महापुराणको आयव्य सार्वजनिक

गोरक्ष समाचारदाता
तुलसीपुर, ४ चैत । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ को नयाँ बसपार्क पुल्चोकमा जयशिव महाकाल मानवसेवा आश्रमले आयोजना गरेको श्रीमद्भागवत् महापुराण तथा शिव चर्चा २०७९ को आय–व्यय विवरण सार्वजनिक गरिएको छ । शुक्रवार आश्रमले पत्रकार सम्मेलन गरेर श्रीमद्भागवत् महापुराण तथा शिव चर्चाको आय–व्यय विवरण सार्वजनिक गरेको हो ।

आश्रमका सचिव शम्भु बुढा मगरकाअनुसार फागुन २४ गतेदेखि ३० गतेसम्म सञ्चालन भएको महापुराण तथा शिव चर्चामा ८ लाख ७३ हजार २ सय ६० नगद आम्दानी भएको छ । ८ लाख ८७ हजार ९ सय ९ रूपैयाँ खर्च भएको छ । त्यस्तै महापुराणमा तुलसीपुर उपमहानगरपालिका ९ बेलुवा निवासी रुद्रसिंह खड्का र बिमला खड्काले तुलसीपुर ७ गैरापातुमा रहेको करिब ३० लाख मूल्य बराबरको जग्गा आश्रमलाई दान दिएको पनि उनले बताए ।

यसैगरी उनले आफूहरूको यो पहिलो कार्यक्रम भएको हुँदा आर्थिक रूपमा सोचेजति संकलन नभए पनि आश्रमलाई जग्गा आएको हुँदा आफूहरूको अभियान सफल भएको बताए । महापुराण आयोजना गर्नुको मुख्य उद्देश्य भनेको गत कार्तिक महिनादेखि भोक र प्यास बिरूद्धको निःशुल्क खाना खुवाउने अभियान गर्दै आएको भन्दै उनले त्यसलाई थप व्यवस्थित गर्नको लागि गरिएको बताए । उनले भने, ‘आजसम्म हामीले १३६ दिनसम्म निःशुल्क खाना खुवाउँदै आएका छौँ । यो अभियानलाई थप व्यवस्थित गर्न महापुराणको आयोजना गरिएको हो तर हामी आर्थिक रूपमा सफल हुन नसके पनि भौतिक रूपमा जग्गा पाएका छौँ ।

अब हामी त्यहाँ आश्रम निर्माणको लागि तयारी गर्ने छौँ । यो निःशुल्क खाना खुवाउने हाम्रो अभियान निरन्तर चलिरहने छ ।’ उनले निःशुल्क खाना खुवाउने कार्यक्रमसँगै कपडा बैंक पनि सञ्चालन गर्न लागेको बताए । उनले भने, ‘अहिले गरिब, दीन–दुःखीलाई साँझ–बिहान खाना खुवाउँदै आएका छौँ । हामीले भोक र प्यास मेटाउन कोसिस गरेका छौँ । अब उनीहरूलाई शरीर ढाक्नको लागि कपडा अवश्य छ । त्यसैले कपडा बैंक अभियान सञ्चालन गर्नलागेका छौँ ।’ आश्रमका अध्यक्ष मगरले छोटो तयारीका बावजुत पनि महापुराण सफल भएको बताए ।

उनकाअनुसार आश्रमलाई प्राप्त भएको जग्गाको अहिले बजार मूल्य करिब ३० लाख बराबर रहेको र जसको २३ मिटर लम्बाइ रहेको छ, भने १८ मिटर चौडाइ रहेको छ । उक्त जग्गा तुलसीपुर–७ गैरापातुमा रहेको पनि उनले बताए । उनकाअनुसार जग्गा दान गर्ने दाताले जग्गासँगै डिंग्रे साइकुमारीको मन्दिर निर्माण गरेर आश्रमलाई हस्तान्तरण गर्नेछन् । यस्तै उनले आफूहरूले सञ्चालन गरेको महापुराणमा सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिए ।

उनले पनि आफूहरूको निःशुल्क खाना खुवाउने अभियान निरन्तर चलिरहने र अहिले गासको व्यवस्था गर्दै आइरहेकोमा अव आश्रमले प्राप्त गरेको जग्गामा बासको व्यवस्थाको लागि निर्माण गर्ने समेत बताए । यस्तै कार्यक्रममा निःशुल्क खाना खुवाउने अभियानमा अहिलेसम्म निरन्तर निःस्वार्थ रूपमा सेवा गर्दै आएका आश्रमका सदस्य हिरा सुनारलाई प्रमाण–पत्रले सम्मान गरिएको थियो ।