गोरक्ष समाचारदाता
तुलसीपुर, २१ फागुन । अपाङ्गता भएका महिलाहरूका लागि पाँचदिने क्षमता अभिवृद्धि तालिम शनिवारदेखि तुलसीपुरमा सुरु भएको छ । शिक्षा तथा खेलकुद मन्त्रालय लुम्बिनी प्रदेशको सहयोग, सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुरको समन्वय र अपाङ्ग सेवा संघको आयोजनामा क्षमता अभिवृद्धि तालिमको आयोजना गरिएको हो ।
अपाङ्ग सेवा संघकी अध्यक्ष देवा डाँगीको अध्यक्षता, लुम्बिनी प्रदेशका पूर्व सांसद शंकर गिरीको प्रमुख आतिथ्यता र तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीको विशिष्ट आतिथ्यतामा सुरु भएको कार्यक्रममा बोल्ने वक्ताले सचेतनामूलक तथा क्षमता अभिवृद्धि तालिम सबैका लागि आवश्यक रहेको बताएका थिए । कार्यक्रममा राष्ट्रिय अपाङ्ग संघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष अजयकुमार शर्मा, अपाङ्गता नगर सञ्जालकी संयोजक तिलसरा पुन, राप्ती बहिरा संघ दाङकी अध्यक्ष रीता चौधरीले स्थानीय तहका सरकारले अपाङ्गता भएकाहरूलाई पनि सामाजिक विकास, विकास निर्माणका योजना तथा नीति निर्माणमा समेत सहभागी गराउनुपर्ने कुरामा जोड दिएका थिए ।
उनीहरूले विकास निर्माणका योजना बनाउँदा अपाङ्गता भएकाहरूलाई पनि सहभागी गराउनुपर्ने र अपाङ्गता भएका महिलाहरूको क्षमता विकास गर्न तालिम आयोजना गर्नुपर्ने कुरामा जोड दिएका थिए । संघकी सल्लाहकार प्रतिमा शर्माले तालिमबारे प्रकाश पारेकी थिइन् । तालिमको प्रशिक्षकमा महिला बालबालिका तथा सामाजिक विकास शाखा तुलसीपुरकी शाखा प्रमुख माया श्रेष्ठ, राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेशका सल्लाहकार प्रतिमा शर्मा, वरिष्ठ अधिवक्ता मोहन धिताल र संघका अध्यक्ष देवा डाँगी छन् ।
४६ जना सहभागी रहेको तालिममा यौनजन्य दुव्र्यवहार विरूद्ध कानुनी उपचारका आधारहरू, अपाङ्गता भएका महिलाहरूले भोग्नु परेका समस्याहरू, महिला आन्दोलन र यसले ल्याएका सकारात्मक अवसरहरू, लैङ्गिगक समानतालगायतका विषयमा सिकाइने भएको छ । संघकी कोषाध्यक्ष नेत्रा वलीको स्वागतबाट सुरु भएको कार्यक्रममा दोभासेको भूमिका स्मृति योगीले गरेकी थिइन् । कार्यक्रमको सञ्चालन संघकी सचिव बसन्ती वलीले गरेकी थिइन् ।