गोरक्ष समाचारदाता
घोराही, ३ फागुन । दाङ महिला जेसीजले घोराही उपमहानगरपालिका–१७ चौघेरास्थित गोरखानाथ वैदिक गुरुकुललाई राहत वितरण गरेको छ । जेसीजकी अध्यक्ष नारायणी भण्डारीको अध्यक्षता तथा वडा नम्बर १७ का वडाअध्यक्ष रामलौटन चौधरीको प्रमुख आतिथ्यमा बुधबार राहत वितरण गरेको हो ।
गुरुकुलमा माघ २७ गते आगालागी भई आवासीय रुपमा बस्दै आएका बटुकहरुलाई परेको खाना तथा बस्नको समस्या समाधान गर्नका लागि जिन्सी सामान सहयोग गरेको हो । जेसीजले सिरक, डसना, तन्ना पाँच–पाँच थान, नौ वटा सिरानीलगायत सामग्री सहयोग गोरक्ष पात्र देवता सिद्धरत्न नाथ मठका महन्त सुरतनाथ योगीलाई हस्तान्तरण गरेको थियो ।
सामाजिक उत्तरदायित्व बहन गर्दै महिलाहरुमा नेतृत्व विकास गर्ने अभियानमा दाङ महिला जेसीजले खेल्दै आएको भूमिका निकै सराहनीय रहेको वडा अध्यक्ष रामलौटन चौधरीले बताएका थिए । गएको माघ २७ गते बटुक बस्दै आएको छात्राबासमा अचानक आगलागी हुँदा करिब तीन लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।
२५ जना बटुक आवासीय रुपमा बस्दै आएका छन् । हाल भारतका दुई जना, बाँके, बर्दिया, प्युठान र दाङका रहेका छन् । यहाँ संस्कृत भाषा, व्याकरण, वेद, कर्मकाण्ड पढाइ हुने गरेको छ भने आधुनिकतर्फ अंग्रेजी, नेपाली, सामाजिक, गणित पढाउने गरिएको छ भने अतिरिक्तमा कम्प्युटर शिक्षा र सास्त्रीय संगीत पनि पठनपाठन हुने गरेको प्राचार्य सन्तोषी सुवेदीले जानकारी दिएकी छिन ।
दाङ महिला जेसीजकी कोषाध्यक्ष लक्ष्मी चौधरी घमालको आस्थापाठबाट शुरु भएको कार्यक्रममा धन्यवाद ज्ञापन कार्यकारिणी उपाध्यक्ष दिलु मल्ले गरेकी थिइन । उपाध्यक्ष संगीता रोकायको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण महासचिव अर्चना शर्माले गरेकी थिइन ।