शिवराज खनाल
लमही, २ चैत । जालपा लघुवित्त वित्तीय सहकारी संस्थाका कार्यकारी निर्देशक बिमला योगीले अर्थतन्त्र सुधार्न महिला उद्यमीहरूले आफ्नो कारोबार सुधारमा ध्यान दिन आग्रह गरेकी छन् । उनले हरेक परिवारका महिलाहरूलाई आयमूलक बन्न समेत सुझाव दिइन् ।
‘अर्थतन्त्र बिग्रिए त्यसको प्रत्यक्ष मार लघुवित्त वित्तीय क्षेत्रमा आबद्ध महिलाहरूले भोग्नुपर्ने अवस्था छ, देशभरका महिलाले थोपा–थोपा गरेर जम्मा गरेको बचत जोगाउन र बिग्रिएको अर्थतन्त्रलाई उकास्न प्रत्येक महिला उद्यमीहरूले आफूले लिएको कर्जाको सही तरिकाले प्रयोग गर्नुपर्छ’, उनले भनिन् । धेरै संघसंस्थामा आबद्ध हुने धेरै ठाउँबाट कर्जा लिने र उद्देश्यअनुसार कर्जाको सदुपयोग नगरी बिलाशितामा खर्च गर्दा कतिपय महिलामाथि ऋणको भार बढ्ने गरेको र यसले परिवारमा समेत हिंसाको वारतारवण सिर्जना भएको समेत बताइन् । हाल देशभर रहेका ६० वटा लघुवित्तमा ५६ लाख महिला संगठित रहेको उनको भनाइ छ ।
लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले इमानदारी, लगनशीलता उच्च नैतिकताका मनोबलका साथ काम गर्नसके जुनसुकै उद्यम व्यवसायबाट पनि सफलता मिल्ने बताइन् । जालपा लघुवित्त वित्तीय संस्थाका लुम्बिनी प्रदेश प्रमुख पवन योगीले महिलाहरूले परियोजनामा आधारित ऋण लिए तापनि ऋणको प्रयोग फरक तरिकाले गर्दा कहीँकतै कर्जामा समस्या देखिएको बताए । उनले उद्यमीहरूले परियोजनाअनुसार नै कर्जाको प्रयोग गर्नुपर्ने बताए । जालपा लघुवित्त वित्तीय संस्थाले राष्ट्र बैंकले तोकेका मापदण्डअनुसार कर्जा प्रवाह गर्ने गरेकोले त्यस विषयमा सचेत रहन उद्यमीहरूलाई आग्रह गरे ।
जालपा लघुवित्त वित्तीय संस्थाका कार्यकारी निर्देशक बिमला योगीको अध्यक्षता तथा लमही नगरपालिकाका नगर उपप्रमुख लक्ष्मी योगीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । सो अवसरमा रेडियो हाईवेका सम्पादक लीला शाह, वडा प्रहरी कार्यालय लमहीका प्रहरी नायव निरीक्षक धनबहादुर केसीलगायतले विचार राखेका थिए । सो अवसरमा लेखाअधिकृत कल्पना कार्की र संस्थाका अनुगमन प्रमुख खगा भण्डारीले उद्यमशीलाको विकास र वित्तीय साक्षरतासम्बन्धी सहजीकरण गरेका थिए । कार्यक्रमको सञ्चालन जालपा लघुवित्त वित्तीय संस्था शाखा कार्यालय लमहीका प्रमुख पुष्पा पण्डेयले गरेकी थिइन् ।