गतिछाडा प्रवृत्तिले बढाएको विकृति

नारायण श्रेष्ठ
मानवीय धर्म र संस्कृति मेटिएपछि समाज कति क्रुर र गतिछाडा प्रवृत्तिउन्मुख हुनेरहेछ ती अबोध, निष्कलंकित शुद्ध र सफा मनकी राममायाले थाहा पाउन सकिनन् । सामाजिक अपराध बनेर देखापरेको अहंकार र स्वार्थ प्रवृत्तिले समाजमा देखापर्ने गलत अपराधजन्य दुष्कर्मले छटपटिँदै सामाजिक सदस्य बनेर डराइरहेकी ती अबोध गाउँले परिवेशमा हुर्केकी अवला नारीमाथि समाजले हेर्ने दृष्टिकोण किन परिवर्तन हुन सकेन ?

समाज कहिले फेरिएला ? यो प्रश्न अहिले निकै पेचिलो बनेर छरपष्टिएको छ । दुईखोलीको साँघुरो बस्तीभित्रको त्यो कारुणिक व्यथा र कथा के समाजको लागि चुनौती होइन र ? आडम्बर र मुतेन्यानोजस्तो गरी क्षणिक माया, मोह र लालच देखाउने समाजको विकृति र विसंगति कहिले र कहाँ अन्त्य हुने हो ? क्षणिक आशक्तिमा अल्झिएर भविष्यको सुन्दर संसारलाई अँध्यारोमा लैजाने आचरण वास्तवमा सामाजिक कलंक हो भन्ने बोध किन भइरहेको छैन ? के मानव सभ्यतासँगै आएको परिवर्तीत सत्यले कोल्टे फेर्न खोजेकै हो ? सोझा र निमुखा गाउँबस्तीका ती सफा दिलका धनी मानवीय चेतन शक्तिले कहिले आफूलाई परिस्कृत हुने अवसर पाउने हुन् ? आज सामाजिक चुनौती भएर देखापर्दैछ ।

भौतिक लालच र क्षणिक स्वार्थ अनुभूति गर्ने परम्पराले ल्याएको सामाजिक अपराधको जिम्मेवारी को ? के मानिसको जन्म यही क्षणिकता मात्रै हो ? के सचेत र बुद्धिजीवी मानिसको कुनै जिम्मेवारी छैन ? समाज किन विकृतितर्फ दौडिरहेको छ ? नारी र पुरुषबीचको सम्बन्ध के स्वार्थमा अल्झिएको हो ? शृष्टिचक्रको इतिहासलाई जीवन्त दिने मानव अन्तरमनको सत्य के हो ? नारी र पुरुष रथका दुई पाङ्ग्रा हुन् भन्ने सत्य के स्वार्थबाट परिपोषित भएकै हो त ? नारी आमा हुन्, श्रीमती हुन्, दिदीबहिनी हुन् के यो समाजको मान्यता होइन र ? नारीको ममता र पुरुषको अभिभावकत्वलाई के समाजले बिर्सन खोजेको हो ?

जीवन दर्शनभित्र रहेको सामाजिक संस्कार र संस्कृति एवम् समाजमा स्थापित मूल्य र मान्यताले मार्गनिर्देश गरेको हाम्रो नैतिकता सामाजिक धरातलमा कमजोर हुनुको पछाडि के कारण छ ? के सक्षम नागरिकले नबुझेकै हुन् त ? फाटफुट रुपमा देखिने अपराध र त्यसबाट उत्पन्न गलत मानसिकताको जिम्मेवार स्वयम् मानव अस्तित्व किन नभइरहेको होला ? गल्ती मानिसबाट हुन्छ । रुख चढ्ने लड्छ, नचढ्ने कहिल्यै लड्दैन, यो त सत्य हो नि ! काम गर्दा वा गराउँदा सामान्य गल्ती हुनु स्वाभाविकै हो । के जघन्य अपराध गर्नु पनि सामान्य मानिन्छ र ? सामान्य गल्ती पुनः नदोहोरिने गरी सामाजिक अभियन्ता भएर आदर्श संस्कार र परम्परा बसाल्दै जानु यो मानवीय जिम्मेवारी पनि हो ।

