कमला पोख्रेल
दाङ, ४ चैत । जन्मदा नै बायाँ हात र बायाँ खुट्टा अपाङ्ग भएर जीवन बिताइरहेकी दीपिका पोख्रेलले पढ््न लेख्नमा भने हिम्मत हारेकी छैनन् । घोराही उपमहानगरपालिका–१८ अम्बापुरमा कोठा भाडामा लिएर आमा र भाइसँगै बस्दै आएकी दीपिकाको बुबा विगत ३ वर्षदेखि सम्पर्कविहीन छन् ।
परिवार पाल्नका लागि मुख्य जिम्मेवार बुबा नै सम्पर्कविहीन भएपछि आमा कुसुम पोख्रेलले त्यो जिम्मेवारी बहन गर्दै आएकी छिन् । दीपिका कक्षा ४ मा पढिछन् भने भाइ दिवस पोख्रेल नर्सरीमा पढ्छन् । आफ्नो बस्ने घर समेत नभएपछि अम्बापुरमा कोठा भाडामा लिएर आमा र भाइसँगै बस्दै आएका दीपिकाको परिवारमा साँझबिहानको गुजारा चलाउन समेत कठिन छ । दीपिकाकी आमा कुसुम सानै उमेरमा विवाह गरेकी थिइन् ।
१९ वर्षमै छोरी दीपिकालाई जन्म दिइन् तर उनका बायाँ हात र बायाँ खुट्टा अपाङ्ग छन् । श्रीमान्ले सुरुमा अपाङ्ग छोरी जन्माइस् भनेर श्रीमतीलाई यातना दिने गरेका थिए, पछि आफू नै बेपत्ता भए । श्रीमान् बेपत्ता भएपछि अलपत्र परेकी कुसुम माइतीको शरणमा आइपुगिन् तर माइतीको पनि राम्रो आर्थिक अवस्था थिएन । केही समय बसिन तर एक्लै जीवन चलाउन धौ–धौ भए पनि उनले फेरि अर्को विवाह गरिन् । त्यहाँबाट पनि एउटा छोरा जन्मियो ।
छोरा जन्मिएको १÷२ वर्षमै उनले पनि छोडेर बेपत्ता भए । जसले गर्दा कुसुमलाई अहिले दुई सन्तान पाल्नुपर्ने अवस्था आएको छ । केही आम्दानीको स्रोत नभएपछि बाहिर काम गरेर पालनपोषण त गरेकी छन तर दुई सन्तानलाई पढाउन लेखाउन समस्या भएको उनी बताउँछिन् । ‘गाउँघरमा किसानले गरेको तरकारी खेती गोडमेल गर्ने, मल हाल्ने, पानी चार्ने, टिप्ने, खन्नेजस्ता काम गरेर परिवार पाल्दै आएकी छु’, उनले भनिन्, ‘दुःख–सुख गरेर भए पनि जसोतसो बालबच्चा पालेकी छु ।’
सुनिता ट्रष्ट फाउण्डेशनले छोरीलाई पढ्नका लागि झोला, कापी र कलम सहयोग गरेको छ । फाउण्डेशनले गरेको सानो सहयोग पनि आफ्नो लागि ठूलो भएको उनी बताउँछिन् । ‘छोराछोरीको जन्मदर्ता छैन, घरमा जाऔँ भने सम्पत्ति छैन’, आमा कुसुमले भनिन्, ‘साझ–बिहान खान र छोराछोरीलाई हुर्काउन समस्या छ ।’ उनले छोराछोरीको पढाइको व्यवस्था कतैबाट भए ठूलो राहत मिल्ने बताउँछिन् ।