क्षतविक्षत सडकमा नागरिक अल्टिमेटम

अमरराज आचार्य
दाङ,९ फागुन । घोराहीको मुटुमै रहेको कटुवाखोला—डिके पम्पलगायत डिभिजन सडक कार्यालयले हेर्ने जिल्लाका अन्य सडकहरूको अवस्था पनि क्षतविक्षत भएपछि सडक स्तरोन्नतिका लागि नागरीकहरूले अल्टिमेटम दिएका छन् । त्यसका लागि घोराहीको सडक डिभिजन कार्यालयमा एक घण्टा अल्टिमेटम स्वरूप ताला लगाइएको हो । मंगलवारसम्म पनि मर्मतको काम सुरु नभए नागरिक सडकमै सुतेर विरोध गर्ने चेतावनी समेत दिएका छन् ।

संघीय सरकारको भौतिक निर्माण मन्त्रालय, यातायात विभाग, यातायात विभाग मातहतकै रोड इम्प्रुभमेन्ट परियोजना, परियोजना मातहतको लमहीमा रहेको चारलेन सडक परियोजना कुनै पनि निकायले यसमा कुनै गाम्भीर्यता नदेखाएपछि नागरिक बाध्य भएर सोमवार बिहान एक घण्टा घोराही स्थित सडक डिभिजनको कार्यालयमा ताला समेत लगाएका छन् ।

जिल्लाको घोराही तुलसीपुर, घोराही–लमही सडक चारलेन तथा अरु सडक निर्माणमा भइरहेको ढिलाइका कारण नागरिकले दुःख पाएको भन्दै कार्यालयमा तालाबन्दी गरेका हुन् । सिद्धार्थ गौतम टोल विकास संस्था, वयलडाँडा चौतारी क्लवको नेतृत्वमा नागरिक अगुवा, स्थानीयबासी, व्यवसायी, राजनीतिक दलका नेता तथा सर्वसाधारण सहित कार्यालयमा पुगेका टोलीले बिहान १० बजेदेखि ११ बजेसम्म मूलगेटमा ताला लगाएर कर्मचारीलाई कार्यालय प्रवेशमा समेत रोकेका थिए । ११ बजेपछि ताला आफै खोलिदिएका थिए । समयमा सडक निर्माण नहुँदा सडक दुर्घटना हुँदा धेरैले ज्यान समेत गुमाइसकेका छन् भने धेरै अङ्गभङ्ग भएका छन् ।

सडक निर्माणका क्रममा निर्माणको काम अल्पत्र बनाउँदा नागरिकले दुःख पाएको भन्दै सडक कार्यालयमा ताला लगाउनुपरेको आन्दोलनका अगुवा नारायणप्रसाद भुसालले बताए । पटक–पटक सडक कार्यालयमा जानकारी गराएर समस्याको समाधान गर्न माग गरे पनि काम हुन नसकेपछि आफूहरू बाध्य भएर कार्यालयमा १ घण्टा ताला लगाइएको उनको भनाइ रहेको छ । ‘लिखित तथा मौखिक रूपमा समस्याको समाधान गर्न माग गरे पनि राज्यले नसुनेपछि राज्यलाई सुनाउन कार्यालयमा ताला लगाएका हौँ’, भुसालले भने । सडकका बारेमा जिल्लादेखि केन्द्रसम्म जानकारी गराए पनि काम सुरु हुन नसकेको उनको भनाइ रहेको छ ।

‘सडक कार्यालयका प्रमुखदेखि भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसम्मबाट आश्वासन पाइयो तर काम भएन’, उनले भने, ‘हामीले कहिले आश्वासनको विश्वास गरेर दुःख पाइरहने हो’ । त्यसैले नागरिक सडकमा आएको उनले बताए । यदि राज्यले काम गर्न सक्दैन भने नागरिकले आफै काम गर्न समेत तयार रहेको भुसालले बताए । ‘नागरिकले एक÷एक रूपैयाँ उठाएर सडक निर्माण गर्न तयार रहेका छन्, यसरी अहिलेसम्म दुःख पाइरहने’, उनले भने । काम सुरु नभए थप आन्दोलनका कार्यक्रम अगाडि बढाइने उनको भनाइ रहेको छ ।