साथै, जघन्य अपराधीलाई कानुनी छुट नदिनु यो पनि विवेकशील प्राणीको जिम्मेवारी हो । तसर्थ, गल्तीलाई आत्मालोचना सहित सुधार्दै समाजलाई सही र स्पष्ट दिशानिर्देश गर्दै यहाँको रहन, सहन, संस्कृति र संस्कारलाई परिमार्जित गर्नु यी सबै मानवीय धर्म र दायित्व हुन् । समाज स्वच्छ र आदर्श गतिउन्मुख तब हुन्छ जब यहाँ देखिएका र देखिने गलत परम्पराको सुदृढीकरणतर्फ सबै सचेत आत्माको ध्यान केन्द्रित हुनु पुग्छ । त्यसैले राममायाले भोग्नुपरेको विवशता जस्तै अरु कसैलाई नपरोस् भनी यहाँ विचार संप्रेषण गरिएको छ ।

पाठक मित्रहरु ! यसभन्दा अघिल्लो अंकमा हामीले ‘शान्ति र खुसीको खोजीमा भौतारिएको मन’ शीर्षकमा दुईखोलीको बारे थोरै कहानी बाहिर ल्याएका थियौँ । हुनेखाने र हुँदाखाने बीचको सामाजिक द्वन्द्वले गाउँबेसी कसरी पिल्सिएको रहेछ ? समाजमा आफूलाई अब्बल दर्जाको भलाद्मी ठान्ने साहेवको गिद्धेदृष्टि तथा चम्चेको चाकडीले विचारमा कति असामाजिक गतिविधि भइरहेका हुँदारहेछन्, यसलाई सामाजिक चुनौती ठानेर अबको नयाँ सोच र चिन्तनमा सकारात्मक भाव जागृत गर्न जरुरी भइसकेको छ । समाज हाम्रो हो । समाजमा जति पनि गलत परम्परा र संस्कारको विकास भएको छ, ती सबै हाम्रै कारणले भएको हो । तसर्थ, आफूले आफैलाई हेरी, मेरो र तेरो नभनी प्रत्येक विवेकशील प्राणीले आफ्नो जिम्मेवारी दायित्व आफैले बुझौँ र आफैबाट सुरु गरौँ । समाजले सही गोरेटो सिर्जना गर्न चाहिरहेको छ ।

हिड्दै घुम्दै जाँदा एक दिन दुईखोलीको छेउकै करिब ३ रोपनी जग्गामा बनेको झुपडीभित्रको कहानी हामीले सुनेका थियौँ । करिब २०–२२ वर्ष अघिको कहानी वास्तवमा कथा नभइ यथार्थमा आधारित सत्य घटनासँग सम्बन्धित रहेको छ । (यहाँ नाम र ठाउँ परिवर्तन भएको छ) २० पुगी २१ वर्ष लागेकी ती कलिलो उमेरकी स्वयम्सविकाले भोगेको सत्य यस्तो रहेछ ः दैनिक ज्यालामजदुरी गर्दै बिताइरहेका कुसबहादुरको परिवारमा दुई छोरी र श्रीमती रहेका थिए । श्रीमती घाँस, दाउरापात गर्दथिन् । घरको चुलोचौकोको काम गर्दथिन् । दुई थान बाख्राको स्याहार गर्दथिन् । कुसबहादुर बजारमा घर बनाउने मजदुरी काम गर्दथे । साना नानीहरु नजिकैको स्कूलमा अध्ययन गर्दै गरेका थिए ।

यसरी सुख, दुःख भोग्दै अघि बढेको त्यो परिवारमा एकदिन बज्रपात हुन पुग्यो । कमाइ गर्ने कुसबहादुर मजुरी गर्ने क्रममा लड्न पुगे । दाहिने हात भाँचिएपछि नजिकैको अस्पतालमा लगी उपचार गर्नुपरेको रहेछ । खर्च बढी हुने देखिएपछि मालिकले वास्ता गर्न छोडेछन् । हात भाँचिएपछि केही दिन घरमै आराम गर्नुपर्ने भएछ । यसरी आराम गर्नुपर्दा भइरहेको कमाइको धेरथोर बचत रकम सकिएछ । केटाकेटी साना थिए । श्रीमतीले मात्र कति धानून् ? उनीहरुलाई खान र बस्न धौ–धौ पर्नथाल्यो । यस्तै हुँदै थियो, यो कुरा गाउँघरकाले थाहा पाएर पनि खासै सहयोग गर्न सकेनन् । हुँदा–हुँदा पल्लो गाउँका भलाद्मीले पनि यो कुरा थाहा पाएछन् ।

