जाने बुझेकाले नै औषधी नखादा समस्या

गोरक्ष समाचारदाता
तुलसीपुर,९ फागुन । जिल्लामा हात्तीपाइले रोगको संक्रमण दर घटाउन भन्दै विगत ६ वर्षदेखि हात्तीपाइले विरूद्धको नियमित औषधी खुवाउने कार्यक्रम चलिरहेको छ । तर बुझेकैले साँझ खान्छु भन्दै पोका पारेर औषधी घर लग्दा त्यो साँझ कहिल्यै नआएको स्वास्थ्यकर्मीहरू बताउँछन् । जिल्लामा हात्तीपाइले रोगको संक्रमण दर नघटेपछि दाङमा फेरि पनि औषधी खुवाइने भएको छ ।

तुलसीपुर उपमहानगरपालिकाको जनस्वास्थ्य प्रबद्र्धन शाखा हलवार स्वास्थ्य चौकीले तुलसीपुर–४ रक्षाचौरमा आयोजना गरेको समुदाय स्तरीय बहुनिकाय अभिमुखीकरण गोष्ठीमा सहभागीले जाने बुझेकैले औषधी सेवन नगर्दा समस्या भएको बताएका थिए । स्वास्थ्यचौकीका इञ्चार्ज शिवबहादुर तिवारीले हात्तीपाइले रोगको संक्रमण दर नघटेपछि फेरि समय थप गरी यो अभियान सुरु गरिएको भन्दै सबैलाई यसमा साथ दिन आग्रह गरे ।

हात्तीपाइले रोग विरूद्धको औषधी खाऔँ अशक्त, अपाङ्ग र कुरूप गराउने दीर्घ रोगीबाट आफू पनि बचौँ र अरूलाई पनि बचाऔँ’ भन्ने अभियान सहित यो कार्यक्रम फागुन ११ गतेदेखि सुरु हुने उनले बताए । उनले वडामा ११, १२ र १३ गते हात्तीपाइले रोग विरूद्धको औषधी खुवाउने कार्यक्रम रहेको जानकारी दिए । ‘जाने बुझेकैले साँझ खान्छु भनेर पोका पार्ने कार्यले गर्दा यो अभियान सफल हुन सक्दैन, यो औषधी खाएपछि कोहप् कसैलाई केही हुन्न’, उनले भने ।

उनले हात्तीपाइलेको जस्तो औषधी विभिन्न पटक मानिसले प्रयोग गरेको भन्दै ढुक्क भएर सेवन गर्न आग्रह गरे । औषधी दुई वर्ष मुनिका, गर्भवती, सात दिनको सुत्केरी, सिकिस्त बिरामीले खान नहुने स्वास्थ्यकर्मीहरूको भनाइ छ । साथै औषधी खाली पेट नखान समेत उनले आग्रह गरेका छन् । ‘औषधी खान मिल्ने सबैले औषधी खानुपर्छ, आम औषधी सेवन अभियानलाई सफल पार्न म सबैलाई अपील समेत गर्छु’, उनले भने ।