गोरक्ष समाचारदाता
दाङ,१५ फागुन । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठोरले नेपाल विद्यार्थी संघ नेपाली कांग्रेसको मेरुदण्ड भएको भन्दै मेरुदण्डलाई बलियो बनाउन युवा विद्यार्थीहरु लाग्नुपर्ने बताएका छन् ।
नेपाल विद्यार्थी संघ स्ववियू निर्वाचन–२०७९ केन्द्रीय प्रशिक्षण समितिको आयोजना तथा नेपाल विद्यार्थी संघ दाङको व्यवस्थापनमा घोराहीमा सुरु भएको लुम्विनी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै सहमहामन्त्री राठोरले नेविसंघ कमजोर भए कांग्रेस बलियो हुन नसक्ने बताएका हुन । ‘कांग्रेसको मेरुदण्ड भनेको नेविसंघ हो । मेरुदण्ड कमजोर भयो भने पार्टी बलियो र ठुलो पार्टी बन्न सक्दैन’,कार्यक्रमका प्रमुख अतिथि रहेका राठोरले भने,‘मेरुदण्ड बलियो बनाउन स्कुल तथा कलेजहरुमा नेविसंघको संरचना हुनुपर्छ ।’
पदमा बस्ने संगठन निर्माणमा नलाग्ने नेता संगठनका लागि काम नलाग्ने भन्दै उनले संगठन निर्माणका लागि बिना स्वार्थ नेताहरु लाग्नुपर्ने बताएका हुन । त्यसका लागि अनुसाहित र जिम्मेवार रुपमा युवा विद्यार्थी नेविसंघमा लाग्न आग्रह गरे । ‘लामो इतिहास बोकेको विद्यार्थी संगठन नेविसंघ हो । विद्यार्थीहरुको हकहितसँगै शैक्षिक परिवर्तनका लागि महत्वपूर्ण योगदान रहेको छ’,उनले भने,‘नेविसंघको इतिहासलाई बचाउँदै संगठन र पार्टी निर्माणका लागि युवा विद्यार्थीहरु एकतावद्ध हुन आवश्यक छ ।’
सहमहामन्त्री राठोरले नेपालको बद्लिदो परिस्थीतिमा नेविसंघको महत्वपूर्ण भूमिका रहने भन्दै आउँदै गरेको स्ववीयू निर्वाचनमा नेविसंघलाई बिजयी गराउनका संगठन निर्माणसँगै भावी कार्यदिशा समेत स्पष्ट हुन आवश्यक रहेको बताएका थिए । उनले पार्टीभित्र विकृति रहेको भन्दै विकृतिलाई सुधार ल्याउनका लागि युवा विद्यार्थीहरु नेतृत्वमा आउने गरी अघि बढ्न आवश्यक रहेको समेत उनको भनाई थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य कृष्णकिशोर घिमिरेले बर्तमान सन्दर्भमा विद्यार्थीहरुका साँझा समस्याहरु पहिचान गरेर समाधानका लागि अघि बढ्न सके देशभरका विद्यार्थीहरुको साथ नेपाल विद्यार्थी संघलाई हुने बताए । लामो आन्दोलन र परिवर्तनका लागि योगदान गरेको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ रहेको भन्दै केन्द्रीय सदस्य घिमिरेले आउँदै गरेको स्ववियू निर्वाचनमा जितेर त्यसलाई कायम राख्नुपर्ने बताए ।
‘नेविसंघ प्रजातन्त्रीवादी विचार राख्ने विद्यार्थीहरुको साँझा संगठन हो । यसले राजनीतिक परिवर्तनसँगै पार्टीका लागि ठुलो योगदान रहेको छ’,केन्द्रीय सदस्य घिमिरेले भने,‘त्यसलाई बचाउनका लागि नेविसंघको नेतृत्वमा बस्नेहरु सवै लाग्नुपर्छ ।’ उनले कमजोर आर्थिक अवस्था भएकै कारण पढाईबाट बञ्चित भएका विद्यार्थीहरुको सहराका रुपमा नेविसंघलार्य विकास गर्नुपर्ने बताए ।
नेपाल विद्यार्थी संघका केन्द्रिय अध्यक्ष दुजाङ शेर्पाले बद्लिदो समयसँगै प्रविधिको विकास भएपनि नेपालको शैक्षिक अवस्थामा परिवर्तन हुन नसक्दा ठुलो संख्यामा विद्यार्थीहरु विदेश पलायन
भैरहेको बताए । शैक्षिक सस्थाहरु पुरानै अवस्थामा संचालन हुँदा अध्ययनसँगै रोजगारीका लागि विदेश जाने युवा जनशक्तिलाई स्वदेशमै रोक्ने गरी विश्वविद्यालयहरुले शिक्षा दिने गरी सोच्न आवश्यक छ । ‘ विश्वविद्यालयहरुले कोष परिवर्तन । ‘हाम्रा विश्वविद्यालय तथा क्याम्पसहरुको पढाईमा सुधार आवश्यक छ । समयमै परिक्षा गराउने र रिजल्ट प्रकाशन गर्नेदेखि पढिसकेपछि स्वदेशमै रोजगारी प्राप्त हुने गरि शिक्षा दिनुपर्छ’,उनले भने,‘जसले गर्दा विद्यार्थीहरुले स्वदेशमै अध्ययन गरुन ।’
