गोरक्ष समाचारदाता
दाङ, २० फागुन । दाङको मुख्य सडक कुइरेपानी–घोराही–तुलसीपुर फोरलेन सडक निर्माणमा चरम लापरबाही भएको भन्दै विगतदेखि प्रदर्शन भइराखेको छ । तर नागरिको प्रदर्शनको त्यति सुनुवाइ भएको छैन । हैरानी भएपछि सांकेतिक विरोध स्वरूप चक्काजाम र सडक डिभिजन कार्यालयमा तालाबन्दी समेत भएको छ ।
शुक्रवार स्थानीयले सडक चक्काजाम गरेर विरोध गरेका छन् । सचेत युवा सञ्जालको आयोजनामा घोराही उपमहानगरपालिका–१० नारायणपुरमा जम्मा भएका युवाहरूले अहिलेको निर्माण व्यवसायीबाट सडकको ठेक्का तोड्नुपर्नेका साथै जति सक्यो चाँडो अलपत्र फोरलेन सडक निर्माण गर्नुपर्ने बताएका छन् । सडक अस्तव्यस्त, खाल्डखुल्डी र धुलाम्य हुँदा सवारी आवागमनसँगै मानिसहरूलाई हिडडुलमा समस्या भएको भन्दै बाध्य भएर आन्दोलनमा उत्रनुपरेको युवा कृश न्यौपानेले जानकारी दिए ।
‘सडक निर्माणमा ठेकेदारको चरम लापरबाहीका चार वर्षदेखि सडक अलपत्र रहेको छ । जसले गर्दा गाडीहरू चलाउनसँगै मानिसलाई हिडडुल गर्न समस्या भइरहेको छ’, उनले भने, ‘गर्मी मौसममा गाडी चल्दा वा हावा चल्दा होस् सडकको धुलो उडेर समस्या हुन थालेपछि बाध्य भएर विरोधमा उत्रिनु परेको हो ।’ विरोधमा सहभागीले सडक अलपत्र पार्ने ठेकेदारसँग सम्झौता तोड्नुपर्ने, सडकको धुलो नियन्त्रण गर्नुपर्ने, सडकलाई चुनावी एजेण्डा मात्रै नबनाउन आग्रह गरेका थिए ।
३० महिनाको अवधिमा फोरलेन सडक निर्माण गर्ने गरी २०७५ माघ १४ मा भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ इन्फ्रा प्रोजेक्टसँग सम्झौता भएको थियो । सम्झौताअनुसार २०७७ बैशाख २९ मा सम्पन्न हुनुपर्ने भए पनि चार पटक म्याद थपिसक्दा पनि सडक निर्माण हुनसकेको छैन । सडक निर्माणमा लापरबाही हुँदा पहिलो पटक २०७८ जेठ ६ गतेसम्म, दोस्रो पटक म्याद थप गरेर २०७९ असार मसान्तसम्म, तेस्रो पटक २०८० असारसम्म म्याद थप भएको छ ।
यसबीचमा सडक निर्माणका लागि सात जना निर्माण व्यवसायी परिवर्तन भइसक्दा समेत सडक निर्माणले गति लिनसकेको छैन । हालसम्म सडकको भौतिक प्रगति करिब १० प्रतिशत मात्रै रहेको छ । करिब गत असार महिनादेखि फोरलेन सडक निर्माणको काम हुनसकेको छैन । संघीय सरकारले भारतीय एक्जिम बैंकको एक करोड २१ लाख ८२ हजार अमेरिकी डलर लागत सहयोगमा चार वर्षअघि लमही–तुलसीपुर सडकलाई चार लेन बनाउने गरी आयोजना कार्यालय लमहीमा स्थापना गरेको थियो ।
पहिलो चरणमा घोराहीको बबई नदीदेखि तुलसीपुरसम्मको २८ दशमलव १९ किलोमिटर सडक विस्तार गर्ने गरी काम सुरु भएको थियो । त्यसमध्ये १४ दशमलव ४ किलोमिटर चारलेन र बाँकी करिब १४ किलोमिटर दुईलेन बनाउने गरी काम सुरु भएको थियो । तर फोरलेन सडक समयमै निर्माण हुन नसक्दा २५ जना नागरिकले सडक दुर्घटनामा ज्यान गुमाइसकेको प्रहरीले जानकारी दिएको छ ।
विरोध कार्यक्रमलाई नारायणपुर उद्योग वाणिज्य संघ अध्यक्ष अभियान बस्नेत, युवा अभियन्ताहरू श्रीधर न्यौपाने, विजयी केसी, छवा बस्नेत, यमानन्द जिसी, सुशील अधिकारीले सम्बोधन गर्दै जतिसक्दो चाँडो बाटो निर्माण गर्न आग्रह गरेका थिए । कार्यक्रमको सहजीकरण बसन्त बस्नेतले गरेका थिए । युवाहरूको भेलाले बसन्त बस्नेतको नेतृत्वमा ४१ सदस्यीय सचेत युवा संघर्ष समूह गठन गरेको छ ।