन सकेन । माओवादी सशस्त्र आन्दोलनको प्रभाव क्याम्पसमा प¥यो र नियमित हुन थालेको स्ववियु निर्वाचन रोकिन पुग्यो । २०६१ सालमा हुनुपर्ने स्ववियु निर्वाचन २०६५ सालमा भयो । ०६५ सालमा भएको स्ववियु निर्वाचनले नेविसंघको स्ववियु यात्रालाई बे्रक लगायो । निर्वाचनमा नेविसंघबाट स्ववियु सभापतिमा उम्मेदवार पवन यादवलाई हराउँदै अखिल क्रान्तिकारीबाट प्रविन शर्मा स्ववियु सभापतिमा बिजयी भए ।
त्यसपछि देशमा देखिएको राजनीतिक अस्थीरताको असर फेरी स्ववियु निर्वाचनमा प¥यो, जसले गर्दा करिव १४ बर्ष स्ववियु निर्वाचन हुन सकेन । जसले गर्दा यहि चैत्र ५ गते स्ववियु निर्वाचन हुन थालेको छ । लामो समयपछि हुन थालेको स्ववियु निर्वाचनलाई आफ्नो पक्षमा पार्नका लागि विद्यार्थी संगठनहरू लागिपरेका छन् । विद्यार्थी संगठनहरूले तालमेल समेत गरेका छन् ।
नेविसंघले लामो समय नेतृत्व गरेको स्ववियु आफ्नो पक्षमा ल्याउन चाहन्छ भने अखिल क्रान्तिकारी २०६५ सालको जितलाई निरन्तरता दिन चाहन्छ । क्रान्तिकारीले अनेरास्वविय र अखिल छैठौसँग तालमेल गरेर निर्वाचनमा होमिएको छ भने नेविसंघलाई समाजवादी निकट विद्यार्थी संगठनले साथ दिएको छ ।
निर्वाचनका लागि महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु सभापतिका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । नेपाल विद्यार्थी संघबाट मनोज डिसी, अनेरास्ववियु, अखिल क्रान्तिकारी र अखिल छैठौँका तर्फबाट हिमाल महरा, विप्लव निकट विद्यार्थी संगठनबाट खुमबहादुर केसी (खुमन), राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनबाट मुस्कान पोख्रेल, स्वतन्त्र विद्यार्थी समूहबाट अभिषेक विष्ट र अनेरास्ववियु छैठौँ (क्रान्तिकारी)बाट सेवक भट्टराईले उम्मेदवारी दर्ता गराएका छन् ।