उनले बर्तमान समयमा विद्यार्थीहरुले भोग्दै आएको समस्या समाधानका लागि नेविसंघ निरन्तर रुपमा लागेको भन्दै आउने स्ववियू निर्वाचनका लागि विद्यार्थीहरुलाई नेविसंघको पक्षमा लाग्न समेत आग्रह गरेका थिए । विगत १५ वर्षदेखि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुन नसक्दा शिक्षा क्ष्ँेत्रमा विद्यार्थीहरुले धेरै समस्या भोग्नु परेको भन्दै उनले आगामी निर्वाचनबाट यी समस्यारु समाधान हुने समेत बताएका थिए । साथै उनले नेविसंघ विद्यार्थीहरुका शैक्षिक मुद्धाहरु समाधानँसगै पहलसँगै देशका लागि योग्य लिडर, प्राविधिक जनशक्ति तयार गर्ने प्लटफर्म समेत भएको बताएका थिए ।
नेपाल विद्यार्थी संघका केन्द्रीय प्रशिक्षण विभाग संयोजक एलिजा ढकाल लुम्विनी अध्यक्षता भएको कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति राजु खनालले भोलिको उज्यालो भविष्य निर्माणका लागि युवा लाग्नुपर्ने बताए । राजनीतिलाई शुद्धिकरणका लागि युवा विद्यार्थीको आवश्यकता रहेको भन्दै उपसभापति खनालले विद्यार्थीमा भएको उर्जा र क्षमतालाई देश विकास लगाउनुपर्ने बताएका थिए । त्यसका लागि विद्यार्थी नेपाल विद्यार्थी संघमा आवद्ध हुन समेत आग्रह गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगी र नेपाल विद्यार्थी संघका प्रशिक्षक प्रमोदहरी गुरागाईलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । नेपाल विद्यार्थी संघ दाङका अध्यक्ष कुलराज पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमका सहभागीलाई विद्यार्थी नेता सिर्जना मल्लले धन्यावाद ज्ञापन गरेकी थिइन । प्रशिक्षण कार्यक्रम सोमवारसम्म चल्ने भएको छ ।
‘विग्रेको सम्वन्धमा सुधार’
नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठोरले राष्ट्रपतिको निर्वाचनले गत निर्वाचनमा संगै लडेका राजनीतिक दलहरुविच विग्रेको सम्वन्धमा सुधार आएको बताएका छन् । नेपाली कांग्रेस दाङले घोराहीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै सहमहामन्त्री राठोरले प्रधानमन्त्री चयनका क्रममा गठबन्धन आवद्ध दलहरुकाविचमा भएको गल्तीलाई अहिले करेक्सन गरेको बताएका हुन ।
‘प्रधानमन्त्री चयनका क्रममा नेताहरुविचमा भएको गल्तीले नयाँ संमिकरण बन्न पुगेको थियो’,महामन्त्री राठोरले,‘अहिले त्यो गल्ती करेक्सन भएको छ । राष्ट्रपतिको निर्वाचनले निर्वाचनमा सँगै लडेका दलहरुलाई फेरी एक ठाउँमा ल्याएको छ ।’ उनले देशमा भएका उपलव्धीहरुलाई सस्थागत गर्दै आर्थिक समृद्धि हासिल गर्नका लागि देशलाई कांग्रेसको आवश्यकता रहेको समेत बताए । त्यसका लागि संगठन बलियो हुनुपर्ने भन्दै उनले नेताहरुलाई टोल तहदेखि नै संगठन निर्माणमा लाग्न आग्रह गरे ।
‘निर्वाचन जित्न र ठुलो पार्टी बन्नका लागि संगठन बलियो हुनुपर्छ । त्यसका लागि पदमा बसेका सवै तहका नेताहरु आफ्नो भूमिका अनुसार खट्नुपर्छ’,उनले भने,‘अरुको रिस र गाली गरेर संगठन बन्दैन । संगठन बन्नका लागि जनताविच नेताहरु पुग्नै पर्छ ।’ उनले पदमा बस्ने तर काम नगर्ने नेताहरु पार्टीलाई नचाहिनेभन्दै नेता हुनका लागि जनताको माझमा पुगेर काम गरैकै हुनुपर्ने बताए ।
‘हामी आफुलाई नेता भन्छौ । तर आफ्नै वडामा पार्टीलाई जिताउन सक्दैनौ । यसरी पार्टी बन्न सक्दैन’,सहमहामन्त्री राठोरले भने,‘पार्टी बनाउनका लागि टोल समितिदेखि नै नेताहरु खट्नुपर्छ ।’ नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण जिल्ला सचिव बालिका लम्सालले गरेकी थिइन ।