आन्दोलनमा सहभागिता जनाउन पुगेकी घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीले नागरिकले जायज माग उठाएको बताइन् । यसमा आफ्नो पनि समर्थन रहेको समेत बताइन् । नागरिकले उठाएको मागको सम्बोधन राज्यले गर्नुपर्ने उनको भनाइ रहेको छ । ‘सडक निर्माणका क्रममा समस्या भएको हो भने त्यसका बारेमा स्पष्ट रूपमा नागरिकलाई जानकारी दिनुपर्दछ, होइन भने समयमा निर्माण सम्पन्न गर्न सक्नुपर्दछ’, उपप्रमुख डिसीले भनिन् । चारलेन सडक स्थानीय सरकारको अधिकारभित्र नपर्ने समेत बताइन् । स्थानीय सरकारलाई बजेट सहित अधिकार दिएमा स्थानीय सरकारले काम गर्ने समेत उपप्रमुख डिसीले बताइन् । ‘बजेट र अधिकार दिएमा हामी काम गर्न तयार छौँ’, उनले भनिन् ।

प्रजातान्त्रिक उद्यमी संघ घोराहीका अध्यक्ष मानु केसीले सडकका कारणले सडक छेउमा रहेका व्यवसायी विस्थापित हुने अवस्था रहेको बताए । लामो समयदेखि जिल्लाबासीले दुःख पाइरहेको उनको भनाइ रहेका छ । ‘सडकका बारेमा पटक–पटक छलफल गरियो तर छलफलमा मात्रै सीमित भयो’, उनले भने । सडक निर्माणको काम हुन नसकेको उनले बताए । सडक निर्माण नहुँदासम्म दबाबलाई निरन्तारता दिनुपर्ने समेत बताए ।

नेपाल कम्युनिस्टका केन्द्रीय सदस्य सम्झना विकले जनताको सरोकारका विषयमा राज्य गम्भीर हुनुपर्ने बताइन् तर राज्य गम्भीर हुन नसकेको उनको भनाइ रहेको छ । ‘समयमा काम नहुनुका कारण जवाफ कसले दिन्छ ?’, उनले भनिन् । अहिले धुलोको कारणले धेरै नागरिकको स्वास्थ्यमा समस्या भएको उनको भनाइ रहेको छ । स्वस्थ वातावरणमा बाँच्न पाउनु नागरिकको अधिकार रहेको समेत उनी बताउँछिन् ।

सिद्धार्थ गौतमनगर टोल विकास संस्थाका अध्यक्ष चित्रकान्त आचार्यले पटक–पटक आफूहरूलाई झुक्याउने काम मात्र भएको बताए । ‘हामीलाई पटक–पटक भुक्याइयो, अब कुनै पनि हालतमा हामी चुप लागेर बस्ने छैनौँ’, उनले भने । आन्दोलनलाई निरन्तरता दिइरहने समेत उनले बताए । ‘समयमा सडक निर्माण नगरेर दुर्घटनाबाट जनतालाई मार्ने काम भइरहेको छ’, उनले भने । त्यसैले आफूहरू बाध्य भएर सडकमा आएको उनको भनाइ रहेको छ ।

भोलिसम्म पनि काम गर्न सुरु नगरिए बुधवार सडकमै सुतेर चक्काजाम गरिने आन्दोलनको नेतृत्वकर्ताले जानकारी दिएका छन् । यसअघि पनि घोराही–तुलसीपुर चारलेन सडकमा परेका खाडल नागरिकले पुरेका थिए । दुर्घटना बढ्दै गएको भन्दै उनीहरूले व्यक्ति, संघसंस्थाहरूको सहयोगमा बाटोमा परेका खाडल पुरेका हुन् । जिल्लाको गौरवको आयोजनाको रूपमा रहेको चारलेन सडक समयमा निर्माण हुन नसक्दा धेरै जनधनको क्षति भएको छ । तालाबन्दीपछि आयोजना गरिएको कोणसभामा शिवशंकर देवकोटा, मिनराज घिमिरे, नुमान्द आचार्य, मोहनलाल बस्नेतलगायतले भनाइ राखेका थिए । कार्यक्रमको सहजीकरण भूपेन्द्र भुसालले गरेका थिए ।