संगठनलाई बलियो र चलायमान बनाउन जोड
शिवराज खनाल
दाङ, ५ फागुन । नेपाली कांग्रेसलाई बलियो र चलामायमान संगठनका रूपमा विकास गर्नका लागि कांग्रेसका नेता तथा कार्यकर्ताहरू तल्लो तहदेखि जिल्ला तहसम्मका सवै नेता तथा कार्यकर्ताहरू इमान्दार रूपमा लाग्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस लमही नगर समितिको प्रथम नगर सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरूले त्यसका लागि विगतमा भएका कमीकमजोरीलाई सच्याएर अघि बढ्नुपर्ने धारणा राखेका थिए ।
सम्मेलनमा बोल्ने वक्ताले स्थानीय प्रदेश र सघीय निर्वाचनको बेलामा टिकट वितरण गर्दादेखि गएको मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधि शभा सदस्य निर्वाचनका बेला भएको गठबन्धन त्यसबाट प्राप्त मतपरिणामका साथै संसदमा ठूलो दल भए पनि सरकार बाहिर बस्नुका कारण र त्यसबाट उत्पन्न परिणामको विषयमा नेताहरूले खुलेर आ–आफ्नो धारणा राखेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले कांग्रेस बलियो भएर सरकारमा जानसके मात्र लोकतन्त्रलाई बचाउन र संविधानको रक्षा गर्न सकिने बताएका छन् । चौधरीले भाषण गरेर मात्र नहुने भन्दै कांग्रेसलाई संगठित र व्यवस्थित पार्टी बनाउनका लागि कमजोरीलाई सुधार गर्दै अघि बढ्नुपर्ने बताएका थिए । उनले कम्युनिस्टहरूले देशको विकास र रोजगारीका अवसरहरू कहिल्यै पनि सिर्जना गर्न नसक्ने भन्दै युवालाई रोजगारी र देशको आर्थिक विकासका लागि कांग्रेसको विकल्प नभएको बताए ।
कार्यक्रमका विशिष्ट अतिथि नेपाली कांग्रेसका अर्का केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेले विगतका कमीकमजोरीलाई सच्याएर अघि बढ्न आवश्यक रहेको भन्दै नेता तथा कार्यकर्तालाई इमानदार भएर संगठन निर्माणको अभियानमा जोड दिनुपर्ने बताए । नेपाली कांग्रेस दाङका जिल्ला शभापति शंकरप्रसाद डाँगीले पाटी संगठनको मुख्य लक्ष्य सरकार बनाएको भन्दै त्यसका लागि पहिले संगठनको आधार बलियो बनाउनुपर्ने बताए । त्यसका लागि संगठन बलियो बनाउन शुभेच्छुक संघसंस्थामा मात्र नभइहरेक सामाजिक संघसंस्थामा नेपाली कांग्रेसका सक्रिय सहभागिता हुनुपर्ने बताए । उनले पार्टीका भ्रातृ संगठनहरू चलायमान नरहेको अवस्थामा पार्टी पनि कमजोर हुने भन्दै संगठनलाई चलायमान बनाउन नेतृत्वदेखि जिम्मेवारीमा बसेका सबै लाग्नुपर्ने बताएका थिए ।
कार्यक्रममा लुम्बीनी प्रदेश सभा सदस्य लोका विकले विगतमा भएका गल्ती र कमजोरीहरू माथि एकले अर्कालाई दोषारोपण गरेर नभइ समाधानका विकल्पहरू खोजेर अगाडि बढ्नसके कांग्रेसको संगठन सुदृढीकरण र बलियो हुने विश्वास व्यक्त गरिन् । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय महाधिवेशन प्रतिनिधि जानकीलाल बस्नेतले कांग्रेसले पार्टीभित्र केही विवाद र असहमति भए पनि ती विवादलाई लिएर पार्टीलाई कमजोर बनाउन कोही लाग्न नहुने बताए । उनले गुटगत स्वार्थ त्यागेर अघि बढ्नसके मात्र कांग्रेस बलियो हुने बताए ।
नेपाली कांग्रेसका पूर्व क्षेत्रीय सभापति बासुदेव जंगलीले पार्टीभित्र परिवारवादको अन्त्य नभएसम्म पार्टी बलियो हुन नसक्ने विश्वास व्यक्त गरे । केन्द्रीय नेतृत्वको परिवारवादी सोच र स्वार्थका कारण नेपाली कांगेस निर्वाचनमा पहिलो हैसियत राख्ने दल भएर पनी सरकारबाट बाहिर रहँदा कांग्रेस कार्यकर्तामा निराशा छाएकोले नातावाद र परिवारवादको र गुटगत राजनीति त्यागे मात्र कांग्रेसप्रति जनताको आशा र भरोसा जाग्ने बताए ।
नेपाली कांग्रेसका लमही नगर सभापति सन्तोष बुढाथोकीको अध्यक्षता तथा सुलोचना गिरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं. १ प्रदेश सभापति श्रीपद चौधरी, क्षेत्र नं. १ ख का प्रदेश सभापति दिनेश गिरीलगायत कांग्रेस भरोसायोग्य बनाउन संगठन सुदृढीकरण हुन जरुरी रहेको बताए । कार्यक्रममा नगर सचिव प्रेम कालाथोकीले वार्षिक र सचिव कैलाश चौधरीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अवसरमा नगर सभपति सन्तोष बुढाथोकीले विभिन्न पाँचबुँदे नगरको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । फ्लोरेन्स अस्पताल लमहीका सञ्चालक पुष्प भुसालले नेपाली कांग्रेस लमही नगरको सिफारिसमा अस्पतालले मासिक पाँच जना बिरामीको प्रतिबिरामी दश हजारका दरले निःशुल्क स्वास्थ्योपचार सेवा प्रदान गर्ने घोेषणा गरेका थिए । कार्यक्रमको सहजीकरण लीला शाहले गरेकी थिइन् ।