(वास्तवमा त्यो भलाद्मी सबैको नजरमा धनी र शोषक पनि थियो) अप्ठेरो परेको बेला सहयोग गर्नुपर्छ भन्दै त्यो भलाद्मीले नजिकैको त्यो २–३ रोपनी जग्गामा आँखा लगाउन पुगेछ । यसरी आँखा लगाइसकेपछि मुखमा राम राम बगलीमा छुरा ऊ पनि त्यो बस्तीको कुसबहादुरकहाँ पुगी गोहीको आँसु झार्दै कुसबहादुरलाई भनेछ – कठै ! के भयो ? यसरी लालोपोतो पार्दै अरुलाई सहयोग गरेझै गरेर भनेछ – हे कुसबहादुर ! किन आत्तिएको ? एकआध महिनामा तेरो हात सन्चो भइहाल्छ नि । फेरि कामकाज गर्न सक्छस्, कमाइ धमाइ भइहाल्छ । कमाइ गरेर रकम तिरे भइगयो ।

अहिले बरु केही रकम सापटी ले र काम चला । यो वाक्यले कुसबहादुरको परिवारलाई केही राहत महसुस भयो । त्यो शोषकको मनभित्र पस्न नसकेको सोझो गाउँलेले उसँग रुपैयाँ सापटी लिँदै सेतो कागजमा ल्याप्चे लगाउन पुगेछ । त्यसरी रकम प्राप्त भएपछि त्यो परिवारले कुसबहादुरलाई सहरको अस्पतालमा पु¥याएछ । त्यहाँ पु¥याउँदा उसको दाहिने हात भाँचिनुका साथै छातीमा समेत रोग बल्झिएको थाहा भयो । औषधीमुलो धेरै गरे, रकम सकिँदै गयो । कुसबहादुरको परिवारले त्यो शोषकसँग रकम सापटी बढाउँदै गए ।

यही निहुमा एकदिन कुसबहादुरले संसार छोडे । अब पैसा पनि स्वाह र खेत पनि स्वाह हुने अवस्थामा त्यो परिवार पुग्यो । भलाद्मीले त्यो जग्गा आफ्नो नाममा गरायो । परिवार विचल्ली हुन गयो । आमाले ढुङ्ग कुट्ने मजुरी गर्न थालिन्, हामीले पनि सघाउँदै गयौँ । यसरी दुःख जेलो गर्दै थियौँ । त्यहाँ फेरि अर्काे शोषकको आँखा लाग्यो । आमा त्यस्तै ३६÷३७ वर्षकी थिइन् होला । होटेलमा काम गराउन र साना नानीलाई खान र बस्न पनि सजिलो हुने भनी उसले आमालाई फकाएछ । आमा पनि खोलाको गिट्टी कुट्नुभन्दा होटेलमा काम गर्नु राम्रै होला भनेर हामीलाई लिएर त्यहाँ पुगिन् । त्यहाँ के भएन ?

होटलवालाका साथै सहरका धनाढ्य र बुद्धिजीवी वर्ग समेतले मेरो आमाको अधवैँसे जवानीको रस चुसे । शारीरिक, मानसिक सबै कुराले शोषण गरे । हामी केही बुझ्ने भइसकेका थियौँ । यस्तो अवस्था हामीलाई असैह्य भयो । हामीले हाम्री आमालाई पुनः खोलाको छेउमै बसेर गिट्टी कुट्ने सल्लाह गरी जीवन धान्न थाल्यौँ । अशक्त आमाले एक दिन संसार छोडिन् । दैवसंयोग त्यहाँ मेरो लागि भगवान् प्रकट हुनुभयो । मरिसकेको आशामा दियो बल्यो । म अहिले स्वयम्सेविका भएर शोषक र सामन्तीविरुद्ध जनमत तयार गर्दै छु । सबैको भलो गर्दैछु । बहिनी अन्तै विवाह गरेर गइन् … यति भन्दाभन्दै उनी भक्कानिएर रोइन् अरु केही भनिन् । पाठक मित्र अब आफै सोच्नुस्, दुःख कसलाई पर्दैन र ? सुख दिने वहानामा शोषण गर्नु के उपयुक्त हो ? त्यो परिवारमा के बित्यो होला ? चेतना भया ।