गोरक्ष समाचारदाता
दाङ, २६ फागुन । राष्ट्रिय खोप कार्यक्रम जिल्ला स्तरीय कोभिड खोप एवम् नियमित खोप सुदृढीकरणको लागि समीक्षा र योजनासम्बन्धी अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । पहिलो दिन तुलसीपुर उपमहानगरपालिका र बंगलाचुली गाउँपालिकाका स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको छ । पहिलो चरणको अभियानमा सहजकर्ताले दिएको प्रतिवेदनअनुसार बालबालिकामा शून्य खोप एउटा ठूलो चुनौती देखिएको छ ।
एकदिनमा दुईवटा पालिकाहरूमा रहेका स्वास्थ्यकर्मीहरूको सहभागितामा समीक्षा तथा योजना बनाइने बताइएको छ । कार्यक्रम जिल्ला कोभिड खोप समन्वय समिति जिल्ला समन्वय समिति दाङको आयोजनामा भएको हो । त्यसमा जिल्ला स्वास्थ्य कार्यालयका खोप फोकल पर्शन किशोर आचार्यले सन् २०१६ र सन् २०२२ सालमा गरिएको सर्वेक्षण प्रतिवेदन प्रस्तुत गरे । सन् २००१६ मा २१ प्रतिशतले पूर्णखोप लगाउने गरेको देखिएको छ । प्रतिवेदनमा त्यसमा एक प्रतिशत मात्रै शून्य खोप लगाएका बालबालिकाहरू भेटिएका थिए तर सन् २०२२ को सर्वेक्षणमा भने शून्य खोप लगाउनेको संख्या बढेर ४ प्रतिशत पुगेको छ । यद्यपि पूर्णखोप लगाउनेको संख्या भने केही माथि उक्लेको छ ।
कार्यक्रममा जिल्लामा रहेका पालिकाका स्वास्थ्य शाखाका प्रमुख तथा फोकल पर्शन एवम् वडा स्वास्थ्य कार्यालयका प्रमुखहरूको सहभागिता रहेको छ । कार्यक्रममा कोभिड पहिलो, दोस्रो तथा बुस्टर डोजकोे अवस्था, नियमित खोपको अवस्थाका बारेमा छलफल तथा समीक्षा गरिने र आगामी दिनको लागि योजना समेत निर्माण गरिने भएको छ । सबैलाई बालबालिकाहरूलाई कसरी खोपको पँहुचमा पु¥याउने भन्ने बारेमा समेत योजना बनाएर अगाडि बढ्ने बताइएको छ । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले नागरिकलाई स्वस्थ राख्न राज्यले प्राथमिकता दिएको बताए ।
त्यसैअनुसार रोग लाग्न नदिनका लागि नै खोप निःशुल्क उपलब्धता गराउने गरेको उनको भनाइ छ । ‘राज्यले रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नै नदिनका लागि खोप प्रदान गर्दै आएको छ’, उनले भने । राज्यले सुरु गरेको कार्यलाई सबै मिलेर सफल बनाउनुपर्ने उनको भनाइ छ । नागरिकलाई स्वस्थ राख्न स्वास्थ्यकर्मीहरूले महत्वपूर्ण योगदान दिएको भन्दै खोप कार्यक्रमलाई सबै नागरिकसम्म पु¥याउन सहयोग गर्न आग्रह गरे । ‘कुनै पनि बालबालिका खोप पाउनबाट वञ्चित नहुने गरी योजना बनाएर अगाडि बढनुहोस्’, उनले भने । यस कार्यमा सबैको सहयोग रहने समेत उनको भनाइ रहको छ ।
प्रमुख जिल्ला अधिकारी सुशील बैद्यले विगतमा देखिएका कमजोरीबाट सिकेर अगाडि बढ्नुपर्ने बताए । ‘विगतको सिकाइबाट आउने दिनमा प्रभावकारी काम गर्न सकिन्छ’, प्रमुख जिल्ला अधिकारी बैद्यले भने । राज्यले नागरिकलाई दिएको सुविधा सदुपयोग हुनुपर्ने समेत बताए । खोपको लागि राज्ले धेरै रकम खर्च गरेर ल्याएको भन्दै यसको सदुयोग गर्नुपर्ने उनको भनाइ रहेको छ । कोभिड बिरूद्धको बुस्टर डोज जिल्लामा आएको भन्दै यसलाई प्राथमिकता निर्धारण गरेर लगाउनुपर्ने समेत बताए । स्वास्थ्य कार्यालय दाङका खोप फोकल पर्शन तथा परिवार नियोजन अधिकृत किशोर आचार्यले जिल्लामा कोभिड बिरूद्धको बुस्टर डोज लगाउनेको सङ्ख्या कम रहेको बताए ।
पहिलो र दोस्रो मात्र धेरैले लगाए पनि बुस्टर डोज कम रहेको उनको भनाइ रहेको छ । कोभिडको संक्रमण कम हुँदै गएको कारणले पनि लगाउनेको सङ्ख्या कम भएको हुनसक्ने आचार्यले बताए । पछिल्लो समयमा कोभिडलाई सामान्य रूपमा लिन थालिएको समेत उनले बताए । कार्यक्रमको विषय प्रवेश तथा कार्यक्रमको बारेमा स्वास्थ्य कार्यालयका निमित प्रमुख डम्बरबहादुर कुवँरले जानकारी गराएका थिए ।